मुनऽ भ्या गर्न ईच्छा नाई बाआमा कर गद्दान्

‘मकन दुई तीन ठाउँबाट माग्न आया छन्। आमा बाले पनि दिने कुडा गर्‍या छन्। जा छोरी अब भ्या गर भण्णा छन्। मुनऽ (मलाई) भ्या गर्ने मुन नाई। ऐले पढ्न लाग्या छु। भाइ नानोइ छ। पढुँला लेखुँला भन्या हुँ। बाआमा क्या भण्णा छन्। भ्या गर्न बढ्ताइ कर गर्याले उम्किन्या ठाउँ नाइ। छोरीको जात अर्काका घरमा जानु पड्न्या। मेरो क्यै सीप चल्नेनाइ। नतर मेरो भ्या गर्ने इच्छा नाई’ – बहुत उदाश अनि गम्भीर भएर सुनाएकी थिइन् जुम्लाकी कृष्णमाया उर्फ अस्मिता भक्रीले।

कार्तिकको पहिलो साता पम्फा फूल नाटकको अभिनय सकेर बाहिरिदै गरेकी अस्मितासँग भेटका क्रममा भएको कुराकानी हो यो। नाटकमा अभिनय गरिरहँदा रोइरहेकी थिइन् उनी। पम्फा फूलको अर्थ हो मसिना भुवा र कमला पात हुने लेकाली फूल। जो निकै आकर्षक देखिन्छ। नाटकमा त्यही आकर्षक फूल टिप्ने भूमिकामा थिइन उनी।

साथमा भाइलाई लगेर आफ्नो घर जान बाआमासँग बिदा माग्ने क्रममा रुनु पर्दा साच्चिकै आँसु झारेकी थिइन उनले। रारा तालको किनारमा देखिएको जूनलाई फूल ठानेर टिप्न जादा लडेर उनको मृत्यु भएको दृश्य निकै मार्मिक थियो। पम्फा फूलका पातझैं कमलो मन लिएर थिएटरमा उभिएकी भक्रीको अभिनयमै थियो अधिकांश दर्शकको दृष्टि। उनी भन्छिन् –नाटक खेल्दा होस् कि, अरुका दुःख देख्दा होस् आँसु आइहाल्छ आँखामा। लुकाउन मुस्किल पर्छ आँसु। दुलही अन्माउँदाको दृश्य त झनै हेर्न सक्दिन। मैले पनि भोलि यसरी नै जानु पर्छ भन्ने कुरा सोच्छु र उठ्न थालिहाल्छ छातीमा भक्कानो।

उसै त महिलाहरू बढी भावुक हुने र चाडै आँसु खसाल्ने खालका हुन्छन्। त्यसैमा कहिले काही घरमा आमालाई घुर्की लगाउन खोज्दा फुत्त निस्किन्छ उनको मुखबाट एउटा वाक्य –कति बसुँला र तम्मा घरमा।’ तब आउछ उत्तर त्यस्तै पाराले – ‘न बस्या क्या होला जा त भैग्यो।’ अनि मलाई यो घरबाट जा भन्यो भनेर भक्कानिन्छिन् उनी। यसै क्रममा मैले उनलाई बिहेको दिन छोरीले आमा बुवासँग बिदा माग्दा गाइने गीत सुनाउन अनुरोध गर्दा गाएरै सुनाइन उनले दुई पंक्ति:

मेरी आम्मै नि म गैदिने घट्ट डालो को गै देला
मेरी आम्मै नि मैले खाने काँसा थालमा को खाइ देला

***
शायद त्यो दिनको कल्पना गरिन् होला र त सकिनन् त्यसपछि सुनाउन। अबरुद्ध भैदियो उनको घाँटी। गीत गाउँदा फिलिङ्समा डुब्छिन् उनी। गायीका अञ्जु पन्तको स्वरबाट निकै नै प्रभावित छन् भक्री। गायन उनको रुचिको विषय हो। २ वर्षअघि मध्यपश्चिम सुपरस्टार कार्यक्रमका लागि जुम्लाबाट प्रथम स्थानमा छनोट भएर सुर्खेत पुगेकी उनले सुर्खेतमा तेस्रो भइन्। यो खवर पाएका थिए निर्देशक गोविन्द सुनारले। गायन क्षेत्रकी उनी जस्ती प्रतिभाले नाटकमा पनि अभिनय गर्न सक्छिन् ठानेर नै गोविन्दले उनी सामु प्रस्ताव राखे नाटक खेल्नलाई। उक्त प्रस्तावलाई सहर्ष स्वीकारिन उनले पनि। निर्देशक सुनारले खोजे जस्तै अभिनय गरेर देखाइदिइन् उनले। पम्फा फूल नाटक ९ दिनसम्म थिएटरमा चल्यो। अनि ३ दिन कर्णाली प्राविधिक शिक्षलयमा करिव चार सय विद्यार्थीका बीचमा देखाइयो। जहाँ भक्रीको अभिनयको राम्रै चर्चा हुन गयो।

काठमाडौं छोडेर जुम्ला फर्केका निर्देशक गोविन्द सुनार पछिल्ला दिनमा यस्ता प्रतिभालाई खोजेर अभिनय गर्न सिकाइरहेका छन्। बेलाबखत नाट्य क्षेत्रमा छलाङ मारिरहेकै छ कर्णालीले। केही वर्ष अघि मुगुका कलाकारले दक्षिण बग्छ कर्णाली र सुइना कर्णालीका नाटक देखाएर राजधानी तताए। निकै नै चर्चित बने ती नाटक र सुमन मल्ल, मीन भाम, हीरा बिजुली,नन्दबहादुर खत्री,इरानी सुन्दरी भाम लगाएतका कयौं कलाकारहरू। हाल जुम्लामा निर्माण व्यवसायी संघको हलमा नाटक देखाउनलाई थिएटर बनाएका छन् नाटक निर्देशक गोबिन्द सुनारले। जुम्लामा नाटक मञ्चन गर्न र दर्शक माझ नाटक प्रस्तुत गरेर सबैको मन जित्न निकै मेहनतका साथ लागिपरेका छन् गोविन्द। त्यही पम्फाफूल नाटककी प्रमुख पात्र थिइन अस्मिता। जसको अभिनयको मुक्त कण्ठले प्रसंसा गरिरहेका थिए दर्शकहरू। कुनै स्थापित कलाकारको भन्दा कम थिएन उनको अभिनय। र पनि पहिलो पटक खेलेकी थिइन उनले नाटक। अभिनय सम्बन्धी सैद्धान्तिक कुनै ज्ञान नभएकी र कहिल्यै नाटक हेर्न सम्म नपाएकी भक्रीको प्रतिभा देख्दा उनको अन्य क्षेत्रको रुचिका विषयमा समेत जान्न मन लागिरह्यो। कुराकानीकै सिलसिलामा उनले भनिन् – ‘मन त भविष्यमा गायीका बन्ने थियो। तर ......।’

सकिनन् उनले एकछिन ओठ खोल्न। क्षणभरका लागि मौन बनेकी उनी हेर्न थालिन् माथि आकाशतिर। दातमुनि ओठ च्यापेर नाटकमा अभिनय गरेझैं आँखाका डिलसम्म पुगेका आँसुलाई रोक्न थालिन् बलैले। वास्तवमा यो उनको कुनै अभिनय नभएर आँसु लुकाउन गरिएको प्रयत्न थियो। घरमा निकै नै कमजोर छ उनको आर्थिकस्थिति। सानो भाइ चार कक्षामा पढ्छ। ठुलो भाइ ७ कक्षामा पढ्छ। बोल्न सक्दैन ठुलो भाई। भाइको यो समस्या जन्मजात नै हो। मूल विषय अँग्रेजी लिएर ११ कक्षामा पढ्दै गरेकी भक्रीलाई रातदिन आमाबाले भनिरहेका छन् – ‘अब हामी पढाउन सक्दैनौ छोरी तिमी भ्या गर।‘ जुम्लाको ठेट भाषामा बिहे गर्नुलाई भ्या गर्नु भनिन्छ। अनि मुनको अर्थ हुन्छ मेरो अथवा मलाई।

विवाह गर्ने महिना नआइदिए पनि हुन्थ्यो। दुईचार वर्ष ज्योतिषले बिबाहको लगन नै नभएको पात्रो प्रकाशित गरिदिए पनि त हुन्थ्यो। शायद यस्तै यस्तै कुरा खेलाउदि हुन् उनले मनमा। र त कुराकानीको सिलसिलामा दोहर्याउँदै भनिन् – ’मुनऽ भ्या गर्ने मुन नाई।‘ अर्थात मेरो बिहे गर्ने इच्छा नै छैन्। घरमा बाआमालाई सम्झाउन उनीसँग न कुनै उपाए छ न त कुनै उत्तर नै दिन सक्छिन्। विगतमा भोगेका र वर्तमानमा भोगिरहेका दिनहरू सम्झिन्छिन्। भविष्यमा कस्ता दिन आउलान भनेर कल्पना गर्न सक्ने सामर्थ पनि छैन उनीसँग। उनीसँग छ त केवल तिला नदी बगेझैं एकान्तमा बगिरहने आँसु । उनी भन्छिन्– ’घरमा बिहेको कुरा चल्दा एकान्तमा गएर खुब रुन्छु। धित मर्ने गरी रुन्छु।‘

सुगममा जन्मे हुर्केकी भए उनी पनि पाउदी हुन् कुनै न कुनै अवसर। राज्यले दूर दराजका बस्तीलाई मध्यनजर गरेर यस्ता प्रतिभाहरूको लागि कुनै विशेष खालको कार्यक्रम लागु गरेको भए साकार भइसक्दा हुन् कैयौं कृष्ण मायाहरूका सपना । देशमा जुनसुकै तन्त्र आए तापनि कहिल्यै बद्लिएन कर्णालीलाई हेर्ने राज्यको दृष्टिकोण। मात्र आँसु झारिरहे कृष्णमायाहरू। अनवरत रुपमा बोकीरहे तीला, भेरी र कर्णालीले तिनका आँसु। चित्त बुझाइरहे कर्णालीवासीहरू आखिर जीवनमा साथ दिने भनेको आँसु नै त रहेछ भनेर।

उसै पनि कठिन छ कर्नालीका महिलालाई जिन्दगी चलाउन। सकेकी छैनन् ऊर्जापूर्वक बाँच्न। मात्र घिसारीरहेकी छन् जिन्दगी। आश्विन नलाग्दै बढ्न थाल्छ जुम्लामा चिसो। हिउँ परेर सेताम्य देखिन्छन् डाँडाकाँडा। आँगनसम्मै आइपुग्छ हिउँ। माइनसमा जान्छ तापक्रम। हिउँदमा झन बढी निम्तिन्छ यहाँकी महिलाको दुःख। गर्मी महिनामा त खुला आकाशमुनि आँगन छेउ मै बित्छन् छुई हुँदाका रात। जाडो याममा छाउगोठमा बस्नु पर्ने चलन छदैछ। चिसो पानीमा कपडा सफा गर्न निकै नै सास्ती हुने हुँदा घरमा बाक्लो लुगा हुँदा समेत छुई भएको बेला ओढ्दैनन् अधिकांश महिलाहरू। सामान्य पातलो लुगा ओढ्छन्। महिनामा चार दिन चिसो सहेरै बस्छिन् भक्री पनि। हिउँदका लामा रात कठ्याङ्ग्रीएरै बिताउनु पर्ने हुन्छ महिनै पिच्छेका चार दिन। पाँचौ दिन बल्ल घरभित्र प्रवेश गर्न पाइन्छ। भक्रीको त झन आफ्नो छाउगोठ समेत रहेन छ। छुई हुँदा छिमेकका दिदी बहिनीहरूसँग अनुमति माग्छिन् उनीहरूका छाउगोठमा बस्नलाई। सातौं दिनमा मात्र चल्छ रे उनले छोएको पानी।

भक्रीका अनुसार छोरी मान्छे घरबाट बाहिर निस्किदा कुरा काट्ने समाज उस्तै छ। कसैसँग ओठ खोल्दा नचाहिदो आरोप लगाइ हाल्छन्। बाहिर निस्किन पनि निकै गाह्रो छ। सीधै भनिदिन्छन रे छोडुवा त भैहाली भनेर। तर पनि उनको गायीका बन्ने इच्छा तीव्र रुपले बढीरहन्छ मनमा। राती सपनामा समेत गीत गाइरहेकी हुन्छिन् उनी। भक्री भन्छिन् – ’जुम्लामा कही कतै छैन सङ्गीत सिक्ने ठाउँ। नजिकमा सङ्गीत सिक्ने ठाउँ भए त गिट्टी फोडेरै भए पनि कमाउँथे दुई चार पैसा र पहिल्याउँथे साङ्गीतिक गोरेटो। गायन क्षेत्रमा राम्रो गर्न सके त सक्थे हुँला दुई पैसा कमाउन पनि। शायद त्यतिबेला सहज हुन्थ्यो होला बुवालाई औषधी किन्ने पैसा सम्म जम्मा गर्न।‘

दोधार दोधारको जिन्दगी बितिरहेको छ उनको। बुवा कृष्ण बहादुर भक्री निकै कमजोर छन्। डाक्टरका अनुसार उनको टाउकाको पछाडिको भागका नशाहरू खुम्चिएका छन्। केही वर्ष अघि ललितपुरस्थित पाटन अस्पतालमा चेकअप गराउँदा अप्रेशन गर्नु पर्ने सल्लाह दिएका थिए डाक्टरले। आर्थिकस्थिति कमजोर हुँदा सकेनछन् अप्रेशन गर्न पनि। अहिले औषधीको भरमा बाँचिरहेका छन् उनी। यी सारा कुराहरूले जब बास माग्छन् उनको दिमागमा अनि भन्न थाल्छिन् उनी – जिन्दगी बोझ छ। एकदमै बोझ छ याँ त। झ्याउ लाग्दो। यो ठाउँ छाडिकन टाढै गैजाउँ लाग्दो।

कुराकानीको अन्तमा गाएर सुनाएकी थिइन् चार पंक्ति डेउडा गीतका:

मनभरि पीडा छन् काँ गै कैलाई सुनाउँ
केही छैन वरपर एक्लै सम्झी रुनउँ
सिउन खोजेकै हुँ मैले फाट्यो मन् सिएन्
लिन खोजेकै हुँ मैले भाग्यले दिएन

प्रकाशित मिति: Dec 18, 2019 18:47:29

प्रतिक्रिया दिनुहोस