जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीले आज जिल्लाको महादेवा गाउँपालिका–१ चिम्टीका आगलागी पीडित परिवारलाई रु सात लाख ८५ हजार नगद सहयोग वितरण गरेको छ।
समितिले पीडित परिवारका पाँच जनासम्मलाई रु १५ हजार र सोभन्दा बढी सदस्य रहेका परिवारलाई २० हजारका नगद वितरण गरिएको समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए।
आगलागी पीडित १९ परिवारलाई २० हजार र २७ परिवारलाई १५ हजारको दरले सात लाख ८५ हजार नगद राहत वितरण गरिएको उनले जानकारी दिए। विसं २०८१ वैशाख १८ गते आगलागी हुँदा ४६ घर परिवारको घर जलेर स्वाह भएको समितिले जनाएको छ।
आगलागी पीडितको नागरिकता, घरयकिन र मतदाता विवरणलगायत तथ्यगत विवरण सङ्कलनमा केही समय लागेकोले नगद राहत वितरण केही ढिलो भएको प्रजिअ थापाले बताए।
राहत वितरण कार्यक्रम महादेवा गाउँपालिका अध्यक्ष सुनीलकुमार मण्डल, प्रमुख सेनानी रमेश पाण्डे, प्रहरी उपरीक्षक गजुसिद्धि बज्राचार्य, सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंह र राष्ट्रिय अनुसन्धान सप्तरी प्रमुख सुरेन्द्र कोइराला, वडाध्यक्ष जयकिशोर दास र वार्ड सदस्य कमल पर्सेया, सप्तरी युथका कावा अध्यक्ष मोहन यादव लगायतको उपस्थिति रहेको थियो।