लगातार दोस्रो पटक दुर्गाराजले जिते गुरिल्ला ट्रेल रेस, महिलातर्फको उपाधि हुमी बुढालाई (तस्बिरहरूसहित)

दौडमा सहभागीहरू। तस्बिरः घुमफिरे सुरेन्द्र

असार २ - भूमे, रुकुम ( पूर्व)

दोस्रो गुरिल्ला ट्रेल रेसको उपाधि दुर्गाराज बुढाले जितेका छन्। डिफेन्डिङ च्याम्पियनसमेत रहेका रूकुम पश्चिमका बुढाले सोमबार ५२ किमी लामो ट्रेल रेसको उपाधि रक्षा गरेका हुन्।

रूकुम र रोल्पाका केही भाग समेटेर हरेक वर्ष आयोजना हुने गुरिल्ला ट्रेल रेसमा नेपाली अल्ट्रा धावक मीरा राईको समेत सहभागिता थियो।

उनी सहभागी खेलाडीलाई हौसला दिन रूकुम/रोल्पा पुगेकी हुन्।

बिहान ७ बजे रूकुम पूर्वको महत गाउँमा जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्र बहादुर ओलीले दौडको सुरूवात गरेका हुन्।

गुरिल्ला ट्रेलमा पर्ने महत, धर्मशाला, थवाङ, जलजलाहुँदै लुकुम, काँक्री भएर खावाङ बगरसम्म ५२ किमी लामो दुरी डौडमा ४८ जना धावक धाविकाले भाग लिएका थिए।

 सोलुखुम्बु, धादिङ, रसुवा, लमजुङ, ओखलढुंगा, भोजपुर, रूकुम पश्चिम र रूकुम पूर्वका धावकले प्रतियोगितामा भाग लिएको आयोजक ट्रेल रेसका संयोजक सुनिल रोका मगरले जानकारी दिए।

अल्ट्रा धाविका राईले नेपालका डाँडा काँडा, पहाड, हिमाल र गोरेटोहरू प्राकृतिक रूपले अल्ट्रा म्याराथनको लागि उपयोगी भएको भन्दै खेलाडीलाई उचित प्रशिक्षण र वातावरण दिन सके विश्वका कुनै पनि ठाउँमा नेपालीले सफलता हात पार्ने बताइन्।

मीरा राईकै सक्रियतामा नेपाल ट्रेल सिरिजको समेत  आयोजना हुँदै आएको सिरिजका प्रवन्धक प्रिती खत्रीले जानकारी गराइन्।

सिरिजअन्तर्गत भोजपुर ट्रेल रेस (३६ किमी), गोसाईकुण्ड-हेलम्बु ट्रेल रेस (४२ किमि), सिन्धुपाल्चोक इन्टरनेशनल  ट्रेल रेस (५६ किमि), गुरिल्ला ट्रेल रेश (५२ किमी) र जुल्ला-रारा अल्ट्रा म्याराथन रेस (४६ किमि) छन् ।

नेपालसँगै अन्तर्राष्ट्रिय रूपमा स्पेन, फ्रान्स, इटाली, अमेरिका तथा बेलायतमा गोल्डेन ट्रेल सिरिज हुँदै आएका छन्।

गोल्डेन सिरिजका १० उत्कृष्ट खेलाडीसहित नेपाल ट्रेल सिरिजका उत्कृष्ट ३ महिला र पुरूषले आगामी अक्टुबर २५ मा हुने फाइनलमा अन्नपूर्ण ट्रेल म्याराथन (४२ किमि) मा सहभागी हुन पाउनेछन्।

ट्रेल रेससँगै १० वर्षसम्म जनयुद्वको आधार क्षेत्र मानिएको रूकुम-रोल्पामा गुरिल्ला हिँडेका गोरेटोमा यस्ता किसिमका कार्यक्रमले स्थानीय कला र संस्कृति, जनजीवन तथा भुगोल र युद्व पर्यटनलाई समेत टेवा पुग्ने विश्वास भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले विचार ब्यक्त गरे। 

आगामी वर्ष  यसलाई अझै ब्यवस्थित रूपमा आयोजना गर्ने र गुरिल्ला अल्ट्रा म्याराथनलाई अन्तर्राष्ट्रिय क्षेत्रमासमेत प्रचारप्रसार गरिने ट्रेल रेसका संयोजक मगरले बताए।

दौडमा पुरूषतर्फ मुसीकोट नगरपालिका, रूकुम पश्चिमका दुर्गाराज बुढाले उक्त दुरी ६ घन्टा १५ मिनेट १५ सेकेण्डमा पार गरे। यस्तै दोस्रो भएका सुमान कुलुङले उक्त दुरी ६ घण्टा ५१ मिनेट ४ सेकेण्डमा पार गर्दै दोस्रो स्थान हासिल गरे भने रूकुम (पूर्व) सिस्ने गा.पा. का मुहान केसीले उक्त दुरी ६ घण्टा ५१ मिनेट ७ सकेण्डमा पार गर्दै तेस्रो भए।

महिलातर्फ ७ घण्टा १८ मिनेट ३५ सेकेण्डमा निर्धारित दुरी पार गर्दै प्युठानकी हुमी बुढा मगरले उपाधि जितिन्।  दोस्रो भएकी धादिङकी रश्मिला तामाङले उक्त दुरी ७ घण्टा २० मिनेट ३८ सेकेण्डमा पुरा गरिन्।

७  घण्टा २५ मिनेट २९ सकेण्डमा दुरी पार गरेकी भोजपुरकी अनिता राई तेस्रो भईन्।

प्रतियोगितामा प्रथम हुनेलाई नगद ५० हजार ट्रफी मेडल र प्रमाण पत्र, दोस्रो हुनेले ३५ हजार नगद ट्रफी मेडल र प्रमाण पत्र तथा तेस्रो हुनेलाई नगद २५ हजार ट्रफी, मेडल र प्रमाण पत्र पाएका थिए।

म्याराथनका लागि भूमे गाउँपालिकाले आर्थिक सहयोग गरेको थियो।

कार्यक्रममा खेलाडीलाई हौसला र बधाई दिन जिसस प्रमुख गजेन्द्र बहादुर ओली, प्रजिअ मित्रलाल शर्मा, डिएसपी योगेन्द्र कुमार खडका, थवाङ गा.प. अध्यक्ष बीर बहादुर घर्ती, सिस्ने गा.पा. अध्यक्ष कुमारी बराल, पुथा उत्तरगंगा गा.पा. अध्यक्ष ओमकुमारी शाही मल्लसहित बाक्लो मात्रामा स्थानीयको उपस्थिति थियो।

हेर्नुहोस् तस्बिरहरू

\

प्रकाशित मिति: : 2019-06-17 23:56:35

प्रतिकृया दिनुहोस्