सुनिताकी आमाको रोदन– मेरो छोरीलाई अन्याय भयो

उनले प्रहरीले नै झुटा मुद्धा बनाएर आफ्नो छोरीलाई जेल हाल्छु भनेपछि न्यायका लागि पत्रकार सम्मेलन गरेको स्पष्ट पारिन्

मन्दिरा अधिकारी

काठमाडाै‌ं–पुस ६

दुई सातादेखि बौद्ध कारागारमा बन्दी अवस्थामा रहेकी आफ्नो छोरीलाई न्याय दिलाउन सुनिता थिङकी आमाले अपील गरेकी छिन्। रामेछाप घर भएकी सुनिता अपराधी नभएको तर प्रहरीले उल्टै उनलाई कारागारमा बन्दी बनाएको दावी आमा बिमाया थिङले गरिन्। 

आइतबार सम्बद्ध चौतारीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सुनिताकी आमाले भनिन्, ‘मेरो छोरीले जीवन रक्षाका लागि चक्कु चलाउदा घटना भएको हो। उ निर्दोष छे।’

सुनिता थिङ ज्यान मार्ने उद्योगको आरोपमा दुई सातादेखि बौद्ध प्रहरीको हिरासतमा छिन्। ‘घटना मंसिर २३ को हो। मेरो छोरीले म प्रिग्नेन्ट भए जस्तो छु तिमी आउ चेक गर्नु पर्यो भनेर राजीवलाई बोलाएको थिइन,’ आमाले घटनाको बिस्तृत सुनाउँदै भनिन्, ‘यसो भन्दा पनि उ नआएपछि मेरो छोरीले तिम्रो नाममा चिट्ठी लेखेर आत्महत्या गर्छु भनि।’

पत्रकार सम्मेलनमा सुनिताकी आमाले भनिन्, ‘यो सुनेपछि राजीव बौद्धस्थित मेरो छोरीको डेरामा आए।’

यति बेला दुबैबीच ४–५ घण्टा नै संवाद भएको र सुनिताले आफू प्रिग्नेन्ट भएको हुन सक्ने बताएको आमाले सुनाइन्। ‘मेरो छोरीले प्रिग्नेन्ट भए विवाह गरौं, नभए ठिकै छ। यदी तिम्रो अरु केटीसँग सम्बन्ध भए आफ्नो बाटो लाग्न सक्छौं भनेकी थिइँ,’ आमाले भनिन्।  

तर, राजीवले यो कुराबाट पन्छिदै छोरीसँग जबरदस्ती पुनः शारीरिक सम्बन्ध बनाउन खोजेपछि तरकारी काट्ने चक्कु चलाउँदा राजीवको लिंगमा चोट लागेको उनले बताइन्। 

यो घटनामा बौद्ध प्रहरीले सुनितालाई कडा निगरानीसहित ज्यान मार्ने आरोपमा कारागारमा राखेको आमाको दावी छ। 

‘प्रहरीले हाम्रो मुद्धा दर्ता गर्न मानेन बरु उल्टै पीडकको पक्षमा लागेर मेरो छोरीविरूद्ध ज्यान मार्ने उद्योग चलाएको आरोपमा बन्द गरेको छ। यो अन्याय हो,’ उनले भनिन्। 

उनले प्रहरीले नै झुटा मुद्धा बनाएर आफ्नो छोरीलाई जेल हाल्छु भनेपछि न्यायका लागि पत्रकार सम्मेलन गरेको स्पष्ट पारिन्। 
 
 

प्रकाशित मिति: : 2019-12-23 11:43:13

प्रतिकृया दिनुहोस्