उखु किसानहरु भन्छन्— बरु ज्यानको बाजी लगाइदिन्छौं, तर पैसा लिएरै छाड्छौं (भिडियोसहित)

वर्षभरी पसिना बगाएर उब्जाएको उखुको पैसा नपाएको भन्दै सर्लाहीबाट आएका डेढ दर्जन उखु कृषकहरु चार दिनदेखि माइतीघर मण्डला परिसरमा आन्दोलरत छन्।

तीन वर्षदेखि उखुको मूल्य नपाएको भन्दै उनीहरुले आफ्नो श्रमको मूल्य ब्यापारीबाट दिलाइदिन सरकार समक्ष गुहार लगाएका छन्। 

हरेक वर्ष बल्झिने भूक्तानी विवाद यो पटक भने उत्कर्षमा पुगेको हो। सर्लाहीमा रहेका अन्नपूर्ण सुगर मिलले ५० करोड, महालक्ष्मी सुगर मिलले २१ करोड तथा  नवलपरासीका बागमती, लुम्बिनी तथा इन्दिरा सुगर मिलले ७ करोडको दरले २१ करोड रुपैयाँ भूक्तानी गर्न बाँकी छ।

रौतहटको श्रीराम सुगर मिलसँगको वार्ता भने मंगलबार राती टुँगो लागेको छ। उखु किसान र मिल ब्यवस्थापक हितेश गोल्छाबीच भएको वार्तामा बक्याैंता रहेको ४२ करोड रुपैयाँ केही समयमा भूक्तान गर्ने सहमति भएको थियो। 

अन्नपूर्ण सुगर मिलले विगत ६ वर्षदेखिको रकम नतिरेको उखु किसानको गुनासो छ। आन्दोलनमा उत्रिएका सल्लाही राम नगरपालिका वडा नम्बर ४ का माया शंखर यादवले खेतीपातीलगायत घरेलु खर्चका लागि राजश्री बैंकबाट ८ रुपैयाँ ऋण लिएको बताए। 

उखु बिक्रि गरे बापत पाउने रकम उद्योगीले नदिँदा आफ्नो घरखेत बैंकले लिलाम गर्ने अवस्थामा पुगेको उनले सुनाए। ‘अहिले बैंकले दबाव दिइरहेको छ। मेरो जग्गा लिलाम हुँदैछ। रकम हात पार्न उद्योगीको घर गए। तर कुनै सीप लागेन,’ उनले भने। 

सरकारले उखुकाे प्रति क्विन्टल मूल्य ५  सय ७१ रुपैयाँ तोके पनि उद्योगीले ५ सय ३६ मात्र पाउने गरेकाे उनकाे भनाई थियाे। ‘सरकारले तोकेको मूल्य र उधोगीले हामीलाई उपलब्ध गराउँदै आएको मूल्यबीच ३५ रुपैयाँको फरक देखिएको छ। यो सरासर भष्टाचार हो’, उनले भने – ’३५ रुपैयाँ कम दिने निर्णय गर्दा पनि उद्योगीले अहिलेसम्म रकम भूक्तान गरेका छैनन्।’ 

आफूहरुले यहि गुनासो लिएर कृषि मन्त्री घनश्याम भुसाललाई पनि भेटेको बताए। ‘उहाँले रकम फिर्ता दिलाउने आश्वासन दिलाउनु भएको छ। तर, कहिले रकम पाउँछाैं त्याे भन्नु भएको छैन,’ उनले भने, ‘उद्योगीले रकम नदिएसम्म प्रदर्शन जारी रहन्छ।’ 

सर्लाही जिल्ला सिसोटिया वडा नम्बर १० का ६५ वर्षीय महेन्द्र महतोले तीन लाख रुपैयाँ अन्नपूर्ण चिनी मिलले नदिएको बताए। ‘उद्योगीले प्रति कुइन्टल ५ सय ३६ रुपैयाँ दिन्छु भनेका थिए। तर, रकम अहिलेसम्म पाएका छैनाैं,’ उनले भने। 

उनी पनि सरकारले रकम नदिएसम्म घर नर्फकने बताउँछन्। ‘बिहान ११ देखि साँझ ४ बजेसम्म प्रदर्शनमा हुन्छु। राती नयाँ बानेश्वरमा रहेको कवाडीमा सुत्छ,’ उनले भने, ‘कोठा भाडामा लिनको लागि पैसा छैन।’ 

उनी पैसा पाए छिट्टै घर जाने योजना सुनाउँछन्। ‘भुजा र चिउरा खाएर गुजारा चलाइरहेका छौ,’ उनले भने, ‘जाडो छ। काठमाडौंमा कति बस्नू?’ 

अर्का पीडित हुन् विजय कुमार यादव। जसको स्थानीय ठेगाना हो, सर्लाही जिल्ला धनकोट नगरपालिका वडा नम्बर–१। 
सरकारले किसानको रकम फिर्ता गरिदिने आश्वासन दिएको उनले बताए।

उनी भन्छन्, ‘सरकारले उद्योगीबाट रकम दिलाउने भन्यो। तर अझैं दिलाउन सकेको छैन।’ अन्नपूर्ण चिनी मिलबाट ५ लाख रुपैयाँ लिनुपर्ने बताउँदै उनले भने, ‘पीडित सबैले उद्योगीबाट कम्तिमा पनि ४–५ लाख लिनुपर्ने छ।’ आफूले पाउने रकम प्राप्त नभएसम्म प्रदर्शनमै रहने उनले बताए।

‘ज्यानको बाजी लगाइदिन्छौं,’ उनले भने, ‘पाउनु पर्ने मिहिनेतको पैसा लिएरै छाड्छौं।’

प्रकाशित मिति: : 2020-01-02 02:32:16

प्रतिकृया दिनुहोस्