जेठ–४ गते दुबईबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी थिइन् कंगाेकी ४९ वर्षीय अपुला एकुत्सु मबोंगो।
पछिल्लो समय विदेशी मुलुकबाट नेपाल भित्रिएका नागरिकहरू लागुऔषधमा मुछिन थालेपछि प्रहरीले निगरानी बढाएकाे थियाे। साेहीकारण अपुलामाथि प्रहरीकाे नजर गयाे। उनकाे हाउभाउ पनि शंकास्पद देखिन्थ्याे।
नेपालमा घुम्ने कारण देखाउँदै उनी ठमेलकाे एक हाेटलमा बसिरहेकी थिइन्। अफ्रिकन महिलाकाे खाेजी गर्दै प्रहरी टाेली पनि हाेटल पुग्याे। त्यसपछि खाेजतालस गर्दा उनकाे ह्याण्ड ब्यागभित्र प्लाष्टिकको झोलामा र्यापिङ गरिएका ८५ वटा कोकिनका क्याप्सुलहरू फेला पर्याे।
लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता रामेश्वर कार्कीका अनुसार एपुलाकाे साथबाट बरामद भएका काेकिनकाे अवैध बजार मूल्य करिब ३ करोड ८५ लाख रुपैयाँ पर्छ। जसलाई एपुलाले पेटभित्र निलेर ल्याएको प्रारम्भिक अनुसन्धानमा देखिएकाे छ।
गएकाे शुक्रबार पक्राउ परेकी अन्तर्राष्ट्रिय गिरोहकी सदस्य उनलाई लागुऔषध नियन्त्रण ऐन (२०२३) बमोजिम काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।
त्यसैगरी उनीसँग कारोबारमा संलग्न अन्य अन्तर्राष्ट्रिय गिरोहहरूको खोजी भइरहेको ब्यूरोले जनाएको छ।