चरित्र अनुसारको दृष्टिकोण

लघु कथा 

शहरमा बस्ने दुई मित्र त्यसअघि कहिल्यै नपुगेकाे एउटा गाउँ डुल्न गए। दुबै मित्र गाउँको बाटो हिँडिरहेको बेला विपरीत दिशाबाट सौदर्यले भरिपूर्ण एक नग्न युवती आफूतर्फ आइरहेकाे देखे। 

युवतीले शरीर ढाक्न एउटा कपडा पनि लगाएकी थिइन। उसका सम्पूर्ण अवयव छर्लंङ्गै देखिन्थे। वक्ष, गुप्ताङ जम्मै–जम्मै। सौन्दर्यले भरिपूर्ण भएपनि युवतीकाे शरीर सफा थिएन। धेरै वर्षदेखि ननुहाएको जस्तो देखिन्थ्याे। युवती फत्फताउँदै ती दुबै मित्रको छेउबाट अगाडि निस्किइन्। दुबैले युवतीलाई हेरिरहे।
     
सर्वाङ्ग भएर फत्फताउँदै हिडेकी युवती देखेर ती दुबै मित्रलाई अनुमान लगाउन गाह्राे भएन्, युवती पागल हो भनेर। 

वास्तवमा युवती पागल नै थिइन्। यौवनको संघारमा आउनुअघि  बाैलाइसकेकी थिइन। सद्दे थिई। गाउँकी सबैभन्दा सुन्दर षोड्शी।

उसकाे आमाबाबु केही वर्षअघि गाउँबाट बजारपात गर्न शहर गएका थिए। साम्प्रदायिक हुलदंगा हुँदा उनीहरु मारिए। मर्माहत पार्ने त्याे घटनामा आमाबाबु गुमाउन पुगेपछि उसलाई मानसिक आघात पऱ्यो अनि उसले मानसिक सन्तुलन गुमाइ र बाैलाह भई।

आमाबाबु छाडेर यस संसारमा आफन्त पर्ने उसका कोही थिएनन्। गाउँकी चेली हो भनेर गाउँछिमेकले उसलाई शहरको मनोरोग चिकित्सालयमा लगेर चिकित्सकसँग उपचार पनि गराए। तर ऊ स्वाभाविक अवस्थामा फर्किन सकिन। आज ऊ कलकलाउँदी युवती भएकी छे। षोड्शीपनले छोडे पनि पागलपनले भने छाडेकाे छैन। 

गाउँ छिमेकले उसलाई खान दिन्छन्। लगाउने लुगाफाटा पनि दिन्छन्। तर चेत हराएकी ऊ कहिले लुगा लाउँछे। कहिले लाउँदिन। नांगै हिँड्छे। उसलाई बस्न भनेर गाउँछिमेकले बास बस्ने ठाउँ पनि दिएकै हो। तर ऊ एक ठाउँमा बस्न मान्दिन्। कहिले कहाँ, कहिले कहाँ बस्छे। कहिले भौँतारिँदै एकातिर हिडिरहन्छे। उसको मस्तिष्कमा के रुमल्लिएको हुन्छ कुन्नि? फत्फताउन भने छाडेकी हुँदैन। त्यो फत्फताइमा हुनसक्छ, साम्प्रदायिक घटनासँग उसको विद्रोह छ।
    
ती दुबै मित्रबाट युवती ओझेल भएपछि पहिलो मित्रले दोस्रो मित्रलाई आफूभित्र उब्जिएको उभारसहित सोध्यो,‘क्या ब्यूटी तर पागल। जम्मै देखाएर हिँडेकी। मैले मज्जाले हेरें उसको जम्मै–जम्मै। देखेर मलाई त जोश उठेको। तिमीलाई उसको त्यो देखेर जोश उठेन?’

दाेस्रो मित्रले भन्यो, ‘जोश उठ्नेतिर ध्यानै गएन, उसको दयनीय अवस्था देखेर। उसको नग्न शरीर देखेर यही सोचिरहेको थिए। यौवनको नव वसन्त हेर्न नपाई उसको जीवन कसरी शिशिर भयो भनेर। यस्तो यौवनपूर्ण आयुमा कुनै पनि युवती यसरी नग्न भएर पागल भई हिँड्दिन। उसको जीवनमा कुनै न कुनै दुखद घटना घटेको हुनुपर्छ र ऊ बाैलाही भई। विचरी! म ईश्वर भएको भए। उसको सद्दे जीवन फर्काइदिने थिएँ। तरुनी उमेरमा ऊ नांगै भएर हिँडेकी देख्दा मलाई साह्रै दु:ख लाग्यो।’


 

प्रकाशित मिति: : 2020-01-14 02:27:00

प्रतिकृया दिनुहोस्