निर्माण व्यवसायीको २१औं वार्षिक साधारण सभा माघ ३ र ४ गते

नेपाल निर्माण व्यवसायी महासंघको २१औं वार्षिक साधारण सभा माघ ३ र ४ गते हुने भएको छ।

महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै  भक्तपुरको सल्लाघारी मैदानमा हुने साधारण सभामा देशभरका १५ सय भन्दा बढी व्यवसायीहरुको सहभागिता रहने जनाएको हो।

साधारण सभासँगै भक्तपुर सल्लाघारी मैदानमा महासंघ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, निर्माण व्यवसाय विकास परिषद् र इन्नो रेग इण्डियाको संयुक्त आयोजनामा माघ ३ गतेदेखि ५ गतेसम्म नेपाल बिल्डटेक एक्स्पो २०२० पनि आयोजना हुने महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए।

महासंघले पहिलो पटक आयोजना गर्न लागेको अन्तराष्ट्रिय स्तरको एक्स्पो निर्माण क्षेत्रमा रुची राख्ने व्यवसायीहरुलाई विश्व बजारमा आएका नयाँ नयाँ निर्माण यन्त्र उपकरणबारे अवगत बनाउन उपयुक्त मञ्च बन्ने विश्वास लिइएको उनले बताए।

तीन दिनसम्म चल्ने यस एक्स्पोमा ५ हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको अध्यक्ष सिंहले बताए।

निर्माण उपकरण, इन्टेरियर डिजाइनका सामाग्री, फर्निचर सहित समग्र निर्माण उद्योग र प्रविधिसँग सम्बन्धित १ सय ६० भन्दा बढी प्रदर्शनी कक्षहरु ७० हजार स्क्वायर फिट क्षेत्रफलमा एक्स्पो सञ्चालन गरिने महासंघले जनाएको छ ।

प्रकाशित मिति: : 2020-01-14 23:45:50

प्रतिकृया दिनुहोस्