‘नोस्टाल्जीक जिरी’

नेपाल भ्रमण वर्ष २०२०

हरियाली डाँडाकाँडा, सफा र सुन्दर वातावरण । मन त्यसै फुरूङ्ग हुन्छ। अझै भूइँ कुहिरोले लुकामारी खेलेको दृश्यले थप रोमाञ्चक बनाउँछ।

मनसुनको मौसम, सिमसिम पानी परिरहेको छ। चारैतिर हरियाली छाएको छ। अग्ला पहाडहरू घरि कुहिरोले घप्लक्कै छोपिन्छन्, घरि आकाश खुलेर बस्तीहरू धपक्कै बल्छन्। यतिबेला दोलखाको जिरी घुम्नलायक भएको छ।

युवा, विद्यार्थी तथा अन्य आन्तरिक पर्यटकहरू अहिले जिरीतिर हुइँकिन थालेका छन्। बस्तीका हिलाम्मे बाटा र हरियो घाँसबाट निस्किएर शरीरमा टाँसिएका जुका टिप्दै पर्यटकहरू रमाइलो गरिरहेका भेटिन्छन्।

मनमोहक प्रकृति तथा असल स्वभावका स्थानीय जिरेल एवं शेर्पा जातिका मानिसहरूले पर्यटकलाई आकषिर्त तुल्याएका छन्।

स्वीट्जरल्यान्डका विकासविद् स्वर्गीय टोनी हेगनको नजरमा 'जुरिक' सहरको जस्तै भौगोलिक बनावट र हावापानी भएको जिरी वास्तवमा जुरिक नै हो।

‘हामी सानो छँदा, जिरीमा दुई वटा कुरा मात्र देख्थ्यौं– खच्चड र खैरे’, युवा जिरीको पर्यटनमा लागेका अभियन्ता लिला राम खड्का भन्छन्, ‘अचेल जिरीमा विदेशी पर्यटक फाट्ट फुट्ट मात्रै देखिन्छन्।’

देशमा चलेको दस वर्षे द्वन्दताका जिरीमा पर्यटक लगभग शून्य थियो। २०६२/६३ को शान्ति प्रकृयापछि स्वदेशी पर्यटकले हल्का तंग्रिएको जिरी फेरि २०७२ सालको भूईँचालोले ठप्प बन्यो।

दुई दशक अगाडिसम्म जिरी पर्यटकले भरिभराउ हुन्थ्यो। सगरमाथा पदयात्राको मुख्य द्वार मानिएको जिरीमा विदेशी पर्यटकहरू सगरमाथा जाँदा यहीबाट पदयात्रा गर्थे।

स्वीस नागरिक विकासविद् टोनी हेगनले जिरीको भ्रमण गरेपछि नै वास्तवमा जिरीको जिन्दगीले कोल्टे फेर्ने शुभ अवसर पाएको हो । उनैले यस ठाउँको विकासका लागि आवश्यक पहल गरेका थिए । उनैले यस ठाउँलाई पनि सायद आफ्नै देश जस्तै देखे । अनि उनले यस ठाउँलाई नेपालको स्वीट्जरल्याण्ड भनी नामकरण गरेका थिए ।

स्वीट्जरल्याण्डको जुरिक भन्ने ठाउँ नेपालको जिरीसँग मिल्दोजुल्दो देखेर नै यसलाई नेपालको जुरिक बनाउने पहल स्वीस सरकारले गरेको थियो ।

सगरमाथाका प्रथम आरोही नेपालका तेञ्जिङनोर्गे शेर्पा र न्यूजिल्याण्ड निवासी सर एडमण्ड हिलारी वि.सं. २०१० सालमा जिरीकै बाटो भएर सर्वोच्च शिखर सगरमाथा गएका थिए । उनीहरुले पनि यस ठाउँलाई निकै सुन्दर स्थलका रुपमा देखेका थिए ।

पछि मेलोरीलगायत हजारौं पर्यटकले यहीबाट  पदयात्रा गरे। त्यसैले जिरीलाई ‘गेटवे टू एभरेष्ट’ अर्थात सगरमाथाको प्रवेशद्वार पनि भनिन्थ्यो ।

‘अहिले यो कथा मात्रै भएको छ, लुक्लासम्म सिधै हवाइ यात्रा सुरू भएपछि जिरी सुक्यो’,‍ युवा अभियन्ता खड्का भन्छन्।

नेपालको स्विट्जरल्यान्डको उपमा पाएको  जिरी कलकल बगिरहेको तामाकोसी, अग्ला पहाडका कन्दराहरूबाट निस्किएका झरनाले यसको परिचय बोकेको छ।

'यहाँको प्राकृतिक सुन्दरतामा रमाउने पर्यटकहरूको संख्या निरन्तर बढिरहेको छ तर भौतिक पूर्वाधारको अभावले समस्या उत्पन्न गराएको छ। जिरीको विकासका लागि स्वीस सरकारले केही सहयोग गरे पनि त्यो अपुग छ,' खड्का भन्छन्, ‘अब हामी युवा मिलेर जिरीको पर्यटन विकासमा लाग्ने हो।’

 ‘रोमान्टिक डेस्टिनेशन’ जिरी यति सुन्दर, शान्त र शितल छ कि, यहाँ हरेक उमेर समूहका पर्यटकका लागि उत्कृष्ट गन्तब्य ठहरिन्छ।

शैक्षिक अध्ययन-अनुसन्धानका लागि जिरी प्राविधिक शिक्षालय उपयुक्त गन्तव्य हो। धेरै टाढा-टाढाका विद्यार्थीहरू यो शिक्षालयमा आइपुग्छन्।

जिरी सेरोफेरोमा घुम्नका लागि थुप्रै मन्दिर, गुम्बा, छोर्तेन, र सुन्दर गाउँ छन्।

जिरेलको संस्कृति बुझ्न र हिमाली गाईको छुर्पीको स्वाद लिन पनि जिरी उपयुक्त गन्तव्य बन्दैछ।

यहाँ मनसुनको सिजनमा काला जुकाले हैरान तुल्याउने भए पनि पर्यटकहरू त्यसबाटै मज्जा लिन्छन्। चैत-वैशाखमा गुराँसले यहाँका पाखाहरू रङ्गिन्छन् अनि हिउँदमा हिउँले सेताम्मे हुन्छन्। त्यसैले जिरी घुम्नका लागि बार्‍है महिना उपयुक्त छ।

समुद्री सतहबाट २६ सय मिटरको उचाइमा रहेको जिरी सगरमाथाको मुख्यद्वार मानिने हुँदा वाह्य पर्यटकको पनि अब्बल गन्तव्य हो।

दोलखा जिल्लामा पर्ने जिरीमा अन्य रमाइला पर्यटकीय स्थल पनि उत्तिकै छन्।

वरपर डाँडाले घेरिएका सुन्दर उपत्यका जिरी, बिहान उठ्दा भुर्इँकुहिरोले ढपक्कै ढाकेको हुन्छ र एकैछिनमा उघ्रिएर छ्याङ्ग भएपछि साँच्चिकै स्वीटजरल्याण्ड पुगेको भान हुन्छ।

बजारबाट करिब २ कि.मिको दूरीमा रहेको दूर्गेश्वर मन्दिर, १.५ कि.मि. राङ राङेश्वरि मन्दिर, १ कि.मि. देवि मन्दिर र ३ कि.मि. मा जिरेश्वर महादेवको मन्दिर तथा ४ किमीको दूरीमा चिया बगान छ।

यस्तै करिब अढाई घण्टामा च्योर्दोङ चिज कारखाना पुग्न सकिन्छ।

च्योर्दोङ डाँडा (३,६९० मिटर) बाट रोल्वालिङ, नुम्बुर, लाङताङ हिमशृंखला अवलोकन गर्न सकिन्छ।

त्यसैगरि जिरी बजारबाट केही माथि भूलडाँडा बुद्ध पार्क छ, नजिकै शेर्पा बस्ति, अलि तल चिहान डाँडाबाट जिरी बजारको मनरोम दृश्य देखिन्छ।

जिरीबजारदेखि करिब ३ किमि पश्चिममा लौटी झरना छ। जिरी घुम्न जानेले मन्दिर तथा गुम्बा दर्शन गरेर वर माग्ने, भाकल गर्ने अनि आशिर्वाद माग्न बिर्सिनु हुँदैन। साच्चै रोमान्टिक छ जिरी।

कसरी पुग्ने :

काठमाडौं–दोलखा बजार १३७ किमि । काठमाडौंको पुरानो बसपार्कबाट दोलखासम्म बस छुट्छ । तिनले पाँच घन्टा लगाउँछन् । चरिकोट–कालिञ्चोक १७ किमि । चरिकोट–जिरी ५५ किमि।  

जिरी जाने बसहरु विभिन्न किसिमका रहेछन् । जस्तो कि एक्सप्रेस, सुपर एक्सप्रेस, लोकल आदि। सोहीअनुसार भाडादर पनि सस्तो र महङ्गो हुन्छ।

 हेर्नुहोस् केही तस्बिरहरू

 

प्रकाशित मिति: : 2020-01-01 23:09:00

प्रतिकृया दिनुहोस्