धवलागिरिमा ‘फोर जी’ को तयारी

तस्बिरः एजेन्सी

धवलागिरि क्षेत्रमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘फोर जी’ सेवा सञ्चालनको तयारीमा हुँदैछ। दशैँ अगावै मुख्य बजार क्षेत्रका उपभोक्ताले चौथो पुस्ताको ताररहित दुरसञ्चार सेवा (फोर जी) प्रयोग गर्न पाउने भएका छन् ।

नेपाल टेलिकम बागलुङ कार्यालयका अनुसार पहिलो चरणमा १४ ठाउँबाट ‘फोर जी’ सेवा शुरु गरिनेछ । बागलुङमा टेलिकम कार्यालय, लालीगुराँसचोक, कुँडुले, गलकोट नगरपालिकाको ठाना, म्याग्दीको टेलिकम कार्यालय, क्याम्पसचोक, पूलाचौर, रुममा फोर जी सञ्चालन हुने जनाइएको छ ।

यस्तै पर्वतको टेलिकम कार्यालय, शिवालय, पातिचौर, दुर्लुङ, मुस्ताङको जोमसोम बजार र मुक्तिनाथमा फोर जी सेवा शुरु हुनेछ । ‘एक वर्षभित्र धवलागिरिका ११२ ठाउँबाट फोर जी चल्छ’ कार्यालयका वरिष्ठ इन्जिनियर केशव शर्माले भने, ‘आवश्यकता अनुसार थप ठाउँमा विस्तार गरिनेछ ।’

आउँदो वर्षभित्र देशभर फोर जी सेवा पुर्‍याउने सरकारी लक्ष्य अनुसार धवलागिरिमा पनि काम तीव्र पारिएको उनको भनाइ छ। ‘पहिलो चरणमा फोर जी शुरु हुने १४ वटै बिटियस् टावरमा एन्टिना, रेडियो युनिट र बेस ब्याण्ड युनिट राख्ने काम भइरहेको छ,’ इञ्जिनीयर शर्माले भने।

क्रमशः अन्य ठाउँका टावरमा पनि फोर जी सञ्चालनका लागि उपकरण र प्रविधि थप्दै जाने टेलिकमको योजना छ । फोर जी सेवा शुरु भएपछि टेलिकमका उपभोक्ताले उच्च गतिको इन्टरनेट चलाउन पाउनेछन् । फोर जीलाई मोबाइल ब्रोडब्याण्ड (उच्च गतिको इन्टरनेटसहितको मोबाइल) सेवा मानिन्छ ।

‘फोर जी थ्रिजीभन्दा उच्च क्षमतायुक्त र तीव्र गतिको इन्टरनेट प्रविधि हो’, इञ्जिनीयर शर्माले भने, ‘इन्टरनेटको गति प्रतिसेकेन्ड एक सय मेगाबिट्स (एमबिपिएस) भन्दा माथि हुन्छ।’ ग्राहकले गुणस्तरयुक्त फोर जी सेवाका लागि खर्च भने केही बढी गर्नुपर्नेछ ।

उच्च गतिको इन्टरनेट हुने भएकाले फोरजी प्रयोगकर्ताले अहिलेभन्दा सजिलो गरी भिडियो कल र च्याट गर्न सक्नेछन् । फोर जी प्रविधिले मोबाइलमै थ्रिडी भिडियोसमेत हेर्ने सुविधा दिने बताइन्छ । फोर जी सेवाले ‘डिजिटल नेपाल’को लक्ष्यलाई पनि सघाउने इञ्जिनीयर शर्माको भनाइ छ । ‘भौगोलिक जटिलताका कारण सबै ठाउँमा फाइबर पुर्‍याउन कठिन छ,’ उनले भने, ‘ग्रामीण क्षेत्रमा ब्रोडब्याण्ड (ताररहित) इन्टरनेट चलाउन फोर जी उपयोगी छ ।’

फोर जी राउटरबाट कम्युटरलगायतका अन्य उपकरणमा पनि इन्टरनेट सञ्चालन गर्न सकिनेछ । ग्रामीण भेगमा ८०० मेगाहर्जमा फोर जी चल्ने हुँदा इन्टरनेटको पहुँच पनि बढी ठाउँमा पुग्ने जनाइएको छ । टेलिकम कार्यालयका अनुसार हाल धवलागिरिका ११० ठाउँबाट ‘थ्री जी’ सेवा सञ्चालन भइरहेको छ ।

‘थ्री जी’ प्रविधिमार्फ्त ‘भियोडी’, ‘भिडियो/भ्वाइस च्याट’, तीव्र गतिको इन्टरनेट ‘सर्फिङ’ लगायतका सेवाहरु ग्राहकले पाइरहेका छन् । सात दशमलव २ ‘एमबिपिएस’ सम्मको गतिमा सेवा प्रवाह भइरहेको टेलिकम कार्यालयले जनाएको छ । पछिल्लो समय नेपाल–चीनको नाका मुस्ताङको कोरलामा पनि थ्री जी सेवा सञ्चालित छ । रासस

प्रकाशित मिति: : 2019-09-09 18:10:31

प्रतिकृया दिनुहोस्