नोकिया नाइनमा एकसाथ ५ क्यामराले फोटो खिच्ने

एजेन्सी

नोकियाको नयाँ स्मार्टफोन नोकिया नाइन अहिलेसम्मकै उत्कृष्ट फोटो क्वालिटी दिने स्मार्टफोन बन्ने देखिएको छ ।

नोकियाको यो फोनबाट फोटो खिच्दा पछाडिको भागमा रहने ५ वटा मुख्य क्यामराले एकसाथ फोटो खिच्नेछन् र ति सबै क्यामराले कैद गरेका फोटो एकत्रित गरेर पूर्ण तस्वीर तयार हुनेछ ।

यसले स्मार्टफोन क्यामराबाट हुने अहिलेसम्मकै उत्कृष्ट गुणस्तरको तस्वीर तयार हुनेछ ।

यसरी एकसाथ ५ वटा क्यामरामा कैद गरेको तस्वीरलाई एकत्रित गर्दा सुक्ष्म तथा बिहंगम दृश्ययुक्त तस्वीर तयार हुन्छ, जसलाई यसको ओरिजिनल अवस्थामा असर नपर्नेगरी अधिकतम रुपमा सम्पादन गर्न समेत सहज हुने नोकियाले दाबी गरेको छ ।

नोकियाका अनुसार यो स्मार्टफोनको क्यामराले लिने तस्वीर २ सय ४० मेगापिक्सेल रिजोलुसन सम्मको हुनेछ ।

तर कतिपय विश्लेषकहरुले चाहीँ यो डिभाइस स्मार्टफोन बजारका लागि चुनौतिपूर्ण हुने बताएका छन् ।

यो नोकिया नाइन स्मार्टफोनका ५ वटै रियर क्यामरा १२ मेगापिक्सेलका रहेका छन् । साथै डेप्थ रिडिङका लागि यसमा इन्फ्रारेड सेन्सर पनि रहेको छ ।

ती मध्ये दुईवटा क्यामरामा रङ कैद गर्नका लागि रेड–ग्रिन–ब्लू सेन्सर रहेको छ । अन्य तिनवटा मोनोक्रोम सेन्सर रहेको छ ।

नोकिया ब्राण्डको स्वामित्व रहेको निर्माता एच एम डी ग्लोबलका अनुसार अत्याधुनिक डिजिटल क्यामरा भन्दा कम क्षमतायुक्त भएपनि यो स्मार्टफोनको क्यामरा विद्यमान सबै खाले स्मार्टफोन भन्दा उत्कृष्ट रहेको छ ।

नोकिया प्यू भ्यू स्मार्टफोन मोबाइल वल्र्ड कंग्रेसको पूर्व सन्ध्यामा सार्वजनिक गरिएको हो । यसको मूल्य ६ सय ९९ डलर तोकिएको छ ।

प्रकाशित मिति: : 2019-02-26 23:33:21

प्रतिकृया दिनुहोस्