‘हाम्रो तेन्जिङ शेर्पालाई’ भारतीय बनाउने खेल कसरी भयो? (भिडिओ रिपोर्ट)

११ मार्च, १९५३।

काठमाडौंबाट ३ सय ६२ पोर्टर र २० शेर्पाको समूह बोकेर विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथातर्फ लाग्दा तेन्जिङ नोर्गे शेर्पा गुमनाम पात्र थिए।

तर, ७ हप्ता लामो मिहिनेतपछि २९ मे १९५३ मा उनले न्युजिल्यान्डका पर्वतारोही एडमण्ड हिलारीसँगै विश्वको सर्वोच्च हिमालको सफलतापूर्वक आरोहण गरे। यसपछि उनको नाम नेपालमा मात्र होइन, विश्वभरी गुञ्जियो।

तर, उनको यो ऐतिहासिक उपलब्धिसँगै एउटा विवादले जन्म लियो। जुन विवाद अहिले पनि आम नेपालीको मुटुमा सुइँरो बनेर घोच्ने गर्छ। 

आखिर तेन्जिङ कुन देशका नागरिक हुन्?

तेन्जिङको ऐतिहासिक सफलतासँगै भारतीय अखबारले अप्रत्यासित रुपमा उनी भारतीय नागरिक भएको दावीसहित प्रचार गर्‍यो।

भारतीय अखबारको त्यो दावी देखेर बेलायती पर्वतारोही दल पनि अचम्ममा पर्‍यो। करिब दुई महिना तेन्जिङसँग हिउँमा पौठेजोरी गरेका बेलायती पर्वतारोही उनी जन्मिएको सोलुखुम्बु क्षेत्रको अनगिन्ति कथा संगालेर फर्किएका थिए।

बेलायती पर्वतारोही दलका नेता जोन हन्टले यस कुराको पुष्टी विभिन्न डकुमेन्ट्रीहरूमा गरेका छन्। 

विश्वले तेन्जिङ–हिलारीको सगरमाथा आरोहणलाई प्रकृतिमाथि मानवजातिको विजयको रुपमा हेरेको थियो।

यसैले सगरमाथा आरोहणपछि काठमाडौं फर्किएको बेलायती पर्वतारोही दललाई काठमाडौंमा भब्य स्वागत गरियो। तेन्जिङलाई ‘राष्ट्रिय हिरो’ को रूपमा सम्मान गर्न नेपाल सरकारले कुनै कञ्जुस्याई गरेन। सगरमाथाको आधार शिविरबाट काठमाडौं फर्किदा चोक र गल्लीहरूमा ‘तेन्जिङ शेर्पा जिन्दावाद’ को नारा उर्लियो।

जनकवि केशरी धर्मराज थापाले ‘हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा’ बोलीको गीत गाएर तेन्जिङको सफलतालाई हरेक नेपालीको घर–घरमा पुर्‍याए। उनले आफ्नो गीतमार्फत तेन्जिङ नेपाल आमाको सच्चा सपूत भएको बताउन भुलेनन्।  

सोलुखुम्बुमा जन्मिएका तेन्जिङलाई तत्कालिन बडामहारानी (राजा त्रिभुवनकी श्रीमति) ले १० हजार नगद प्रदान गरिन्। यस्तै, पर्वतारोही दलका अन्य सदस्यलाई खुकुरी प्रदान गरियो।

बेलायती महारानी एलिजावेथ द्धितीयको राज्याभिषेक भन्दा ठिक एक दिन अगाडि तेन्जिङ–एडमण्डले सगरमाथा माथि विजय प्राप्त गरेका थिए। दोस्रो विश्वयुद्धपछि खुम्चिदैँ गएको बेलायतका लागि महारानी एलिजावेथलाई दिने यो ठूलो ‘गिफ्ट’ थियो।

त्यसैले पर्वतारोही दलका नेता जोन हन्ट र एडमण्ड हिलारीलाई तत्कालै बेलायतको सर्वोच्च सम्मान ‘अर्डर अफ ब्रिटिश अम्पायर’ बाट विभुषित गरियो। तर, तेन्जिङको विषयमा तत्काल कुनै घोषणा भएन।

यसको पनि कारण थियो। उही नागरिकताको विवाद।

सगरमाथा आरोहणसँगै भारतीय अखबारले तेन्जिङ भारतीय भएको भन्दै एकपछि अर्को समाचार बनाउन थाल्यो।

वास्तवमा भएको थियो के भने– सन् १९५० मा चीनले तिब्बतलाई आफ्नो भू–भागमा गाभ्नुअघि बेलायतलगायत युरोपेली पर्वतारोहीहरू तिब्बतको उत्तरी मोहडाबाट सगरमाथा चढ्न जान्थे। त्यतिबेला नेपालतर्फको दक्षिणी मोहडा खुला भइसकेको थिएन।

रोजगारीको सिलसिलामा किशोरअवस्थामा सोलुखुम्बुबाट काठमाडौं झरेका तेन्जिङले नेपालमा गतिलो काम भेटेनन्। त्यतिबेला विदेशी पर्वतारोहीहरू दार्जीलिङको बाटो हुँदै तिब्बततर्फ लाग्थे।

त्यसैले दार्जीलिङमा राम्रो काम पाउने विकल्पको रुपमा तेन्जिङ उता लागे। सगरमाथाको सफल आरोहण पूर्व उनले ७ पल्ट पहिले पोर्टर र पछि गाइडको रुपमा काम गरे। उनी विदेशी पर्वतारोही माझ परिचित भइसकेका थिए।

रोजगारीका लागि दार्जीलिङ बसेका यीनै तेन्जिङलाई उनको ऐतिहासिक सफलतापछि भारतले आफ्नो भन्यो।

भारत सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भएको थियो। बेलायतबाट स्वतन्त्र भएको ६ वर्षपछि तेन्जिङले सगरमाथाको सफल आरोहण गरेका थिए। भारतीय प्रधानमन्त्री जवहारलाल नेहरू पहिलेदेखि नै अन्तर्राष्ट्रियस्तरमा भारतको छवी माथि उठाउने प्रयासमा थिए। उनका लागि तेन्जिङको सफलताले ठूलो अर्थ राख्थ्यो।

त्यसैले उनले तेन्जिङलाई भारतमा निकै सुविधा दिए। उनका लागि दार्जीलिङमै हिमालयन माउन्टेनेरिङ इन्सिच्यूट स्थापना गरियो।

सन् १९५३ मा नेपाल ताराबाट विभूषित तेन्जिङलाई नेहरुले आफ्नो भन्दै १९५९ मा भारतको तेस्रो ठूलो नागरिक सम्मान ‘पद्म भूषण’ बाट विभूषित गरे।

सन् १९५३ को जुलाईमा तेन्जिङ महारानी एलिजाबेथ द्धितीयको राज्यभिषेकको अवसरमा सम्मान थाप्न बेलायत गएका थिए। त्यतिबेला उनलाई भारतीय पासपोर्टमा बेलायत पठाउन भारतीय पदाधिकारीले गरेको खेलको (तत्कालिन) राजदूत विजय शमशेर राणाले पर्दाफास गरेका छन्।

उनले ३ जुलाई १९५३ मा (तत्कालिन) प्रधानमन्त्री मातृका प्रसाद कोइरालालाई चिट्ठी नै लेखेका थिए। जसमा कसरी भारतीय पदाधिकारीले तेन्जिङलाई भारतीय बनाउन प्रयास गरे, त्यसको विस्तृत जानकारी दिइएको छ। 

तेन्जिङसँग नेपाली डिप्लोम्याट पासपोर्ट हुँदा हुँदै भारतले जबरजस्ती आफ्नो पासपोर्ट भिडाएको थियो। (हेर्नुस् राजदूत विजय शमशेरको चिट्ठी)

बीचका केही वर्ष तेन्जिङलाई तिब्बतमा जन्मिएको भनेर प्रमाणित गर्ने धेरै प्रयास पनि भयो। तर, तेन्जिङले आफ्नो आत्मकथामा स्पष्ट भनेका छन्, ‘मेरो जन्म नेपालमा भएको हो।’     

तेन्जिङ शेर्पाको जन्म २९ मे १९१४ मा सोलुखुम्बुमा भएको थियो। उनको निधन ७१ वर्षको उमेरमा ९ मे १९८६ मा दार्जीलिङमा भयो।

प्रकाशित मिति: May 29, 2020 15:33:54

प्रतिक्रिया दिनुहोस

सबै