अमेरिकामा एकल आमाको संघर्ष

अमेरिकामा एकल आमाको संघर्ष

सधै फेसनेवल लुगा कपडामा ठाँटिएर मगमग बास्ना आउने पर्फ़्यूम छर्केर आउने लिनिया (२५), आज कालो रंगको पुरानो टिसर्ट र कालै पाईन्ट अनि निलो रंगको एप्रोनमा मलिन अनुहार लगाएर फ्लोरमा पोचा समाएर उभिएकी छिन्। उनलाई सिनियर हाउस किपरले पोचा लगाउने र भुइ कसरी सफा गर्ने अनि फोहोरहरु कसरी र कतिबेला उठाउने? कस्तो फोहोरलाई कुन-कुन र कस्तो-कस्तो कन्टेनरहरुमा फाल्ने? फ्लोर र बाथरूमहरु टल्काउन कस्तो किसिमको कैमिकल र ब्लिचहरु प्रयोग गर्ने भनेर ब्याख्या गर्दै आफैं गरेर देखाउँदै सिकाईरहेकी छिन्। लिनिया ध्यानदिएर सुनिरहेकी छिन्।

उनी एउटा प्रतिष्ठित निजी अफिसको रिसेप्सनमा तीन वर्षदेखि काम गर्दै आएकी थिइन्। यसै बीचमा एउटा पार्टीमा जाँदा भेटिएका  एकजना युवकसँग ख़्याल ठट्ठामै डेटिङ गर्न थालिन् र उनी कुनै योजना बिना नै गर्भवती हुन पुगिन्। गर्भवती भएदेखिनै बच्चा जन्मनु एकहप्ता अगाडि सम्म काम गरिरहिन्।

जति गाह्रो भए पनि उनी काममा आउनै पर्थ्यो। किनभने वर्षमा पाँच दिन मात्र बिरामी बिदा पाउने कन्ट्रयाक्ट पेपरमा उल्लेख थियो। त्यो भन्दा बढी बिरामी बिदामा परे अफिसले बेहोर्दैन थियो।

उनले बच्चा जन्माउन भनेर तीन महिनाको छुट्टी पाइन्। अहिले उनी तीन महिनाको सुत्केरी बिदा सकेर काममा फर्केकी छिन्। सुत्केरी बिदा बसेर काममा फर्कदा उनले पहिला गर्दै आएको रिसेप्सनमा दिउँसोको सिफ्टमा काम गर्न पाइनन्। किनभने अफिसले अर्कै मानिस भर्ना गरिसकेको थियो। बेलुकाको सिफ्टमा काम गर्न बच्चा सानो भएकाले मिल्दैन थियो। दिउँसोको सिफ्टमा उपलब्ध भएको काम हाउसकिपिङ मात्रै भएकाले त्यो गर्न भनेपछि त्यही भए पनि गर्न थालेको उनी बताउँछिन्।

‘बच्चालाई बेबी सिटिङमा राखेर आएकी छु। दिनको चालीस डलर तिर्नुपर्छ। जागिर खोज्न जाँदा समय लाग्छ। रिफ्रर्रेन्स पनि चाहिन्छ। अन्तर्वार्ता फेस गर्न पनि तयारी थिइन। यता बिल तिर्नुपर्छ। म के गरौं? जे काम अगाडि आयो त्यही गर्नु मेरो बाध्यता हो,’ उनले भनिन्, ‘धन्य भगवान। कमसेकम मेरो रोजगारी त छ। नत्र म यो अवस्थामा के गर्थेँ होला?,’ उनी लामो श्वास तान्दै समालिन्छिन्।

साँझको समय नर्सिङ स्कुलमा रजिष्टर्ड नर्स समेत पढ्दै छिन्, लिनिया। बच्चा पाँच वर्षको हुँदा सम्ममा पढाइ सकेर अस्पतालमा नर्सिंङ जब गर्ने र बच्चालाई राम्रो युनिभर्स्टिमा  पढाउने उनको सोच छ।

उनी उनको सुपरभाइजर एताउता लाग्नासाथ बेविस्टरलाई फ़ेसटाइम गर्न भ्याइहाल्छिन्। ‘मैले पहिलो पटक यसरी बच्चालाई अरुको भरमा छोडेर आएकी। के गर्दै होला भनेर मनमा खुल्दुली भैराख्छ। शरीर यहाँ, मन भने उसैसँग छ। कसरी आठघण्टा बिताएर जाने होला?,’ उनी भन्छिन्।

उनी स्टुडियो अपार्टमेंटमा महिनाको १२०० डलर तिरेर एक्लै डेरामा बस्छिन् र उनका बच्चाको बाबु हप्ता दश दिनमा बच्चा कस्तो छ, भनेर फ़ेसटाइम गर्छन् भने उनी अलिक राम्रो र भरपर्दो ब्वाईफ्रेण्ड कोही फेला पारे अब अर्को एउटा पनि बच्चा पाइहाल्ने र एकैपटक हुर्काइ हाल्ने सोचमा पनि रहेको बताउँछिन्। ‘आखिर बच्चा नै पाउने भए किन ढिला? हैरानी उही हो। खर्च पनि उही हो। एउटै समयमा दुबै हुर्काउने र ढुक्कसँग बस्ने,’ लजाउँदै भन्छिन्।

उनका नजिकका कोही पनि आफन्तहरु अमेरिकामा नभएको उनी बताउँछिन्।

लिनिया जस्तै भेरोनिका (२८), पनि सिंगल मदर (एकल आमा) हुन्। उनकी २ वर्षकी छोरी छिन्। गत महिना एकाबिहानै काममा जाँदै गर्दा बाटो काट्ने क्रममा गाडीले ठक्कर दिएर भाग्यो। उनको दायाँ काँधको हड्डीमा चोट लाग्यो र हातचलाउन नहुने भएकाले एक महिना आराम गर्नुपर्ने भयो।

एक महिना आराम गर्नलाई बिरामी बिदा मिलेपनि वर्षमा पाँच दिन भन्दा बढीको पेमेण्ट नपाउने उनको जब कन्ट्रयाक्टमा थियो। उनी नौ महिनाकी छोरी बेबि सिटिंङमा राखेर काममा आउँथिन्।

उनको बैंक अकाउण्ट बचत खाता केही पनि थिएन। कमाएको पैसा घरभाडा बेबीसिटिङ, मेट्रो कार्ड र ग्रोसरी किनमेलमै ठिक्क हुन्छ। यसरी दुर्घटनामा परेपछि उनलाई सहयोग र सरसापट पत्याउने पनि कोही भएन।

बैंकमा खाता भएको भए क्रेडिट कार्ड हुन्थ्यो र चलाउन पाइन्थ्यो। भेकेसनमा बाहिर हैटि भन्ने देशमा रहेको उनको बच्चाको बाबुलाई फोन गरेर केही रकम सापटी मागेर २० दिन चलाइन्। तर, अब काम नगरी नहुने भएपछि हात कम चलाउने गरेर बेबीसिटिंग गर्न थालेको उनी बताउँछिन्।

‘म एक्लै भएको भए त जसरी पनि चल्थ्यो। तर बच्चा हुँदा धेरै जिम्मेवारी हुन्छ।’

लिनिया र भेरोनिका दुबै आफैं कमाएर खाने, पढ्ने र करियर बनाउने संघर्ष गरिरहेका बेलामा बच्चा जन्माएर हुर्काउन संघर्ष गरिरहेका एकल आमाका उदाहरण पात्र मात्रै हुन्।

अमेरिकामा एकल आमा भन्नाले १८ वर्षमुनिका बच्चा हुर्काइरहेका पारपाचुके गरेका, विधवा र विवाह नगरेकालाई बुझिन्छ।

अमेरिकामा बच्चा जन्माउनका लागि बिहे कुर्नु पर्दैन। ‘आफ्नो शरीर, आफ्नो अधिकार’ भन्ने  कानुनी मान्यता नै भएकाले बिहे नगरी बच्चा जन्माउने चलन स्थापित छ।

बिहे बिनाको बच्चालाई सरकारले वैध रुपमा कानुनी र आर्थिक सहायता गर्छ। यहाँ सबै प्रजनन उमेर र क्षमता पुगेका/भएका महिलाहरू आफूलाई राम्रो लागेको पुरुषबाट निर्धक्क रुपमा आमा बन्छन् र आफ्नो प्रजनन अधिकारको भरपुर उपयोग गर्ने गर्छन्। एक्लै आफ्नो बच्चा हुर्काइरहेका हुन्छन्। जोसँग गर्भधारण गरे पनि खासै पित्रृत्वको खोजी वा उस्को पिताको चिनारी खोज्दै हिंडने झण्झट पनि गर्दैनन्। आमाले बच्चालाई तेरो बाबू यो हो भनेर चिनायो भने चिन्छन्।

बच्चाको अधिकारलाई पनि अमेरिकी संविधान र कानुनले राम्रै संरक्षण गरेको छ। यदि बाबु आमाले बच्चा नहेरेको खण्डमा, अशक्त भएमा, लागूऔषध वा कुनै कारण बस बच्चामा असर पर्ने देखिएमा, घरेलु हिंसा, बच्चाको पालन पोषणमा कमि गरेमा र स्कुल नपठाएको खण्डमा कानुनी कारबाही हुन्छ र सरकारले फोस्टर प्यारेन्टस्लाई जिम्मा लगाइदिन सक्छ। त्यतिबेला बायोलोजिकल प्यारेन्टस्ले बच्चा १८ वर्ष नहुन्जेलसम्म भेट्न समेत पाउँदैनन् ।

अमेरिकामा  बच्चा जन्माएर १६ वर्षको पार्न निक्कै राम्रो आय भएका धनाढ्यहरुलाई पनि फलामको चिउरा चपाउनु सरह हो। आमाले प्राकृतिक रुपमा सुत्केरी ब्यथा लागेर बच्चा जन्माउँदा पनि कम्तिमा पाँच हजार देखि ४० हजार डलरसम्म र अप्रेसन गर्दा बढीमा ७० हज्जार डलरसम्म खर्च लाग्न सक्छ भने  सिंगल मदरहरुले त असाध्यै धेरै संघर्ष गर्नुपर्ने हुन्छ।

एक त गर्भावस्थामा बच्चा पेटभित्र दिनदिनै हुर्कंदै गर्दा स्नेहालु हातले पेट सुम्सुम्याइदिने पनि कोही हुँदैन। बच्चा जन्मेपछि पनि नेपालमा जस्तो बच्चा हेरिदिने परिवार कमैको मात्र हुन्छ भने एकदिन काममा नगए अर्को दिन भोकै पर्ने अवस्था हुन्छ। यहाँ बच्चा जन्मिसकेपछि १६ वर्ष नभएसम्म बाउ, आमा, अभिभावक वा कुनै भरपर्दो मानिस बिना छोड्न नमिल्ने कानुन छ।

हुन त बच्चा जन्मदाको खर्च सरकार, मेडिकेड एवम् गरिबहरुका लागि चर्च, संघ, संस्था लगायत परोपकारी संस्थाहरुले पनि व्यहोरी दिन्छन्। तर यो राज्य पिच्छे फरक हुन्छ। आय हेरेर फुडस्याम्प मार्फत दुध, चिज, अण्डा, पाउरोटी, जुस लगायतका खाद्य वस्तु उपलब्ध गराउने भए पनि आफैंले काम गरेर आफूले रोजेको पसलमा चाहेको खरिद गर्न पाइने लिनिया बताउँछिन्।

पालन पोषण गर्न केही हदसम्म सरकारले सघाए पनि  रेखदेख, हेरबिचार, स्याहार सुसार गर्न र हुर्काउन सजिलो नहुने उनी बताउँछिन्। डाक्टरले दिएको डेट अगाडि नै पेट दुख्न सुरू भएपछि ९११ मा कल गरेर अस्पताल पुगेकी उनी अप्रेसन नगरिकन सुत्केरी भइन् र तीन दिनमा डिस्चार्ज भइन्। हप्ता दशदिन जति ब्वाईफ्रेण्डले लण्ड्री गर्ने र ग्रोसरी सपिंग गरिदिए पनि पकाउने काम आफैले गरिन।

‘बाथरूममा नुहाउन जान पनि बच्चा हेरिदिने कोही हुँदैन। सिंगल मदर हुन त निक्कै गाह्रो छ’, लिनिया भन्छिन् ।

गर्भवति भएदेखि नै सकस सुरु हुने बताउँछिन्, भेरोनिका। खान अरुचि हुन्छ र वाकवाकी लाग्छ। आफ्नो र गर्भको बच्चाको पनि नियमित चेकजाँच हेरबिचार, खानाको बन्दोवस्त र काममा सधै छुट्टि नमिल्ने अर्को समस्या त छँदैछ। जसो तसो नौ महिना पुगेर बच्चा जन्मिसकेपछि पनि बच्चाको डाइपर, स्टोलर इत्यादि गर्दा उतारचढाव नै बढी छ।

‘एउटै कुरा बेलुका कामबाट फर्केर बेबी सिटरकोबाट बच्चाले मुसुक्क मुस्कान दिएपछि भने मेरो थकान र तनाब सबै मेटिन्छ’,उनी भन्छिन् ।

अमेरिकामा त्यसै पनि पैसा कमाई र खर्चपर्चको बारेमा सोच्दा सोच्दै मानिसहरुमा चिन्ता बढिरहेको हुन्छ। त्यसमाथि पनि सिंगल मदरहरुले एक्लै बच्चा हुर्काउदा आईपर्ने आर्थिक भारले झनै चर्को मानसिक समस्या हुन्छ।

साउथ अमेरिकाको पेरु भन्ने देशमा १२ वर्ष अघि  अमेरिकाबाट घुम्न गएका एकजना स्प्यानिस पर्यटकसँग प्रेम विवाह गरेर आएकी  ईरेकितालाई उनको श्रीमानको परिवारले सुरुका पाँच महिनापछि देखि नै मन पराएन। उनी अमेरिकामा यस्तै होला भन्दै बसिरहिन। गर्भवती भइन्। बच्चा जन्मियो र पाँच वर्ष नहुन्जेल  सासु ससुराले माया नगरे पनि श्रीमानले माया गर्थे, शुक्रवार बाहिर रेष्टुरेण्टमा लग्ने, किनमेलका लागि खर्च गर्ने पैसा पनि दिन्थे। उनले काम गरेकी पनि थिइनन्  र पेरुमा शिक्षण पेसा गरेको भएपनि अमेरिकामा के काम गर्ने भनेर समेत उनलाई थाहा थिएन। एक दिन श्रीमानले बानि, व्यवहार मन नपरेको भनि अर्कैसँग अफियर चलाउन थालेकाले अब छुट्टै बस्ने भनेपछि उनी छाँगाबाट खसोजस्ती भइन्। 

सासु ससुराको खप्कि खाए पनि यसरी जीवनमा कुनै दु:ख दिन्न भनेर आमा बासँग कसम खाएर ल्याएका श्रीमानको मन परिवर्तन होला भन्ने कल्पना समेत गरेकी थिइनन्। आमा बाकी एक्ली छोरी उनलाई अमेरिका नजा दु:ख पाइन्छ भन्दा भन्दै उनी बलजफ्ती त्यो पर्यटकलाई विश्वाश गरेर पछि लागेर आएकी थिइन्। उनले झगडा गर्दै भए पनि जसोतसो तीन वर्ष बिताइन् र अहिले सासु ससुराकै घरको बेसमेण्टमा महिनाको नौ सय रुपैयाँ तिरेर बसेकी छिन्।

परिवारका एक्ला छोरा उनका श्रीमानको कुनै दिन बाहिरका अफियरहरुबाट अघाएपछि मन फर्केला भन्ने आशामा छिन् र कुनै उजुरी र डिभोर्स फाईल गरेकी छैनन् र उनले पनि कुनै पुरुषलाई मनपेट दिएकी छैनन्।

उनका बा आमालाई पनि उनको तनावको कुरा सुनाएकी छैनन्। तर बच्चा हुर्काउन उनको कमाईले धौ धौ परेको उनी बताउँछिन्। ‘म र मेरो बच्चाको लागि मेरी सासुले सधैका लागि ढोका बन्द गरेको जस्तो छ। कहिले काहिँ खेल्दै माथिल्लो तल्लामा पुग्दा पनि सासुले ढोका ढ्याम्म लगाउँछिन्। मलाई बदर नगर भन्छिन्। मेरो कमाईले आधा महिना पनि पुग्दैन। बेबी सिटिङनै महँगो छ,’ आँखाभरी आँशु पार्दै भन्छिन्।

‘म अझै एक वर्षसम्म श्रीमानको मन फर्कन्छ कि भनेर कुर्छु। किनकी ऊ मेरो बच्चाको बाउ हो। अनि पेरु गएर मेरो परिवारलाई म र मेरो बच्चाले यतिका वर्ष अमेरिकामा भोगेको सबै दु:ख सुनाउछु र आमासँग दिल खोलेर रून्छु र हल्का हुन्छु,’ ईरेकिता भन्छिन्।

एकल आमाहरुले आफ्ना मनका कुराहरु शेयर गर्ने मानिसको अभावमा नजानिदो तरिकाले आत्मसम्मान, आत्मविश्वासको पनि कमि भइरहेको हुन्छ भने आफ्ना इच्छा चाहानाहरुलाई सबै तिलान्जलि दिनुपर्ने हुन्छ।

राम्रो र माया गर्ने साथिको सबैलाई चाहा हुन्छ नै। तर विभिन्न देशबाट आएका नौ मिलियन मानिस बस्ने न्यूयोर्क सहरमा कसरी यो मानिस ठीक र बेठिक भनेर छुट्याउने भन्छिन्, भेरोनिका। उनी पनि एकजना लक्का जवानसँग छोटो समयमा प्रेममा परेर सँगै बस्न थालेको र गर्भवती भएर सात महिना भएको बेलामा उसको बाहिर देशमा श्रीमती र बच्चाहरु रहेछन् भन्ने थाहा पाएर छोडिदिको बताउँछिन्।

‘यहाँका मानिसहरुको मन मौसम जस्तै परिवर्तन भइरहन्छ। जिन्दगीमा कति आउछन् कति जान्छन्। लेखाजोखा पनि हुँदैन। केही पाइएला भन्ने आशा राखेर कसैसँग सम्बन्ध पनि गरिंदैन। तर म महिला भएको नाताले जेनेरेसन निरन्तता दिनलाई बच्चा जन्माउने जिम्मेवारी पुरा गर्न चाहिँ धेरै गाह्रो रहेछ,’ लिनिया भन्छिन्।

प्रकाशित मिति: Jan 19, 2020 00:20:50

प्रतिक्रिया दिनुहोस