सिड्नी ओलम्पिकमा रजत जितेकी सुसान्थिका नेपालमा ( एक्सक्लुसिभ भिडियो अन्तर्वार्ता)

एसियाकै उत्कृष्ट महिला स्प्रिन्टर श्रीलंकाकी सुसान्थिका जयसिंघे

एसियाकै उत्कृष्ट महिला स्प्रिन्टर श्रीलंकाकी सुसान्थिका जयसिंघे नेपाल आएकी छिन्। आइतबारदेखि नेपालमा सुरू हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि उनी दुई दिनअघि काठमाडौं आएकी हुन्।

सुसान्थिकाले सन् २००० अस्ट्रेलियाको सिड्नीमा आयोजना भएको ओलम्पिकमा २ सय मिटर दौडतर्फ रजत जितेकी थिइन्। अस्ट्रेलियाकी स्टार धाविका क्याथी प्रिम्यानलाई उछिन्दै उनले अमेरिकाकी मारियोन जोन्सपछि रजत जितेकी हुन्।

उनी ओलम्पिक र विश्व च्याम्पियनसिपमा पदक जित्ने पहिलो एसियाली खेलाडी हुन्। उनले सन् १९९७ मा एथेन्समा भएको विश्व च्याम्पियनसिपमा पनि उनले रजत जितेकी थिइन्। सन् १९९४ र २००२ को एसियन गेम्समा उनले स्वर्ण जितेकी थिइन्। ४३ वर्षीय सुसान्थिकाले आफ्नो खेल जीवनमा ९ स्वर्ण ६ रजत र २ कास्य जितेकी थिइन्।

हाल उनी १३ औं साग खेल्न नेपाल आएको श्रीलंकाली एथलेटिक्स टिमकी प्रमुख सल्लाहकार हुन्। एथलेटिक्सतर्फ ३६ स्वर्णका लागि हुन लागेको स्पर्धामा श्रीलंकाले महिलातर्फ २८ तथा पुरुषतर्फ ३४ खेलाडी उतार्दै छ।

सन् १९९१ मा भएको तेस्रो साफ गेम्समा १५ स्वर्ण जित्दै श्रीलंकाले इतिहास रचेको थियो। हाल उनको विशेष रेखदेखमा श्रीलंका २८ वर्षको पुरानो स्वर्णकाललाई फर्काउन चाहन्छ। उनीसँग बिएल नेपाली सेवाले आइतबार साँझ नेपाल आर्मीको मुख्यालयमा रहेको एथलेटिक्स ट्रयाकमा अन्तर्वार्ता गरेको थियो।

उनले अन्तर्वार्ताको क्रममा नेपाल निकै सुन्दर रहेको बताइन्। तर, प्रतियोगिताको व्यवस्थापन पक्ष फितलो भएकोमा दुःख व्यक्त गर्दै भनिन्, ‘दक्षिण एसियाली देश नेपाल, भारत र श्रीलंकाको व्यवस्थापकीय पक्ष उस्तै उस्तै हो।’

प्रकाशित मिति: : 2019-12-18 11:08:36

प्रतिकृया दिनुहोस्