फेसबुकको सुरक्षा कडा हुँदै, अबदेखि म्यासेन्जरमा कोड भाषाको प्रयोग हुने

तस्बिरः फेसबुक

पछिल्ला दिनमा प्रयोगकर्ताका गोप्यतामाथि जासूसी भएका धेरै प्रमाणहरु बाहिर आएपछि फेसबुकका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरवर्गले अब फेसबुकको म्यासेज सिस्टमलाई अभेद्ध किल्लाभन्दा पनि बलियो बनाउने बताएका छन्।

फेसबुकले अबदेखि म्यासेन्जरमा कोड भाषाको प्रयोग गर्न आफ्ना प्रयोगकर्तालाई अनरोध गरेको छ। किनकी फेसबुक न कोही अरू बाहिरिया व्यक्तिले पढ्न र बुझ्न नसकुन्।

साथै फेसबुकको प्रतिस्पर्धी स्न्यापचाटले यसअघि नै प्रयोगमा ल्याएको सन्देस पढ्न साथ हराउने प्रविधि फेसबुकले पनि अपनाउने तयारी गरेको छ।

म्यासेज बक्समा धेरै लामो समयसम्म म्यासेजहरु रहने हुँदा त्यसको अनन्तकालसम्म दुरूपयोग हुने चिन्ताले यसका प्रयोगकर्तालाई सताउँदै आएको छ।

जुकरवर्गको यो कदमले फेसबुकलाई सामाजिक सञ्जालको रूपमा भन्दा पनि सन्देश आदानप्रदान गर्ने माध्यमका रुपमा प्राथमिकता दिन लागेको देखिएको छ।

अहिले पनि फेसबुकको मुख्य पृष्ठभन्दा म्यासेन्जरको प्रयोग धेरैले गर्ने गरेका छन्। साथै सरकारी निगरानीबाट बचाउन पनि म्यासेन्जरमा प्रयोग हुने कोड भाषाले फेसबुकलाई सघाउने विश्वास कम्पनीले लिएको छ।

यसैबीच सञ्चालक जुकरवर्गले फेसबुकको म्यासेन्जर एउटा मुख्य अंग मात्र हुने र यसले सामाजिक सन्जालको मुख्य पृष्ठको ठाउँ नलिने प्रष्ट पारिसकेका छन्।

पछिल्ला दिनमा फेसबुकले गोप्यता चुहाएको आरोप खेपिरहेको छ। यो आरोप उसका लागि ठूलो चुनौती समेत बन्दै गएको छ।

बारम्बार गोप्यता चुहाएको, गलत सूचना प्रवाह गरेको, रसियन एजेन्टलाई प्रोपोगान्डा अभियान चलाउन सघाएको, घृणा फैलाउने र दुरूपयोग गर्न सहयोग गरेको आरोप फेसबुकमाथि लागेपछि उनले गत वर्ष अप्रिलमा दुई दिनसम्म संसद भवनमा सफाइ दिएका थिए।

यसै कारणले फेसबुकले आफ्ना प्रयोगकर्तालाई गोप्यता कायम गर्ने विषयमा आश्वस्त पार्न समस्या भइरहेको छ।

गत बुधवार एसोसिएट प्रेससँग कुरा गर्दै जुकरवर्गले आफ्ना प्रयोगकर्ताको गोप्यता कायम गर्ने कसरतले फेसबुकको व्यापार बढाउन सघाउने दाबी गरेका थिए।

बितेका ६ महिनादेखि जुकरवर्गले आफ्ना नयाँ कदमका बारेमा लागानीकर्तालाई आश्वस्त पार्न खोजिरहेका छन्।

बुधबारनै उनले आफ्नो व्लगमार्फत दुई अर्ब प्रयोगकर्ता रहेको र तिनले फेसबुकमा देखिने विज्ञापन पनि हेर्ने गरेको कुरामा जोड दिएका थिए।

ती विज्ञापनमार्फत यस वर्ष ६७ अर्ब डलर कमाइ हुने ई- मार्केटले जनाएको छ। फेसबुकले तयारी गरे अनुरूप काम हुने हो भने अब उसले अति सुरक्षित बनाउन लागेको म्यासेन्जरमा समेत विज्ञापन राख्ने तयारी गरेको छ।

साथै डिजिटल वालेटजस्ता अरू विशेषता पनि फेसबुकले थप्न लागेको छ। जसमा राखिने विज्ञापनले उसको आम्दानी बढाउनेछ। गोप्य म्यासेनजरमा पनि विज्ञापन राख्ने कार्य भने कति सफल हुने हो त्यो यसै भन्न गाह्रो भएको ई-मार्केटका विश्लेषक डेवराह एहो विलिम्सनले बताएकी छन्।

कतिपय आलोचकले भने फेसबुक लोकतन्त्र र वैयक्तिक गोपनियतामाथि ठूलो खतरा बन्दै गएको र यसलाई कडा कानुनमार्फत निगरानीमा राख्नुपर्ने अथवा कम्पनीलाई दुई टुक्रामा बाढ्नुपर्ने बताउँदै आएका छन्।

प्रकाशित मिति: : 2019-03-12 00:09:19

प्रतिकृया दिनुहोस्