प्रदेश २ मा जन्मने हरेक छोरी अब लखपति हुने !

प्रदेश २ मा जन्मने हरेक छोरी अब लखपति हुने छिन्। मुख्यमन्त्री लालबाबु राउतले चलाएको 'बेटी पढाउ,बेटी बचाउ' अभियानअन्तर्गत छोरी शिक्षा बिमा सप्ताहव्यापी शिविरको बिहीबार शुभारम्भ गर्दै उनले घाेषणा गरे–‘अब प्रदेशमा जन्मने हरेक छोरी लखपति हुने छिन्।’ 

तराई–मधेशमा हुने छोरी प्रतिको विभेद र दाइजोभन्दा शिक्षामा छोरीको पहुँच बढाउन प्रदेशको ८ वटै जिल्लामा यो अभियान सञ्चालनमा ल्याइएकाे मुख्यमन्त्री राउतले जानकारी गराए। सप्ताहव्यापी कार्यक्रममा २०७५ माघ १ पछि जन्मिएका बर्ष भरीका हरेक छोरीलाई १ लाखसम्मको बिमा गरियाे।  

कार्यक्रमअन्तर्गत पर्सा जिल्लाको वीरगञ्ज महानगर वडा १ देखि ७ र १६ नम्बर वडामा मात्र ९० जना बालिकाको बिमा गरिएको मुख्यमन्त्रीका स्वकिय सचिव दिपक यादवले जानकारी दिए। उनका अनुसार प्रदेश भरी ८ सय ४ छोरीको बिमा सम्पन्न भएको छ। पहिलो सप्ताहव्यापी कार्यक्रममा छुटेका तथा अब जन्मने छोरीको अभिभावकले अभियानका जिल्लामा संयोजक अथवा स्थानीय सरकारको सहयोगमा बिमा गर्न सक्ने उनले बताए। 

मुख्यमन्त्री राउतले प्रदेशका प्रत्येक ग्रामिण बस्तीमा बसोवास गर्ने विपन्न, गरिव, असह्य परिवारको घरघरमा पुगेर छोरी शिक्षा बिमाका लागि खाता खोलिने समेत बताए। उनले समाजको अगुवा तथा पहुँच भएका व्यक्तिले शहरमै पुगेर खाता खोल्न सक्ने भए पनि गाउँका विपन्न र दलित समुदायका परिवारले सो सुविधा अब आफ्नै घरमा बसिबसी लिन सक्ने जानकारी दिए। उनले १ लाखदेखी सुरु भएको बिमाको रकम आउँदो दिनमा २० लाखसम्म पुर्‍याउने योजना रहेको पनि बताए।

यसैबीच प्रदेश २ मा छोरीको बिमा गराउने अभिभावकले तीन महिनासम्म निः शुल्क इन्टरनेट समेत पाउने भएका छन्। प्रदेश सरकारले छोरीको बिमा गराउने अभिभावकलाई तीन महिनासम्म निःशुल्क इन्टरनेट प्रदान गर्ने घोषणा गरेको हो। २०७५ साल माघयता जन्मिएका हरेक छोरीको बिमा गराउने बताएको प्रदेश सरकारले ती बालिकाको अभिभावकलाई इन्टरनेट पनि दिने जनाएको हो। 

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र सुबिसु केबल नेट प्रालिबीच भएको सम्झौताअनुसार छोरी शिक्षा बिमा गराउने छोरीका अभिभावकले तीन महिनासम्म निःशुल्क इन्टरनेट पाउने भएका हुन्। छोरीको शिक्षा बिमा अभियानलाई सफल बनाउन सुबिसु केबल नेट प्रालिमार्फत ती बालिकाका अभिभावकलाई तीन महिनासम्म १५ एमबीपिएस गतिको इन्टरनेट दिइने गरी प्रदेश सरकारले सम्झौता गरेको छ।

प्रकाशित मिति: : 2020-01-17 17:07:47

प्रतिकृया दिनुहोस्