सिन्धुपाल्चोकको बाह्रबिसेमा हुलदङ्गा र तोडफोड, प्रशासनद्वारा कर्फ्यू जारी (भिडियो)

दीप सुवेदी

सिन्धुपाल्चोक

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आइतबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म बाह्रबिसे बजारमा कर्फ्यू जारी गरेको छ। बजार क्षेत्र अतिक्रमण गरी बनाइएका टहरा भत्काइएको विरोधमा स्थानीयले हुलदङ्गा र तोडफोड गरेपछि जिल्ला प्रशासन कार्यालयले बाह्रबिसे क्षेत्रमा कर्फ्यू जारी गरेको हाे। 

बाह्रबिसे बजारको पूर्वतर्फ ३०० मिटर, पश्चिमतर्फ भोटेकोशी पुल, उत्तरतर्फ इलाका प्रहरी कार्यालय र दक्षिणतर्फ क्षमादेवी जाने बाटासहितको चार किल्लाभित्र पाँच जनासम्म भेला भएर हिँडडुल गर्न नपाइने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ३ बमोजिम कर्फ्यू जारी गरिएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिइन्।

प्रमुख जिल्ला अधिकारी चेम्जोङले शान्ति सुरक्षामा चुनौती सिर्जना भएपछि कर्फ्यू जारी भएको बताइन्। उनले भनिन्, ‘सुरक्षा थ्रेट बढेपछि कर्फ्यू जारी गरिएको हो। वार्ताका लागि अहिले छलफल भइरहेको छ। सहमति भएमा कर्फ्यू हटाइनेछ।’

सो नगरपालिकाले सडक साँघुरो हुने गरी वर्षौंदेखि सडक मिचेर दायाँबायाँ बनाइएका घरटहरा भत्काउन पटकपटक सूचना जारी गरेको थियो। सूचना अटेर गरिएपछि नगरपालिकाले शुक्रबार डोजर प्रयोग गरी घर टहरा भत्काएपछि सामान्य झडपसमेत भएको थियो।

प्रकाशित मिति: : 2020-01-19 23:56:37

प्रतिकृया दिनुहोस्