छेलाको भावर र एक हटेरुको समय

लोकराज भट्ट 

काठमाडौं

कथा भनेका मान्छेका व्यथा पनि त हुन्। जुन कुनै बखत कागजका पानामा अटाउन सकेनन्। तर धेरैको जनजिब्रोमा अटाईरहे। अनेकौ अलिखित जीवनका वास्तबिक कथामध्येको एक हो- देवु बडको कथा। जुन कथा लगभग एक शताब्दीभन्दा पुरानो छ।

धर्म र संस्कृतिको आडमा उभिएर जीवनशैली निर्माण गरेका केही बुढ्यौली अनुहार अझैपनि गाउँघरमा देखिन्छन्। तिनका आफ्नै भोगाइ छन्। जीवनसँग कयौं दुःख सुख र रामरमिताका किस्सा जोडिएका छन। र, तिनैले सुनेका छन आफ्ना अगिल्ला पुस्ताका भोगाइ ।

आजभन्दा ३१ बर्ष अगाडि डोटीको ग्रामीण क्षेत्रमा घरेलु उद्योगको सुरुवात गर्ने, जोगीसिंह कुवरसँग बसेर यस बर्ष केही पुराना कुरा सुन्न पाएको थिएँ। आज उनले सुनाएको यही कथाले मन लोभ्याएको छ। यो कुनै परदेशीको कथा हैन; एक हलीको कथा हो। हाटको कथा हो।

डडेल्धुरा र डोटी, त्यसबखत डोटीमै थिए। डडेल्धुरालाई तल्लो काणा भनेर चिनिन्थ्यो। हालको डोटीलाई मल्लो काणा भनेर चिनिन्थ्यो। रीतिथिति र संस्कृति पुराना थिए। चालचलन पुराना थिए। गाउँमा घर थोरै थिए। जनसंख्या थोरै थियो। युगअनुसार जीवनशैली राम्रै थियो।

धन पैसाको लागि मान्छे परदेश जान्थे। कुमाउँ र गढवालसम्म पुग्थे। त्यसबखत भारत, अंग्रेजको अधिनमा थियो। केही मान्छे भारत गएर सेनामा भर्ती हुन्थे।केही कुल्ली काम गर्थे। लाहोर र पन्जाब जान्थे। बम्बै र ब्याङ्लोर पुग्थे।अहिलेको जस्तो यातायातको सुविधा थिएन। धेरै दिनको बाटो हिडेर जानु पर्थ्यो।

बारीमा कपास फुल्थ्यो, आँगनमा चर्खा चल्थे। तान लगाएर गजी र सुती बन्थ्यो। कपडा तिनैका बन्थे। कपडाको अभाव पूरा हुन्थ्यो। खप्तडबाट बडु नामक बनस्पति बोकेर ल्याउँथे त्यसैका कागज बनाएर बेच्थे। सरकारी कामकाज, महत्वपूर्ण अभिलेख र तमसुक तिनै कागजमा लेखिन्थे। खेतमा ढकमक तोरी फल्थ्यो। गाउँगाउँमा कोल घुम्थे, त्यसबाट तेलको पूर्ति हुन्थ्यो। बारीभरी लगाइएका उखु पेलेर त्यसबाट खुदो बन्थ्यो। त्यसले बर्षभरी चिया पिउन र मिठा परिकार बनाउनका लागि पुग्थ्यो। जे बन्थ्यो आफ्नै परिवेश र प्रविधिले पूरा हुन्थ्यो। जे बन्दैनथ्यो त्यसका लागि हाट जानु पर्थ्यो।

पहाडको जीवनशैली भारीमा धानिएको नुनको गर्जो, जसरी पनि पूरा गर्नै पर्थ्यो। त्यही परदेशीको हिँड्ने बाटो भएर हिउँदका दिनमा हाट बोक्न जान्थे मान्छेहरू। परनिर्भताको नाममा नुनको जोहो नगरी बर्ष गुर्जान कठिन हुन्थ्यो। 

हाटजानु भन्दा केही दिन अघि गाउँमा सल्लाह हुन्थ्यो।हाट जाने अगिल्लो साँझ दमाईले दमाह बजाएर सबै ठाउमा खबर गर्थे। हाटजाने बाजो लगाईसके पछि भोली बिहानै हाट हिन्नु पर्छ भनेर सबै बस्तीका मान्छेले बुझ्थे। गाउँमा चहलपहल हुन्थ्यो। बाटोमा खाने सामल, ओढ्ने कपडा, कसैले बेच्नका लागि घ्यू र मह जालेडोकोमा राखीसक्थे। बाटोको लागि र ल्याउने सामानका लागि खर्च बोक्थे।

सक्नेजति गाउँका युवा सबै हाट हिँडेपछि गाउँ सुनसान हुन्थे। महिला, बालबालिका र बूढापाका मात्रै गाउँमा रहन्थे। गाउँमा मलामी पाउँन मुस्किल हुन्थ्यो। कोही मरिहाल्यो भने घरमा भएकालाई घाटसम्म लाश पुर्याउन कठिन भैजान्थ्यो। घरगाउँका कठिनाइ महिला र बूढा बाजेका काँधमा आईपर्थे। 

कन्चनपुरमा पर्ने नेपाल भारतको सिमानाका बजार टनकपुर र बरमदेउमा त्यसबखत हाट ल्याउन पुग्नु पर्थ्यो। मल्लो डोटीका मान्छे बुडरको बाटो भएर जोगबुडा निस्किन्थे। जोगबुडामा अरु पहाडी जिल्लाका मान्छे भेटिन्थे। सबै ठाउँका मान्छेको एउटै बाटो सुरु हुन्थ्यो। बरमदेउको हाट तल्लो डोटी अर्थात् तल्लो काणाका मान्छेलाई सबैभन्दा नजिक पर्थ्यो।

बाटोमा जनावर र चोरडाकाको निकै डर हुन्थ्यो। विभिन्न गतीविधि हुन्थे। कुनै बखत त खराब मान्छे भेटिए भने लडाई समेत पर्थ्यो, कुटाकुट हुन्थ्यो। नसक्नेसँग सक्नेहरू अनेक निहुँ खोज्थे। धेरै मान्छे सहयोगी पनि हुन्थे। जसले एक्ला मान्छेलाई आफुसँग बास दिन्थे, अप्ठ्यारोमा साथ दिन्थे।

असैह्य भएपछि अटेरी गर्ने मान्छेलाई हाटको बाटोमा गोर्खेलौरी हालेर भारीमै लडाई दिन्थे अरे। त्यो काम प्राय बुढापाका हटेरुले गर्थे भन्ने सुनिन्छ। बाटोमा थकाई मार्ने निश्चित ठाउँ बनाइएका हुन्थे। अनि को र कहाँको मान्छे कति बलियो छ भनेर जोख्न ठाउँ ठाउँमा छेलो राखिएका हुन्थे। छेलो भन्नाले भार उत्तोलनका लागि बुट्टा कुँदेर हटेरुले थकाई मार्ने ठाउँमा राखीएको ठुलो ढुङ्गो हो। जुन ढुंगोलाई सितिमिति सबै मान्छेले हल्लाउन समेत सक्दैनन्।जस्ले बाटामा छेलो उचाल्यो ऊ नै बलवान कहलिन्थ्यो।त्यसै ठाउँका मान्छे बलिया रहेछन भन्ने गरिन्थ्यो।

हाट जाने हटेरुमध्ये एक क्विन्टलभन्दा कम भारी ल्याउने मान्छे प्राय: कमै हुन्थे अरे। खुला आकासमुनि आगो ताप्दै जाडो मौसममा रात बिताउनुपर्ने, टाढाको बाटो धेरै दिन हिडेर जानुपर्ने, खुट्टा कपाइ कपाइ भए पनि उचाल्न सक्ने भारी बोकिन्थ्यो अरे।

बरमदेउको हाट जाँदा जोगबुढाबाट सबै ठाउँका मान्छे एकै बाटो हिडिसकेपछि सुरु हुन्थ्यो ठुलो जङ्गल।जसलाई छेलाको भावर भनेर भनिन्थ्यो। बरमदेउ र जोगबुडाबिच पर्ने त्यही जंगलमा एक बखत तल्लो डोटीका मान्छेले जंगलको बिचमा भयङ्कर ठूलो छेलो राखेर बाटो नै बन्द गरिदिएछन्। छेलो उचाल्न सकेपछि मात्रै अगाडि जान पाउने नत्र कसैलाई पनि जान नदिने भनेर अडान लिएर बसेछन्।

उनीहरूको अडानलाई वास्ता नगरी हिड्यो भने, त्यहाँ झगडा परिहाल्ने परिस्थित सिर्जना भएको रहेछ। त्यो बुझेर बाटाभरी थाकेका,टाढाका हटेरु डोका त्यहीँ राखेर चुपचाप बसेछन्। सारा जङ्गलभरी टनाटन हटेरु भैसक्दा पनि न कसैले छेलो उचाले न त ती मान्छेहरूले कसैलाई अगाडी बढ्न दिए। र, बल्ल आइपुगेछ मल्लो डोटीको हटेरुको टोली।

त्यतिबेलाका देवुहरूको जिन्दगी त हलो जोतेरै सकियो। हाट बोकेरै सकियो। अज्ञानता र अशिक्षाकै भूँमरीमा लट्पटियो। मात्र कथा छोडेर गए देवुहरू । दुर्भाग्य नै भनोँ तिनै कथा पनि लेखिएनन्। 

ती हटेरुले सबै कुरा बुझिसकेपछि छेलो उचाल्नलाई कस्सिहाले छन्। आफुले बोकेका डोका बिसाउन तम्तयार भएछन्। र, त्यसै टोलीमा हाट बोक्न गएका रहेछन देवु वड पनि। र, उनले भनेछन् “गोसाई यै ढुङ्गाका लागि डोका जनबिसाय, लडाई पर्यो भने तमी अगि बढ्नु यो ढुङ्गो त म उचालि हालौंला।” पिठ्युमा भिरेको डोका पिठ्युमै थियो अरे। हातमा समातेको लौरी भुइँमा नराखेर काखीमा च्याप्दै देबुले दुबै हातले क्षणभरमै जुरुक्क उचालेछन बाटोको बीचमा राखिएको छेलो। उनको त्यो साहस र शक्ति देखेर रमिता हेरिहेका सबै हटेरु अचम्म परेछन्। फेरि देबुले सोधेछन् “यो ढुङ्गो काई फाल्नु पड्डे हो कि यैनुई रन्दिउँ ?” तब कोही बोलेनछन्। देबुले त्यो ढुङ्गो उचालेर बाटोभन्दा दश पन्ध्र मिटर टाढा लगेर राखिदिएछन। “तल्ला काँणीभन्दा त मल्ला काँणी बलिया रहेछन्।” बल्ल बोलेछन् जोधा खोज्न बाटोमा छेलो राखेर अवरोध गरेका मान्छे। र, बाटोमा डरले छेलो नउचाली बसिरहेकाको अवरोध खुलेछ। 

देवु वड डोटीको वायल निवासी थिए। उनी पेसाले हली थिए। हलीको जिन्दगी बाँचेर आफ्ना दिनमा साँगा पनालामा दुईजनाले हाल्ने काँध एक्लैले थापेका थिए। असारमा रोपाई सुरु हुने बित्तिकै महिना भरी हलगोरु कुदाउँथे। कार्तिकमा धानका बोरा उचालेर मालिकका दैलोसम्म पुर्याउँथे।

केही खेती उनको आफ्नै थियो र बाँकी मालिकका खेतमा हलियाको काम गर्थे। उनको जीवन चलेकै थियो। हिउँद-बर्खा मालिकसँगै खेतीपातीको काम गर्ने देवु मेलापर्व र दुःख सुखका हरेक पाटामा मिसिन्थे। बस्ती अत्यन्तै नजिक भएका कारण पनि हालको कुमालिकोटदेखि तिखातरसम्मको भूगोलका मान्छेको हाट जाँदाको एकता कायम रहन्थ्यो। त्यही टोलीसँग मिसिएर देबु पनि हाट जान्थे।

त्यो जङ्गल जहाँ छेलो उचाल्ने प्रतिस्पर्धा हुन्थ्यो। कोभन्दा को बलियो भनेर मान्छेहरू एक अर्कालाई तौलने गर्थे। त्यै छेलो जोख्ने जङ्गल भएकै कारण र त्यो जङ्गलको नाम नै छेलाको भावर रहन गएको थियो भनिन्छ। अझै पनि कयौ बूढापाका छेलाको भावर भन्ने बित्तिकै त्यही जङ्गल र देवुले उचालेको छेलाको प्रंसग सुनाई हाल्छन्। 

दिन बित्दै जाँदा हटेरुको हाट पनि बद्लियो। बरमदेउको हाट छुट्यो। मल्लो डोटीका मान्छे कैलालीको नाकामा रहेको गौरीफन्टाको हाट बोक्न थाले। त्यसबेला डोटीका गोठाला धनगढी चौमालामा भैसी हेर्ने खर्क बनाएर बस्थे। देबुका जेठा छोरा नाउटे एक्लै ओखल पिठ्युमा बोक्न सक्थे अरे। अर्का छोरा राईभान वड लामो समयसम्म गोठालो बने। उनको खर्क हालको जोशी टाकिज (फिल्म हल) रहेको ठाउमै थियो भनेर धेरैले सुनाउँछन्। उनी निकै वर्ष त्यहाँ गोठालो भएर बसेका थिए भन्ने अझै सुनिन्छ। पछि समयसँगै उनी घर फर्किए, त्यहाँ जान छोडे।  गौरीफन्टाको हाट पनि छोटो भएर चौमालासम्म सर्यो। धनगढीमा बल्ल बस्ती बस्न थाल्यो । राईभान गाउँमै हलो जोते, ढुंगा फुटालेर ज्याला मजदुरी गरे तर धनगढी फर्किएर गएनन्। त्यसपछिका पुस्ताले चौमालबाट हाट बोके। त्यो बाटोमा पनि ठाउँठाउँमा छेला राखिएका थिए। मान्छे त्यही बाटामा पनि छेलो जोख्ने प्रतिस्पर्धा गर्थे। त्यहाँ पनि रोकिएन छेलो उचाल्ने प्रतिस्पर्धा। राणाहरूले बिं सं १९८२ ताका गार्वा दरबार बनाउँदा तिनै छेलो उचाल्दै हाट बोक्ने हटेरुको श्रम शोषण गरेको कहानी जो कोही हाट बोकेका मान्छेले अहिले पनि सुनाउछन् गाउँघरमा।

अहिलेका जस्ता अस्पताल र उहिलेका जस्ता देबुहरू भैदिएका भए। ती देबुहरूको जीवनशैली कस्तो हुँदो हो ? आजको जस्तो जमाना र ती अजङ्गको ढुङ्गो उचाल्ने प्रतिस्पर्धा गर्ने मान्छेले अहिलेको जस्तो अवसर पाएका भए देशको झण्डा तिनले पनि फहराउँथे होलान्। भारोत्तोलनमा संसार जितेर फर्किन्थे होलान्।

त्यतिबेलाका मान्छेको जीवनशैली निकै राम्रो थियो। परिकार पोषिला हुन्थे। अर्गानिक हुन्थे। अहिलेका मान्छेले खान उत्तम ठानिएका चिज खान छोडिसके। नखान भनिएका चिजमा अम्मल परिसक्यो। जङ्क फुडमा जिन्दगी गुजारीरहेछन। प्लाष्टिकमा प्याकेजिङ गरिएका खानामा गुजारा चलिरहेछ जिन्दगी। क्याल्सियमबिहिन हड्डीमा बाँचिरहेछन। त्यस्ता हड्डी बोकेका मान्छे न उकालो चढ्न सक्छन न बाटो हिड्न सक्छन्। क्यान्सरका कण हावाभरी फैलिएका छन्। खेतभरी फैलिएका छन्। बिषादी नखाने मान्छे भेटिदैनन्। सुगर र प्रेसरले चालिस नकट्दै सताउन थालेको छ। अझ त्यसैमाथि बिजुलीपानी पिउनेहरू, बिजुलीका बल्बजस्तै बनेका छन। बिजुली पानीको असर रहुन्जेल हल्लिरहन्छन, पानीले काम गर्न छोड्यो भने बिजुली निभेजस्तै निभ्छन्। 

त्यतिबेलाका देवुहरूले पहाडको चिसो पानी, स्वच्छ हावासँगै शरीरका लागि  उत्तम ठानिएका खाने कुराको सेवन गरे र त ती बलवान कहलिए।अहिलेका जस्ता अस्पताल र उहिलेका जस्ता देबुहरू भैदिएका भए। ती देबुहरूको जीवनशैली कस्तो हुँदो हो ? आजको जस्तो जमाना र ती अजङ्गको ढुङ्गो उचाल्ने प्रतिस्पर्धा गर्ने मान्छेले अहिलेको जस्तो अवसर पाएका भए देशको झण्डा तिनले पनि फहराउँथे होलान्। भारोत्तोलनमा संसार जितेर फर्किन्थे होलान्। तर, देवुहरूको जिन्दगी त हलो जोतेरै सकियो। हाट बोकेरै सकियो। अज्ञानता र अशिक्षाकै भूँमरीमा लट्पटियो। मात्र कथा छोडेर गए देवुहरू । दुर्भाग्य नै भनोँ तिनै कथा पनि लेखिएनन्। 
 

प्रकाशित मिति: : 2020-01-12 03:20:51

प्रतिकृया दिनुहोस्