राप्तीका मेयरको दुई वर्ष: अवरोध छिचोल्दै उल्लेख्य उपलब्धि

चितवनको राप्ती नगरपालिकामा मेयर शमशेर लामाले नेतृत्व गरेको दुई वर्ष पूरा भएको छ।

दुई ठुला दल नेपाली काँग्रेस र एमालेका जनप्रतिनिधिहरुको अवरोध छिचोल्दै उनले नगरको विकासमा उपलब्धि हासिल गरेको दावी गरेका छन्। उनले नेतृत्व सुरु गरेपछि नगरको मुहार फेरिन सुरु भएको उनको भनाइ छ।

उनले विकास निर्माण र नगरबासीको चाहना साथै गरिबी निवारणलाई प्राथमिकता दिएर काम गरेको, नगरबासीको आधारभूत आवश्यकता पूरा गरी विकासका काम अगाडि बढाएको, नगरको भौगोलिक अवस्था र यसको आधारमा जनताको प्राथमिकता र आवश्यकता पहिचान गरी त्यसको समाधानमा लागि प्रयासरत रहेको, नगरको शिक्षा र स्वास्थ्यमा चित्त बुझ्दो परिवर्तन गरेको, निःशुल्क शिक्षा र स्वास्थ्यको अवधारणा कार्यान्वयन गरेको बताएका छन्।

राप्तीका जनताले अहिले पढ्न पैसा तिर्नु पदैन। स्वास्थ्य सेवा समेत सहज भएको छ। आफ्नो कार्यकालमा उनले विपन्न घर बनाउने घोषणा गरे। उनले ५०५ घर बनाउने प्रतिवद्धता अनुरुप काम गरिरहेका छन्। तर राप्तीमा राजनीतिक द्वन्द्व र टकरावले जनताले विकासको पर्याप्त प्रयोग गर्न पाएका छैनन्।

मेयर र उपमेयरको कार्यकक्षामा जनप्रतिनिधिले नै लगाएको ताला तीन महिनासम्म खुल्न सकेको छैन। सोही कारणले विकासमा ढिलाई भएको छ। जनप्रतिनिधिबीचको अनावश्यक द्वन्द्वले गर्दा दुई वर्षमा सोचे जस्तो काम गर्न नसकेको उनले बताए।

अवरोधका बीच मेयर लामाले सीमान्तकृत चेपाङ समुदायलाई आवास निर्माणदेखि उनीहरुको जीवनस्तर उकास्ने गरी पालिकाको योजनालाई विकटमा उकालेका छन्। घन्टौँ हिँड्नुपर्ने कान्देलीको लागि, सुत्केरीको पीडामा तड्पिएका वासवाङका महिलाहरुको लागि, छाना नभएकाहरुका लागि, भोकाएकाहरुको भोक मेटाउनकै लागि शमशेर लामाले योजनालाई पहाड केन्द्रित गरेका हुन्।

‘६५ प्रतिशत भू-भाग विकट रहेको राप्ती नगरपालिकाको मुहार एकै पकट फेर्न मुस्किल छ’, उनले भने ‘चुड्कीमै समृद्ध नगरको खाका कहाँ कोर्न सकिन्छ। जनताको मत पाएपछि भोकाएकाहरुको भोक मेट्नुपर्छ भन्दै मेयर लामा विकटका बस्तीहरुमा पुग्ने गरेका छन्।’

विकटमा जाँदा उनी रित्तो हात जादैनन, नाना, छाना र खाना लिएर उनी बस्तीमा पुग्ने पहिलो मेयर हुन्। आत्मनिर्भर जनताको परिकल्पना सहित मेयर लामाले आफ्नो दोस्रो कार्यकाल वर्ष पूरा गरेका छन्।

‘म आफैँ राप्तीमा जन्मिएर यही हुर्किएर अहिले राप्तीकै नेतृत्व गरिरहेको छु’, उनले भने, ‘अध्ययनको क्रममा केही समय म नगरभन्दा बाहिर रहेतापनि आफ्नै क्षेत्रमा केही गर्ने उद्देश्यले राजनीतिको माध्यमबाट जनताको सेवामा लागि परेको छु।’

२०७४ को स्थानीय तहको निर्वाचनमा वडा नं ४ को अध्यक्ष र २०७९ जेठ को निर्वाचमा मेयर भएका उनी झुपडीमा बस्नेदेखि आलिसान महलमा बस्नेसम्मका व्यक्तिको हकहितका लागि लागिपर्छन्। बस्ने वास नभएका, खाने गाँस नभएका जनताको नेतृत्व गर्नु उनको लागि कम चुनौतीपूर्ण थिएन।

‘आधा जनतालाई छिटो विकास चाहिएको थियो’, उनले भने, ‘सडक निर्माण, खानेपानी, यातायात र विद्धुतको पहुँच पुगोस् भन्ने थियो।’ दुई वर्षको अवधिमा मेयर लामाले ३ सय २५ विपन्न परिवारको लागि आवास निर्माण गरेका छन्। शिक्षाका परिर्वतन ल्याउन उनले ठुलै कसरत गरे। राप्तीका ४९ सामुदायिक विद्यालयमा निःशुल्क शिक्षाअन्तर्गत हरेक वर्ष १३ हजार विद्यार्थीले निःशुल्क अध्ययन गरिरहेका छन्।

विकट क्षेत्रमा आवसीय विद्यालय सञ्चालनको लागि तयारी गरिएको छ। स्वास्थ्यमा नगरबासीलाई निःशुल्क एम्बुलेन्स, बिरामीलाई निःशुल्क रगत, १० हजारको निःशुल्क स्वास्थ्य बिमा, हरेक हप्ता घरघरमा निःशुल्क स्वास्थ्य परीक्षण, कान्दामा स्वास्थ्य केन्द्र, वासवाङ्गमा वर्थिङ्ग सेन्टर सुरु गरिएको छ।

नमुना कान्दाको अभियानअन्तर्गत सडक विस्तार, वडा नं १३ मा टेलिकमको पहुँच, कान्दामा फोरजि इन्टरनेट सेवा विस्तार, विकटमा पिसानी मिलको व्यवस्था गरी दैनिक जीवनयापनलाई सहज बनाएको मेयर लामाले बताए।

कृषितर्फ कृषि एम्वुलेन्स खरिद, उत्पादनलाई सहजीकरण, सिँचाइको लागि स्यालो बोरिङ्ग वितरण, बेमौसमी तरकारीलाई प्रोत्साहन र टनेलको व्यवस्था, ८० प्रतिशत लागत साझेदारीमा मिनी टिलर र धान काट्ने रिपर अनुदानमा वितरण, मौरीमा अनुदान र विमा कार्यक्रम सञ्चालन गरिएको छ।

भूमिहीन दलित, सुकुम्बासी, अव्यवस्थित बसोवासीको जग्गा नापजाँच गरी निस्सा वितरण गरिएको छ। बागमती प्रदेश सरकारको सहयोगमा चेपाङ समुदायको लागि चिउरी चमेरो संरक्षण कार्यक्रम तथा पहाडी वडामा एकीकृत बस्ती निर्माणसमेत भएका छन्।

नागरिकको गुनासो सुन्न र उनीहरुको आवश्यकता पहिचान गर्न जनतासँग मेयर कार्यक्रम सुरु गरिएको छ। राप्ती नगरपालिकालाई प्रविधिमैत्री बनाइएको छ। नगरको प्रशासनिक काम प्रविधिमैत्री र डिजिटल माध्यमबाट भइरहेका छन्।

सो नगरपालिकाले चालु आर्थिक वर्षदेखि दिगो आयआर्जनको उद्देश्यलाई प्राथमिकतामा राखि नगरलाई कफी जोन घोषणा गर्न वडा नं १३ स्थित गुन्द्रीमा कफीको बिउ राख्दै कृषकलाई अनुदानमा कफी खेती सुरु गरिएकोमा वडा नं १० देखि १३ का किसानहरु कफी खेतीतर्फ आकर्षित भएका छन्। समग्रमा आफ्नो कार्यशैलीप्रति नगरवासी उत्साहित भएको उनको भनाई छ।

प्रकाशित मिति: : 2024-05-22 14:26:00

प्रतिकृया दिनुहोस्