जुही

कथा

जुही

उफ!! कस्तो व्यस्त दिन बित्यो आज! म आफ्नो बिछ्यौनामा पल्टदै मोबाइलमा समय हेर्छु। बेलुकीको दस बजिसकेछ। ओहो! जुही पनि आइपुगेकी छैन, म झसंग हुन्छु। कति दिन भयो जुहीसँग भेट नभएको पनि? आफू अफिसबाट आउँदा ऊ सुतिसकेकी हुन्छे, बिहान आफू जाने बेलामा ऊ उठेकै हुन्न।

आज त एकपल्ट पनि कुरा भएको छैन मेरो र जुहीको। जीवनको व्यस्ततामा एउटी मात्रै छोरीको दिनचर्या पनि मैले याद गर्न भुलेछु, कता कता असक्षम आमा भएँ कि भने झैँ मनमा नमजा लाग्छ। अनि फेरि सोच्छु, ‘हुन त छोराछोरीलाई धेरै नजर राख्ने अनि बन्धनमा राख्ने पनि त गर्न हुदैन नि! झन् त्यसमाथि यस्तो स्वतन्त्र देशमा? भो म त छोरीलाई त्यस्तो बन्देजमा राख्दिनँ। स्वतन्त्र हुन पाए पो मानिसको आत्मबल बढ्छ अनि जुनसुकै काममा पनि सफल हुन्छन्। मैले जे गरेको छु, ठिकै गरेको छु’, म आफूलाई आफैंलाई सान्त्वना दिन्छु। अनि सोच्छु, ‘आफूलाई सानो हुँदा बन्देजमा बस्न कस्तो सकस हुन्थ्यो? स्वतन्त्रता भन्ने त कुनै कुरामा थिएन। छि! कस्तरी हुर्किएँ आफू त? त्यति खेरको समाज पनि त्यस्तै अनि परिवार पनि। अहिले त स्वास्नी मानिसले पनि धेरै इन्जोय गरेका छन् लाइफ’, म कोल्टे फेर्छु।

आज खै किन हो किन मनमा यस्तै यस्तै कुरा खेलेर सुत्न पनि सकी राखेकी छैन, त्यसमाथि घर पनि शून्य शून्य लागिराखेको छ। सायद ऋषि पनि घरमा नभएकोले होला। हुन त ऋषि प्रायः सधै बाहिर नै हो नि, त्यै पनि खै किन हो आज मलाई नितान्त एक्लो महसुस भईरहेछ। म यस्तै सोच्छु अनि फेरि घडी हेर्छु। ११ बजिसकेछ।

जुही सधै ढिलो गर्छे, खै कहाँ कहाँ जान्छे, के के गर्छे? म फेरि यस्तै सोच्दै मोबाइल निकालेर जुहीलाई फोन गर्छु। फोन सोझै उसको भोइस मेसेजमा जान्छ, म मेसेज छोड्छु। त्यसको केही छिनमा उसको टेक्स्ट मेसेज आउँछ, ‘आज म घर आउँदिन। मेलिनीसँग बस्छु।’ उसको मेसेज पढेर दिमाख सनन्न हुन्छ। तर, केही भन्न मन लाग्दैन। ठिकै छ नि, आज फ्राईडे त हो। ऋषि र म भर्खर यहाँ आउदा जुही सानै थिइ। कस्तो गाह्रो हुन्थ्यो हामीलाई फ्राई डे नाइट घुमघाम गर्न। पछि उसको पनि त त्यही हालत हो। उमेर मै हो रमझम गर्ने अनि साथीभाइसँग समय बिताउने। म आफूलाई आफैं बुझाउँछु अनि 'ओके इन्जोई,' भनेर जवाफ पठाएर निदाउने कोसिस गर्छु। आज अनायास मनमा जुहीको बारेमा धेरै कुरा खेल्न थाल्छ। मनमा नाना भाँतीका कुरा खेल्दा खेल्दै खै कति खेर आँखा लागेछ पत्तै भएन।

जाडो महिनाको अन्त अन्त, मौसम साह्रै रमणीय छ। अनि त्यसमाथि पनि शनिबारको बिहानी, मन यसै प्रफुल्ल। बिहानैदेखि लागेको घाम चर्को हुँदै गए पनि एकनासले चलेको सिर्सिरे हावाले वातावरण नै रमणीय बनाईराखेको छ। ऋषि सधै झैँ बिहान हिड्न निस्केको अहिलेसम्म फर्किएको छैन। म भने हातमा एक कप चिया लिएर बाहिर बगैचामा ठडाएको काठको छहारी मुनिको मेचमा घामतिर ढाड फर्काउँदै बस्छु।

मेरो अगाडी एउटा टेबल अनि टेबलको तल केही पत्रिकाहरु राखिएका छन्। ऋषिको बिहानको समय प्रायः यही नै बित्छ। पत्रिका पड्ने, लेख्ने र बगैचामा बिरुवाको स्याहार सुसार गर्ने उसको सोखको म बयान नगरी बस्नै सक्दिनँ। घर पालुवा छ ऊ, घरमै खत्र्याक खुत्रुक गरेर समय बिताउन उसलाई रमाइलो लाग्छ। ऊ घरमा भएको बेला सधै बिहानको पहिलो कप चिया ऊ आफैं बनाउँछ। उसको हातबाट बनेको चिया पिउन पाउँदा जीवन एक बरदान झैँ लाग्छ। यस्तै साना साना कुरामा त छ खुशी, म मुस्काउँछु। हरेक काममा पोख्त छ ऋषि। घरमा सानातिना बिग्रिएका चिजबिज बनाउने कामदेखि लिएर गाडीको टायर बदल्नेसम्म ऊ आफैं गर्छ। यो बगैचामा राखेको काठको टेबल पनि ऊ आफैंले बनाएको। म आफ्नो अगाडिको काठको टेबल हेरेर फेरि उसको मनमनै प्रशंसा गर्छु। अनि उसको जीवनमा आफू सामेल हुन पाउनु आफ्नो अहोभाग्य मान्छु।

टेबलमुनि राखेको पत्रिकासँगै एउटा फोटो अल्बम देख्छु। अचम्म लाग्छ, ऋषिले किन एल्बम ल्याएर बाहिरै छोडेछ भन्ने सोच्दै म एल्बम उठाउँछु। जुहीको बाल्यकालको फोटो एल्बम रहेछ। जुही भने पछि हुरूक्क छ ऋषि। हुन त उसको स्वभाव नै सबैलाई माया गर्ने छ। तर, जुहीलाई उ अझै बढी माया गर्छ। जुही दुई वर्षकी थिई हामी अस्ट्रेलिया तिर हुइँकिदा। कति रहरले राखेको नाम ‘जुही’ मैले। त्यो पनि घर परिवारमा सबैसँग झगडा गरेर। कसैलाई मन परेको थिएन यो नाउ। ससुरा भन्नुहुन्थ्यो, ‘के भारतीय स्वास्नी मानिसको जस्तो नाम छानेको? फूलकै नाम छान्नु छ त लिली राख्नू। बेली राख्नू। नलिनी र चम्पा पनि कति राम्रा नाम छन्।’ सासु भन्नु हुन्थ्यो, ‘धर्म कर्मको त महत्वै छैन यीनलाई। लक्ष्मी, भगवती, सरस्वती कति राम्रा छन् देवीका नामहरू। हरेक पटक नातिनीलाई बोलाउँदा देवीको नाम उच्चारण हुँदा कति पबित्र हुन्छ बोली?’ ऋषि चाहीँ चुपचाप थिए। विचरा, बोलोस् पनि कसरि? एक त उसलाई आफ्नै नाम कहिल्यै मन परेन। अर्को कुरा बाबुआमा अनि स्वास्नी दुवै पक्षलाई रिझाउन उसलाई पनि त्यति सजिलो कहाँ थियो र? तर, ऊ मान्छे सारै ब्यवहारिक छ। ऊ सबैको कुरा सुन्थ्यो। तर, कसैको पक्ष लिएर कसैको चित्त दुखाउँदैनथ्यो। उसले पहिले नै मलाई मेरो बच्चाको नाउ राख्ने स्वतन्त्रता दिइसकेको थियो। 'तिम्रो खुसी गर, जे नाम मन पर्छ त्यहीँ राख, यति दुःख गरेर जन्माउने तिमी। तिम्रो पुरा अधिकार छ आफ्नो बच्चाको नाम दिने।' उसले यति अधिकार दिएकोले मैले सबैको कुरा सुनेँ। तर, नाम राख्ने बेलामा आफूलाई मनपर्ने नाम ‘जुही’ नै राखिदिएँ।

कति राम्री, सबै कुरा चुटुक्क मिलेकी थिई जुही बच्चैदेखि, म उसको फोटो हेर्दै रमाउँछु। आज अस्ट्रेलिया आएको पनि १४ वर्ष भइसकेछ। समय बितेको त पत्तै नहुने। म एल्बमका पानाहरु एक एक गरि पल्टाउँदै हेर्छु। ऋषिले एउटा कथा जस्तै बनाएको थियो जुहीका फोटोहरूबाट। उसका हरेक क्रियाकलापलाई नाम र मिति दिएर ऋषिले एक एक फोटोहरु क्रम मिलाएर राखेको थियो एल्बममा। कति छिटो ठूली भै जुही, म सोच्छु। साच्चै हो रहेछ केटाकेटीहरु हुर्कन समय नै नलाग्ने। म यस्तै सोच्दै एल्बमका फोटोहरु हेर्दै बिगतसँग रमाउँछु।

ऋषिको बगैचामा फूलेका रंगीचंगी जिरनियम, ब्यान्सिया र वाराटाह फूलहरुले वातावरण नै मनमोहक बनाएको छ। मैले हाम्रो बगैचालाई ऋषिको बगैचा भन्ने गरेको छु। मलाई फूल र बगैचा जति नै मन परे पनि बगैचाको सबै काम ऋषिले नै गर्ने हुँदा मलाई मेरो बगैचा अथवा हाम्रो बगैचा भनेर यो सौन्दर्यताको श्रेय लिन असजिलो लाग्छ। यी झपक्कै फुलेका फूलका पत्ता पत्तामा ऋषिको पसिना र परिश्रम छ। कति ध्यान मगन भएर लगनसिलाताका साथ हेरविचार गर्ने गरेको छ उसले यी बिरुवाहरुलाई।

मेरो आँखा बगैचाको उता पर कुनामा रहेको माछा पोखरीमा पर्छ। माछा पोखरीकै छेउमा एउटा झ्याम्म परको होचो रूखमा झपक्कै सेता फूलहरु फ़ुलेका छ्न्। म झलक्क सम्झन्छु, हामीले घर किनेपछि सबै भन्दा पहिले ऋषिले मेरो लागि त्यो पोखरीको छेउमा रोपिदिएको जुहीको बिरुवा हो त्यो। अतित झलक्क आखाँमा उत्रिन्छ। म सम्झन्छु, कती फूलको बगान र बग़ैचा धाएर भेटेको थियो ऋषिले यो जुहीको बिरूवा। सुरूका केही वर्ष त मैले पनि निकै मलजल गरेर स्याहार सुसार गरेको थिएँ। तर, केही समयपछि खै कसरी मैले हेरविचार गर्नै छोडेछु थाहै भएन। कति भएछ आफ्नै बगैचालाई पनि गौड गरेर नहेरेको? जीवनको व्यस्ततामा मैले मेरो जुहीलाई नै बिर्सिएँ? साच्चै अचम्म लाग्छ आफू देखेर आफैलाई। मन भरंग हुन्छ। कसरि बिर्सिएँ मैले मेरो जुहीलाई? यस्तो पनि हुन्छ? म एल्बमलाई त्यहीँ मेचमा राखी पोखरी भए तिर लम्किन्छु।

अहो! मेरो जुही कस्तो राम्रोसँग झपक्कै फुलेको। कोपिला फक्रिएर फूल भैस्कदा पनि मलाई पत्तो नै भएन, कति बसन्तहरू बिते होलान् यसरी, कति कोपिला फक्रिएर फूल बनि झरे होलान्? मन भित्र नमजा लाग्छ। म यसो निहुरेर ती फूललाई सुँघ्दै जुहीको सुगन्धमा हराउँछु।

बिहेअघि बाबाको घरको बगैचामा पनि मैले जुही कै बोटहरु रोपेर सजाएको थिएँ। हजारौं सुन्दर फूलहरुमा मलाई जुही किन यस्तो मनपर्‍यो म आफैंलाई थाहा छैन। मानिसहरू गुलाबको बयान गर्छन्, सूर्यमुखी र लालुपातेको गीत गाउँछ्न्। तर, म भने जुहीमै रमाउँछु। जुही फूलका कोमल सुकुमारी पत्ताहरुलाई हलुकासँग हातले स्पर्श गर्दै नजिकैबाट महसुस गर्दा मनमा अनौठो भाव श्रृजना हुन्छ, म मन मुग्ध भइ त्यहीँ हराउँछु।

'धेरैपछि जुहीको याद आयो त तिमीलाई?,' म झस्कदै आवाजतिर फर्कन्छु। ऋषि मलाई हेरेर मुस्काईरहेथ्यो। 'तिमी त बगैचामा, अझै भन्ने नै हो भने यो पोखरीको छेउछाउमा नअएकि पनि त एक जुग नै भैसकेकोथ्यो नि हैन?'

म यसो सोच्छु अनि हो उसले ठिकै भन्यो भने झैँ लाग्छ। 'तिमीलाई थाहा छदै छ नि जिन्दगीको व्यस्तता? आज कति पछि बल्ल म शनिबारको दिन घर बस्दैछु।'

'मैले त भनेकै होनी तिमीलाई काम कम गर या कामै नगर भनेर। आनन्दसँग जीवन गुजारा गर। मरि लानु के छ र यस्तो धस्सिनुपर्‍यो? कामै गर्नु छ भने पनि अलि हल्कासँग काम गर्‍यौं भने त दुवै जुहीको हेरविचार गर्न पर्याप्त समय हुन्छ। के नपुग्दो छ र हामीलाई तिमी यसरि गधा जोतिए जसरी जोतिनपर्ने?'

कति सरल र सहज छ ऋषि, म सोच्छु। सानासाना अनि थोरै कुरामा पनि शुखी र खुसी रहन सक्छ ऊ। म यस्तै सोच्दै थिएँ। अनि ऊ चाहीँ भन्दै थियो, 'मैले त सधै भन्ने गरेको छु पैसाले कहिले पुग्छ र मानिसलाई? हामीलाई जीवन गुजारा गर्न पुग्ने सम्पति छँदै छ। म यो दुँनियामा भईन भने पनि तिमीहरू दुईजनालाई सम्पतिको कहिल्यै दुःख हुँदैन।’

'क्ष्या तिमी पनि कहाँको कुरा कहाँ पुर्‍याउँछौ। यस्तो कुरा नगर बिहान बिहानै।'

'रिसाउने कुरै छैन। तिमी आफैं सोच त, जुही हिजो राति कति खेर घर आई थाह छ तिमीलाई या घरै आईन?’ ऊ असहमतिको टाउको हल्लाउँछ। ‘छोरी उम्किदै छे हातबाट। तिमीलाई थाहा छ उसलाई चाहिने ध्यान हामीले पुर्‍याउन सकिराखेका छैनौं। हिजो उसको कोठामा छिरेको थिएँ, टेबलमा चुरोटको ठुटा देखेँ। अस्ती मोबाइलमा कुनचाई केटाको मेसेज आएको थियो, अश्लिल कुराहरू लेखेको।'

'तिमी पनि कहिलेदेखि यस्तो छोरीको बारेमा चियो चर्चो गर्ने हुन थाल्यौं? यस्ता सानातिना कुराहरुमा कचकच गरेर के फाइदा? तिमीलाई थाहै छ यहाँका बच्चाहरू। नेपालको पाराले कन्ट्रोलमा हुर्काउँछु भनेर पनि त भएन नि। आजकाल त नेपाल मै पनि यस्ता कुराहरु साधारण हुन थालिसक्यो भने हामीले यहाँ जन्मेका हुर्केका बच्चालाई हरेक कुरामा प्रतिबन्ध लगाएर कहाँ राख्न सक्छौ।'

'तिमी जे सुकै भन, जे भइराखेको छ त्यो ठिक छैन। जीवन भनेको चुरोट रक्सी र केटा मात्रै हो र? ‘त्यस्तो हैन’ भनेर कसले बुझाउने उसलाई?’

'हरे! तिमी अलि बढी नै चिन्ता लिन्छौं छोरीको। त्यस्तो चिन्ता लिनुपर्ने गरि केहि बिग्रिएको छैन। रमाइलो गर्न देउ न। जीवन जिउने र जिउनेको मजा लिने उमेर नै यही हो नि। हामीले आफ्नो उमेरमा केही गर्न पाएनौं। आज उनीहरुले पाएका छन्, देउ उसलाई मजाले जीवनको मजा लिन।'

'तिमीले मैले भन्न खोजेको कुरा नबुझेको देख्दा म जिल पर्छु, सत्य,' ऋषि अलि दिक्क भए झैँ गरि भन्छ। 'हेर तिमीले सोच्नुपर्छ यस विषयमा हैन भने यसको नतिजा नराम्रो पनि हुन सक्छ,' यति भन्दै ऊ बगैचाको पल्लो कुना तिर लाग्छ।

मनमा खल्लो लाग्छ। ऋषि  कहिले रिसाउँदैन मसँग तर आज उसको बोलीमा कताकता तिक्तता भेट्छु। उसले भनेको कुरा सही हुँदा हुँदै पनि मलाई सही हो भनेर मान्न मन लाग्दैन। म उसका कुराहरुलाई दिमाखबाट पन्छ्याउँदै फेरि जुहीको बोट हेर्छु। मेरो जुहीको उमेर जत्तिकै हो यो जुहीको बोटको पनि। बगानमा गएर बिरुवा किन्दा पसलेले भनेको थियो, दुई वर्षको भयो यो बिरूवा अनि मेरो जुही पनि त्यस्तै दुई वर्ष कि थिइ त्यति खेर।

'अबदेखि यो बिरुवाको हेरविचार गर्ने काम तिम्रो,' ऋषि परबाट कराउँदै भन्दै थियो।

आज के भएछ ऋषिलाई? यत्तिकै रन्थन्निरहेछ। उसको कुरालाई बेवास्ता गर्दै म पोखरीमा हेर्छु। जुहीका फूलका छाया पोखरीमा आकासमा तारा जस्तै देखिन्छन्। जहाँ जस्तो रूपमा हेर्दा पनि जुहीको फूल सधै राम्रो, म सोच्छु।

भित्रबाट राता राता गोलभेडा जस्ता आँखा पार्दै छोरी जुही बाहिर निस्किन्छे। उसका उधाङ्गिएका लुगाहरू अनि भरपुर शृंगारले मलाई झस्काईदिन्छ। ऋषिका एक एक कुरा दिमाखमा फनफन घुम्न थाल्छ। म भित्र भित्रै डराउँछु।

'यति बिहानै कता तिमी?' म सोध्छु।

'चिन्ता गर्नुपर्दैन,’ उ भन्छे, 'म मेलिनीहरूसँग घुम्न जान्छु आज। मलाई अलिकति पैसा चाहियो।’

'अस्ति मात्रै दिएको थिए त त्यत्रो पैसा?'

'सकियो,' ऊ भन्छे।

'छैन म सँग आज पैसा। तिमी कतै जान पर्दैन। घरै बस आज। हिजो मात्रै मेलिनीसँगै घुम्न गएको हैन?'

'तपाइले मलाई नचाइने कन्ट्रोल गर्न सक्नुहुन्न ममी। म सोह्रो वर्षकी भइसकेँ अब। मलाई थाहा छ सबै कुरा,' यति भन्दै उ एकपटक पछाडि नहेरी घर बाहिर निस्किन्छे।

ऋषिले उताबाट मलाई पुलुक्क हेर्छ। तर, केही भन्दैन। मनमा कस्तो कस्तो लाग्छ। साच्चै ऋषिले भने झैँ छोरी हातबाट फुस्कदै गएको महसुस हुन्छ। म थचक्क त्यहीँ जुहीको बोटमुनी पोखरीको डिलमा बसी पानीमा छायाँ परेका जुहीका फूलहरु हेर्दै टोलाउँछु। हावाका झोंकाहरूसँगै उठेका पानीका तरङ्गमा जुहीका फूलहरू पनि छचल्किन्छन्। अनि पानी चित्रमा छचल्किएका रंग जस्तै हरियो पानीमा मिसिदै जुहीका फूलका छायाहरु आकार बिहिन हुन्छन्। मनमा चिसो हुन्छ म फेरि टाउको उठाएर जुहीका लत्रिएका हाँगामा फुलेका फूलहरु छुन्छु र तिनका कोमलतालाई फेरि महसुस गर्छु।

अनायास बिहानीको मिठो सिर्सिरे हावा कठोरहुँदै हुइकिन थाल्छ। ऋषिका बगैचाका फूलका बोटहरु बेजोडले हल्लिन्छ्न्। तर, अचम्मसँग उसले स्याहारेका ती फूलहरू सकुसल अडेका छन बोटमा। केवल मेरा जुहीका फूलहरु मडारिदै आएका हुरीसँगै मेरै आँखा अगाडी रूखबाट झरेर सर्बत्र छरिन्छ्न्। म भयभित हुन्छु। मन बेजोडको कोलाहालले सलबलाउँछ। एकै छिनमा तुफान साम्य हुन्छ, मौसम फेरि उस्तै हुन्छ। मिठो मधुर घाममा चलेको सिर्सिरे हावाले मेरो आत्मालाई फेरि जिवन्त गराईदिन्छ। म चारैतिर टाउको घुमाउँदै हेर्छु, ऋषिका बगैचाका सबै फूलहरु जस्ताका त्यस्तै ठडिएका छन् केवल मेरा जुही फूलहरू सबै बोट नै नाङ्गिने गरेर भुईभरी झरेको छ। म झरेका जुहीका फूलको माझ बसी कोलाहालसँग रून्छु। ऋषि  परबाट मलाई हेरेर निर्मोही भै बेवास्ता गरिरहेछ। यस्तो निर्मोही त थिएन मेरो ऋषि, म सोच्छु, किन यस्तो ब्यवहार गरिरहेछ उसले मलाई? मेरा सान्त्वनाका लागि तड्पिएका नजरहरू फेरि ऋषि तिर दौडन्छ्न्। यसपटक ऊ म भए तिर आउँछ र मेरो छेउमा बस्छ। पछाडिबाट आफ्नो अंगालोमा मलाई बाँध्दै ऊ, 'दुःख लाग्यो तिमीलाई तिम्रो जुहीको फूलहरू लथालिङ्ग भएको देख्दा?' उ सोध्छ। उसका शब्दहरुले, उसका प्रश्नहरुले किन मलाई घोचे जस्तो महसुस हुन्छ? म सोच्छु।

उ फेरि भन्छ, 'अचम्म लाग्यो होला हगि तिमीलाई मेरा अरू फूलका बोटहरु यत्रो हुरीमा पनि मासिएनन् अनि तिम्रो जुहीको फूलहरु कसरि लथालिङ्ग भएर झरे भनेर?'

'के भन्न खोज्दै छौ तिमी?' म नमिठो भाकामा उसलाई भन्छु। मैले जसरि बोले पनि ऊ आफ्नो शान्तपन, नम्रता र भद्रतालाई कहिले छोड्दैन।

ऊ भन्छ, 'हेर मैले रोपेका फूलहरु यत्रो तुफानमा पनि डगमगाएन किनकि तिनीहरुले मेरो सबै ध्यान पाएका छन्। तर, यो जुहीको बोट जहिलेदेखि तिमीले बेवास्ता गर्न थाल्यौं त्यतिबेलादेखि यो कम्जोर भएर बाँचेको छ। हेर यो बोटको हाँगाहरु, जताततै सुकेर अब ढल्न मात्र बाँकी छ। धन्न आश्चर्यको कुरा त के भने अझै पनि यसमा फूलचाही फुलिरहेछ। तर, अब यसको हेरविचार नगर्ने हो भने यो मासिन्छ।' ऊ एकछिन अड्छ र केही सोचे झैँ गरी फेरि सुरु गर्छ। 'यो जुहीको बोटले तिमीलाई हाम्रो छोरी जुहीको याद आउँछ कि आउँदैन भन्ने मलाई थाहा छैन। तर, यसको इतिहाससँग छोरी जुहीको जीवन जोड़िएकोले मलाई सधै यो बोट हाम्रो छोरी जुही जस्तै लाग्छ। यो बोट जसरि बेवास्तामा फस्टाउँन सकेन त्यस्तै नहोस् छोरी जुहीको जीवन। छोरीलाई आमाको राम्रो साथ चाहिन्छ। जुहीलाई तिम्रो साथको जरूरत छ। मैले जति माया गरे पनि ऊ मसँग खुल्न सक्दिनँ। तर, तिमीले उसका हरेक कुराहरुलाई मान्यता दिएर विचार पुर्‍याउनुपर्छ, होइन भने यही जुहीको फूलहरु झैँ कम्जोर हुन्छे हाम्रो जुही। हेर त कसरी तिमीलाई बेवास्ता गर्दै हिँडी ऊ। ऊ खुसी छैन। उसको जीवनमा समस्या छ। उसका मन भित्र भावनाका द्वन्द्व छन्।

 म झसंग भइ आफ्नो छोरी जुही सम्झन्छु। अनि बगैचा भरी बेबारिस भएर छरिएका मेरा जुहीका फूलहरु हेर्छु । बिस्तारै मेरा हातहरू भुँईमा लाबारिस भएका जुहीका फूलहरु बटुल्न थाल्छन्। ती झर्न नपाई ओइलाएका जुहीका फूलले मलाई मनभरी पीडा दिन्छ। म डाँको छोडी रून खोज्छु। तर, आवाज निस्किदैन। कसैले घाँटी थिचे झैँ सास फेर्न गाह्रो भए झैँ हुन्छ। मोबाइल फोनको एकनासले बजेको आवाजले मलाई झसंग पारि बिउँझाउँछ। धेत्त! कस्तो सपना पो देखेछु। म निधारमा तप्किएका पसिना पुस्दै यसो घडी हेर्छु, बिहानीको दुई बजेछ। जुही घर आउँदिन आज। मन खंग्रंग हुन्छ। जीवनको व्यस्ततामा अनि आधुनिक जीवन र अधिक स्वतन्त्रताको उपभोगको होडबाजीमा मैले आफ्नो जीवनको प्रमुख प्राथमिकता के हो भन्ने नै भुलेछु। मेरो जुहीलाई नै बेवास्ता गरेछु। पश्चातापले छाति चर्केर दुख्छ। कहाँबाट सुरु गरी सच्याउ म मेरा गल्तिहरु? म छटपटाउँछु। मोबाइल एकोहोरो बजेको बज्यै छ। यसो हेर्छु ऋषिको फोन रैछ।

उसको नाम फोनमा देख्ने बित्तिकै मन हल्का हुन्छ। लामो समयसम्म फोनमा ऊ सँग कुरा गर्छु। ऋषिसँग कुरा गर्दा जैले पनि मनलाई राहत मिल्छ अनि सोच्छु, मेरो आत्मबल हो ऊ। मेरा हरेक बेदनाहरुको हल हो ऊ। मेरा समस्याको समाधान अनि मेरा दुःख चिन्ता निवारण हो ऊ। ऊ सँग कुरा गरेपछि मनलाई शान्ति मिल्छ।

जब झ्यालबाट सूर्यका किरणहरु छिर्छन्, म ऋषिको बगैचामा मेरो जुहीको बोट हेर्न जान्छु। साच्चै बिना हेरविचार सुकेर खंङ्ग्रङ्ग भएको रै’छ मेरो जुहीको बोट। दुःख लाग्छ। दिउँसो छोरी जुही घर आएर सोझै आफ्नो कोठामा लाग्छे। केही भन्ने हिम्मत आउँदैन। केही छिन पछि उसको कोठामा पस्छु। उ मस्त सुतेकी हुन्छे। उसको निर्दोष अनुहारमा म मेरो दोषहरु झल्केको पाउँछु। ऊ टाढिएकी छे मसँग, म सोच्छु। उसको बिछयौनाबाट तल लत्रिएर झरेको ओड्ने तान्दै उसको शरीर छोपिदिन्छु अनि उसको निधारमा चुम्बन गर्दै म उसलाई सम्पूर्ण मातृत्व प्रेम निक्षावर गर्ने प्रण गर्छु। यसै बीच मेरो आँखा जुहीको कोठा बाहिरको जुहीको बोटमा पर्छ। अगि हालिदिएको पानीले अलिकति मौलाए झैँ लाग्छ मेरो जुही। आजकाल म फेरि जुहीलाई प्रेम गर्न थालेको छु। मेरो घर भित्र अनि घर बाहिरका दुवै जुही मसँग रमाउने गरेका छन्।

प्रकाशित मिति: Jan 11, 2020 11:22:20

प्रतिक्रिया दिनुहोस

सबै