जुम्लामा बसेर खस शब्दकाेशकाे निर्माण गर्दै ७५ वर्षीय रमानन्द

उमेरले ७५ वर्ष टेके पनि उनमा उत्साहकाे कमि छैन। अझ उनी मर्नुअघि समाजलाई नयाँ बाैद्धिक उपहार दिएर जान चाहन्छन्। त्यसैले उनी रातदिन मरिमेटेर आफ्नाे अभियान पुरा गर्ने अभियानमा लागेका छन्। 

गाउँघरमा ७५ वर्षकाे उमेरमा प्राय: मानिस मृत्युलाई पर्खेर बसेका हुन्छन्। अझ विकट पहाडी जिल्लाकाे कुरा त अर्कै हुने नै भयाे। तर, जुम्लामा एक यस्ता विद्धान छन्, जाे सबैका लागि प्रेरणाकाे श्राेत बन्न सक्छन्। 

उमेरले ७५ वर्ष टेके पनि उनमा उत्साहकाे कमि छैन। अझ उनी मर्नुअघि समाजलाई नयाँ बाैद्धिक उपहार दिएर जान चाहन्छन्। त्यसैले उनी रातदिन मरिमेटेर आफ्नाे अभियान पुरा गर्ने अभियानमा लागेका छन्। 

उनी हुन्, जुम्ला चन्दननाथ नगरपालिका–१ का रमानन्द आचार्य। जाे पेशाले पूर्वशिक्षक हुन्। उनी यति बेला खस शब्दकाेशलाई बजारमा ल्याउने अभियानमा जुटेका छन्। यसका लागि उनी अनवरत एक दशकदेखि खस शब्द संकलन गरिरहेका छन्। उनले हालसम्म २५–३० हजार शब्द संकलन गरिसकेका छन्। र, उनी शब्दलाई वर्णानुक्रम अनुसार राखेर वर्गीकरण गर्दै अर्थ्याउने काममा जुटेका छन्। उनले ‘अ’ देखि ‘प’ सम्मकाे शब्द पनि टाइप गरि भ्याइसकेका छन्। खस भाषाकाे शब्द भण्डार विशाल छ। 

त्यसैले उनी आफूले गरेकाे काम २५ प्रतिशत मात्र टुँगिएकाे बताउँछन्। बाँकी काम नयाँ पुस्ताले पुरा गर्नेमा उनी ठूक्क देखिन्छन्।

‘कर्णाली भेग आफैमा शब्दकाे भण्डार हाे। भाषा जाेगाउन अहिले देखि लाग्नुपर्छ। नत्र भोलि हराएर जानेछ। भाषा र संस्कृति हराउनु भनेको हाम्रो इतिहास मेटिनु हो,’ उनी भन्छन्।

रमानन्द बाजे आखिर किन लागे त खस भाषाकाे शब्द संकलनमा? याे आफैमा राेचक तथा घाेचक छ। उनकाे परिवारिक पृष्ठभूमि पनि रमाइलाे छ। वास्तवमा १९७४ सालमै जुम्लामा चन्दननाथ भाषा पाठशाला स्थापना भइसकेकाे थियो। त्यहाँ अध्यापन गराउन बाग्लुङबाट हेड पण्डित घनश्याम उपाध्याय आएका थिए। बाहुन भएका कारण उनले बाहुन गाउँमै बस्ने निधाे गरे। र, उनकाे मुकाम रहन पुग्याे रमानन्दकै जिजुबाजेकाे घरमा। 

घनश्याम पण्डितकै प्रभावका कारण बाजे, जेठाबा र बा सबैले पढ्ने अवसर पाए। बाजे त पछि गएर पण्डितै भए। उनैको संगतले आज पनि रमानन्द बाजेकाे परिवारलाई गाउँलेहरु पढेलेखेकाे परिवार भन्छन्। ‘बाजे आफ्नो समयका नामी पण्डित हुनुहुन्थ्याे। राणाकालमा ग्राम पञ्चायतको सदस्य पनि हुनुभयाे,’ उनले सुनाए।

उनीसँग आफू जन्मिदाकाे राेचक प्रसंग छ। ‘मलाई ठूलाे भएपछि अरुले सुनाए, म जन्मिने बेला बा भागेर गुठीचौरको मुरुली गाउँमा लुक्न गए अरे। त्यस बेला छोराछोरी जन्माउनु, श्रीमान् श्रीमतीले अरुका अगाडि बोलचाल गर्नु लाजसरमको कुरा हुन्थ्यो। अग्रजका अगाडि आफ्ना सन्तानलाई समाउनु पनि उस्तै थियो। बा हरिप्रसाद एक महिना घर आएनन्।  छैटी, न्वारान सबै जेठाबाले नै गरे,’ उनले भने। 

यो उनले मात्र हाेइन, सिंगो पुस्ताले भोगेको कुरा हो। उनी दुई वर्षको हुँदा अर्काे अविस्मरणीय घटना घटेछ। ‘त्यस बेला मलाई एउटा रोग लागेछ। त्यो रोग पहिचान हुन सकेन। म मूर्छा पर्ने, ढल्ने, बान्ता गर्ने गर्दो रहेछु,’ जसलाई उनी यसरी वर्णन गर्छन्, ‘टाउको बेस्सरी दुख्ने रहेछ। औषधिको कुनै उपाय भएन। अस्पताल थिएनन्। पाका मान्छेले जे खुवाउ भने त्यही खुवाएछन्, जब एक दिन मरणासन्न हुने अवस्था आयो, जेठाबा दौडिएर बजार पुगेछन्। बजारमा सिताराम महाराज भन्ने जोगी थिए। उनले पिठोजस्तो अलिकति औषधी दिएर भनेछन्– यहि खुवाउनु निको भयो भने ठिकै छ, नत्र मेरो क्या लाग्ने छ? त्यो जेठाबाले अलिकति मलाई खुवाएछन्। केही आमाको दुधका थुनमा र केही मेरो छातिमा लगाइदिए पछि बाँचेछु।’

उनले अन्य घटना पनि सुनाए, ‘बाँच्ने संयोग भएपछि उपाय अनेक लाग्दा रहेछन्। २००७ सालतिर जुम्लामा पशुलाई लाग्ने ठूलो रोग फैलियाे, जसले माहामारीकाे रुप लियाे। मान्छे दुई दिन बिरामी भयो भने मरिहाल्ने। त्यो बेलामा कसैको संगत, स्वासप्रस्वास र हावाको समेत लसपस नहोस् भनि मेरा बाजेले घरभित्रै एक महिनासम्म लुकाएर राखेछन्। रोग थामियो भन्ने विश्वास नहुन्जेल मलाई बाहिर निकालिएन्। परिणाम मलाई केही भएन।’

उनलाई बाजेले नै काखमा राखेर कखरा सिकाएका रहेछन् धुलौटे पाटीमा। उनलाई माया गर्ने जेठा बाकी दुईटी श्रीमती बितिसक्दा पनि कुनै सन्तान भएका थिएनन्। तेस्री श्रीमती बिहे गरेपछि २०१० सालमा एउटा छोरो जन्म्यो।

२०१४ सालमा जेठाबाको छोरो र उनीसँगै बिरामी भए। अन्ततः ऊ मर्‍यो। त्यसबेला घरमा रुवाबासी भयो। जेठाबाले भने, ‘मर्ने मरिसक्यो उसको कुरा छोडेर अब यसलाई बचाऔं।’ सबैलाई सम्झाए पछि रमानन्दकाे उपचारमा लागे। त्यसबेला सिताराम महाराज मरिसकेका थिए तर बजारमा बडाहाकिमका वैद्य थिए। तीनैले दिएको औषधिले उनी बाँचे।

यसरी बाँचेका रमानन्दलाई बाजेहरुले संस्कृत सिकाउनुपर्छ भने। उनलाई संस्कृतकाे शिक्षा बाले दिनुपर्ने भयो। बाले अरुका अगाडि छोरोलाई सिकाउँदा लाज हुने। उतिबेलाका मान्छे त्यस्तो देखे भने खुब गिज्याउने। रमानन्दले पनि बाआमाबीच संवाद भएको कहिल्यै सुनेनन्। बाले एकान्तमा लिएर पढाउन थाले। संस्कृत श्लोक, व्याकरण ग्रन्थ सबै सिकाउने काम उनैले गरे। त्यसले संस्कृत शिक्षामा उनको मोह बढ्यो। 

मालाभिडका यज्ञप्रसाद देवकोटा भाषा पाठशालमा गुरुबा थिए। उनका बुबा मुगुको पाठशालाका गुरुबा। तर गमगडीको औलले उनलाई कमजाेर बनायाे।  उनी ३६ वर्षको कलिलो उमेरमै बिते। यी सबै कारणले पनि होला जेठाबाले नै रमानन्दकाे रेखदेख गरे।

पछि गएर जुम्लाको भाषा पाठशाला र चन्दननाथ मोडेल स्कुल एकै भयो। त्यहीँ उनले अंग्रेजी शिक्षा लिए। यिनै दृष्टान्तले आज उनलाई इतिहास, भाषा, साहित्य, कला र संस्कृतिको जानकार भनि चिनाएकाे छ। यति धेरै कुराको जानकारी भएका उनी जुम्ला खाल्डोमा जिवित मध्ये एक हुन्। अब त उमेर पनि ढल्किसकेको छ। तर उनले जीवनभर गरेको साधनाको एक अंश बाँकी नै छ। त्यो हो उनले विगत एक दशक बढी समयदेखि थालेको नेपालको मूल भाषा ‘खस भाषा’को शब्दकोश लेखनी। जुन अन्तिम चरणमा छ। 

उनले १५ वर्षको उमेरमा बिहे गरे। श्रीमती ११ वर्षकी थिइन्। त्यति बेला सानैमा बिहे गर्ने चलन थियाे। त्यसैले रमानन्दकाे बिहे गर्ने बेला घर्की सकेकाे थियाे। उनको जोडीलाई सबैले जिनो (बढी उमेर) जोडी भन्थे। 

त्यही वर्ष उनका सिमखाडाका मामाले सप्ताह लगाउने तयारी गरेका थिए। वाचक मालाभिडका गुरुबालाई चयन गरिएको थियो। त्यस बेला वाचक निकै कम थिए। जुम्लामा दुई र दैलेखमा एक जना मात्र। कति त दैलेख पुगेर वाचक ल्याउँथे। जसलाई कम्तिमा ६ महिना अघिदेखि नै बुक गर्नु पर्थ्याे। 

बचन दिइसकेपछि मालाभिडका गुरुबा काठमाडौं गए। त्यहाँबाट फागुनको पहिलो हप्ता आउँछु भनेर चिठी पनि पठाए। तर उनी सप्ताह नजिक आउँदा समेत आएनन्। ठूलो आपत पर्‍यो। अब मामाको सप्ताह रोकिने भयो। अरुका अगाडि प्रचार गरिएको ठूलो काम रोकिने भएपछि आफन्त, शुभचिन्तक सबै निराश भए।

एकदिन उनका जेठाबाले वाचन गर्न सक्छस् कि? भनेर रमानन्दलाई पढ्न लगाए। केही दिनकाे अभ्यासपछि उनलाई वाचन गर्ने आँट आयो। जेठाबाले मामालाई भने। मामा आफै आएर उनको जाँच गरे। यसपछि उनी पण्डितको रुपमा पहिलो पटक व्यास आसनमा बसे। कलिलो बच्चो रमानन्द आचार्यको हल्ला भागवत वाचककोे रुपमा जिल्लाभर फैलियो। नानो मान्ठको ख्याति चुलियाे।

भीम प्रसाद श्रेष्ठ, जय बहादुर महत त्यस बेलाका एमपी (मेम्बर अफ पार्लियामेन्ट) पनि सप्ताहमा उपस्थित थिए। हुँनत २०१७ साल पुष एकको घटनाले उनीहरुको पद गुमिसकेकाे थियो तर एकचोटीको एमपी सँधैको एमपी। रवाफ उस्तै। यति बेला जुम्ला विमानस्थल निर्माणको काम भइरहेको थियो। विमानस्थलका कारण बाहुन गाउँका धेरैको सम्पत्ति हरण भयो। आचार्यले नरकको वर्णन गर्ने सिलसिलमा तिनै एमपीलाई बाहुनको सम्पत्ति हरण गर्नेहरु नरक जानेछन् भनेर छेड हाने। उनीहरुले बुझे पनि त्यसलाई अन्यथा लिएनन्। बरु १५ वर्षे कलिलो वाचक केटोलाई मिठो छुवारा दिएर बिदा भए। 

यता वाचकको रुपमा वचन दिने गुरुबा जेठको दोस्रो हप्तामात्र घर आए। उनका जेठाबाबाट सबै कुरा सुनेपछि गुरुबाले आफूले दिएको शिक्षाले काम गरेको भन्दै खुसी व्यक्त गरे। स्याबासी दिए। धाप मारे। त्यही वर्ष गिडिखोलाका मान्छेले सामूहिक सप्ताह लगाए र वाचकको रुपमा उनै नानो मान्ठलाई बोलाए। त्यस वर्ष थुप्रै ठाउँको सप्ताहमा वाचक हुने मौका उनले पाए। जसले उनको उचाई बढायाे। यसपछि उनलाई लाग्याे यति पढाइले पुग्दैन्।  

त्याे बेलासम्म उनले अंग्रेजी तर्फको ६ कक्षा पढेका थिए भने संस्कृततर्फको पहिलाे पाठ, दोस्रा पाठ र त्यस्तै अरु श्लोक मात्र कन्ठ गरेका थिए। अब थप शिक्षा आर्जनको भोक जाग्यो। शैक्षिक योग्यता र सर्टिफिकेट हात लाग्ने पढाइको योजना बनाएर घरमा जिद्दि गरे। जुन माग पुरा पनि भयो।

२०१९ माघमा उनी पढ्न काठमाडौं गए। रानीपोखरी संस्कृत पाठशालमा भर्ना भए र मृगस्थलीमा रहेको योगी नरहरिनाथको आश्रममा बसे। त्यहाँ वातावरण पनि राम्रै थियो तर योगी नरहरिनाथले काठमाडौं महंगो भएकाले बनारस जाने सल्लाह दिए। बनारसमा संस्कृत पढ्नेले नि:शुल्क खान, बस्न पाउँथ्यो। उनले बनारस आउनु भनेर चिठी लेखे। आचार्य पढ्न उतै गए। तर बनारस पुगेपछि उनै योगी नरहरिनाथले त्यहाँ नपढ भनेर पञ्जाब पठाए। त्यहीँ उनले शास्त्री गरे। तर आचार्य पढ्नलाई संयोग नमिल्दा घर फर्किए। त्यसपछि जाने अवसर जुरेन।

‘गनेर भन्दा पञ्जावबाट फर्किएको पनि ५२ वर्ष भइसकेछ। कति पटक जाउँभन्दा पनि संयोग जुरेको छैन। एकपटक पुगिजाउँला भन्ने तर क्या हुने हो थाहा छैन। सोच अधुरै रहने पो हो की?, उनी भन्छन्। 

घर फर्किएपछि उनकाे जागिरे जीवन सुरु भयाे। त्यस बेला राजा रिझाउँने राजनीतिले उनलाई जागिरमा पनि लामो समय टिक्न दिएन। तरपनि उनले राजावादी नेता हरिश्चन्द्र महतसँग मिलेर प्रशासनका कमजोरी औंल्याउने काममा रचनात्मक भूमिका निर्वा गरे।

राजनीति सँधै उस्तै हुँदैन। २०३६ सालमा विचार परिवर्तन भयाे। उनलाई बहुदल ठिक लाग्यो। खुलेर लागेका थिएनन् तर भोट नीलो मतपत्रमा हालेको लिक भयाे। भर्खर जितेको निर्दल, त्यसमा उसकै छत्रछायामा हुर्केर बहुदलमा लागेका उनलाई निर्दलवादीले छोड्ने कुरै भएन। यसले उनलाई केही समय भूमिगत बनायो। यसबीच उनले थुप्रै आर्थिक संकट झेले। 

कुरा हाे, २०३९ कार्तिक तिरको। भाषाबारे शोधका क्रममा जुम्ला पुगेका इतिहास संशोधन मण्डलका प्रमुख महेशराज पन्तले उनलाई भने, ‘मसँग खस भाषाका केही अभिलेख छन् यसलाई प्रकाशित गर्ने र अर्थ्याउने काम गर्नुपर्‍यो। यो काम गर्न योग्य मान्छे तपाईं नै हो।’

धेरै टाढाको मान्छेले आफ्नो भाषा बचाउन भनेपछि उनी घोत्लिए। राजनीतिबाट टाढिएका उनी पन्तसँगै काठमाडौं लागे। यसले उनलाई खस भाषाको संरक्षणको भोक जगाइदियो। यहीँ भोकले नै उनी ३७ वर्षदेखि खस भाषाको संरक्षणमा खटिएका छन्।

विगत एक दशक बढी समयदेखि खस भाषाको शब्दकोश (खसिया आखर) सम्पादन गरिरहेका छन्। त्यस बेला उनलाई साथ दिन केही मान्छे तयार पनि भए। तर उनीहरुले समय दिन सकेनन्। काम गर्नेबेला एक्लाे परे। 

पन्तसँगै काठमाडौं गएका उनले २०४२ असोजसम्म नेपाल रिसर्च सेन्टरमा खस भाषाको अभिलेख अध्ययन गरे। दशैंमा घर आएपछि जुम्लामै बसेर केही काम थालनी गरे। उनी भन्छन्, ‘पूर्ण रुपमा समर्पित भएर समाज सेवामा लाग्न सकिनँ, घरव्यवहारले थिच्यो। २०४५ सालमा चन्दननाथ माविमा नेपाली शिक्षक खाली रहेकोले पढाउन बोलाइयो। त्यहीँ पढाउन लागें। त्यसपछि काम धिमा गतिमा चल्यो।’

२०६४ चैतमा गुल्मी घर भएका तिलक पौडेल तत्कालीन स्थानीय विकास अधिकारी भएर जुम्ला आए। उनी भाषाप्रेमी थिए। उनले आफ्नो कार्यकक्षमा खस भाषामा लेखेका थिए,‘सक्या सपाड्नु (सपार्नु), नसक्या नबिगाड्नु (नबिगार्नु)।’ 

उनलाई भेट्न पुगेका रमानन्दकाे नजर उनको कार्यकक्षमा लेखिएको त्यही बाेर्डमा गएर अडियो। उनले लामो समयदेखि आफ्नो कामबारेको कुरा खोले। पौडेल निकै सकारात्मक देखिए। उनले तुरुन्तै रमानन्द प्रधान सम्पादक रहेको ‘खसिया आखर सम्पादन मण्डल’ गठन गरि   त्यसको लागि आवश्यक बजेटको पनि व्यवस्था गरे। 

यही अवधिमा बनेको नयाँ संविधान र राजनीतिले संरचनात्मक फेरबदल गर्‍यो। काम प्रभावित भयाे। तर उनले आफ्नो कर्तव्य भुलेनन्। निरन्तर लागिरहे। 

उनको औपचारिक अध्ययन बिएसम्म हो। संस्कृतमा शास्त्री गरे पनि नेपालमा पञ्जाबको समकक्षता नभएकाले उनले त्रिभुवन विश्वविद्यालयबाट प्राइभेट जाँच दिँदै बिए सकाए। शिक्षक हुँदा स्वाध्यनलाई बढी ध्यान दिए। त्यसमाथि पन्तले जगाइदिएको भाषाबारेको भोक मेटाउन बाँकी नै थियो। यहीबीच सिंजा साम्राज्य र सभ्यताको मसिनो अध्ययन गरे। स्थानीय कला, संस्कृति, रीतितिथी सबैमा उनको पकड बलियो भयो। सोझासाझालाई राजनीति नफाप्ने ठानेर टाढिएका उनी अध्ययन अनुसन्धानमा लागे। आज उनको छबि त्यसकै उपज हो।

२०६५मा शिक्षकबाट अवकाश भएदेखि उनी शब्दकाेश तयार पार्ने अभियानमा दत्तचित्त भएर लागेका छन्। आज पत्रपत्रिकादेखि बौद्धिक व्यक्तित्व सबैको लागि उनी बलियो स्रोत बनेका छन्। उनको सिंगो परिवार हिलोमा फुल्ने कमलको फूल जस्तै हो। बाहुन गाउँका भएपनि उनको गाउँमा पढेलेखेका मान्छे निकै कम छन्। 

केही पत्रपत्रिकामा उनका लेख पनि छापिएका छन् तर व्यवस्थित रुपमा संकलन छैन। उनी आफू व्यवस्थित हुन नसकेकोमा पश्चताप गर्छन्। भन्छन्, ‘सुनाउनलाई जति भएपनि देखाउनलाई केही छैन।’ तर उनले सुनाउने केही स्मरणीय घटना छन्। त्यसमध्ये पहिलो हो छुई प्रथा सुधार गर्न खेलेको भूमिका। जुन समाज सुधारको सानो प्रयास थियो। मनुस्मृतिमै चतुर्थाहेन शुद्य्धति’ लेखिएको हुनाले ५ देखि ७, ८ दिनसम्म बार्ने चलनलाई ३ दिन सम्म बारेपनि चौथो दिन नुहाएर घर पस्ने बनाए। यो हालसम्म कायम छ।

यसबाहेक स्वावलम्वन विकास केन्द्रको पहलमा उनी सम्मिलित भएर एउटा सानो सहकारी खोले। त्यसमा ४० जना सदस्य थिए। किसानले साना तिना आर्थिक गतिविधि गर्न सक्ने उद्धेश्य राखेर अरु सहकारी पनि मिलेर चन्दननाथ नौमुडे सहकारी संस्था खोले। जसले राम्राे काम गरिरहेकाे छ। 

रमानन्द २०३७ देखि ०३९ सम्म नेपाल रेडक्रस जुम्ला शाखामा अध्यक्ष भए। शिक्षक हुँदा मन्त्रालयबाट ‘शिक्षा सेवा पुरस्कार’ बाट सम्मानित भए। लामो समय भाषा साहित्यको विकासमा लागेका उनलाई २०७५ असाढमा संस्कृति मन्त्रालयले ‘सामाजिक सेवा पुरस्कार’ बाट पनि सम्मान गर्‍यो।

प्रकाशित मिति: : 2020-01-20 05:50:21

प्रतिकृया दिनुहोस्