पितृसत्ताको 'प्रसाद' एकथान मन्त्री थापेर महिला सशक्तिकरण हुन्छ ?

पितृसत्ताको 'प्रसाद' एकथान मन्त्री थापेर महिला सशक्तिकरण हुन्छ ?

नेपालमा Women’s Rights भनेकै INGOs ले फन्डिङ गर्ने बिषय र गरुन्जेल मात्रै हो। तीतो रुपमा भन्नुपर्दा, दुधभात ख्वाएर पालेको ढेडु जस्ता NGOs र त्यसका प्रमुख पाल्ने काम INGOs ले गरेकै छन्; भोलि पनि गर्छन्। त्यति भए पुगेन र ?

भाड मे जाए IMPUNITY !

यो भनाइ हो, 'हजुरआमाका कथा' फेमकी लेखिका अमृता लम्सालको । 

यही कुरा एकजना पुरूषले लेखेको भए नारी अधिकारकै नाममा उसमाथि सत्तोसराप भैसक्थ्यो । तर, यो सत्य ओकल्ने एक सचेत आलोचनात्मक चेत भएकी महिला लेखिका भएकाले त्यस्तो उपद्रो केही भएन। बरू, नोट अफ डिसेन्ट नै सही, एउटा सत्य नजीरका रूपमा दर्ता भयो।

यो पंक्तिकार यही कुरालाई शिवमाया प्रकरणसँग जोडेर अर्को कोणबाट लेख्ने अनुमति चाहन्छ।यो आलेख शिवमायाकारिताको विलोममा लेखिदै आएको नोट अफ डिसेन्टको नयाँ श्रृङ्खला हो।

पछिल्लोपटक शिवमायाकारिताको विलोममा लेख्दा उनले पितृसत्तालाई सत्तोसराप गर्दै उपसभामुखबाट राजीनामा दिएकी थिइन्। उनले राजीनामा दिएपछि शिवमायाकारिताका शीर्षकहरू यस्ता थिए, महिला भएकैले शिवमायालाई सभामुख हुन दिइएन, स्यावास शिवमाया, तिमीले पितृसत्तालाई एक धक्का दियौ, जनजाति एकल महिलामाथि पुरूषसत्ताको हैकम आदि इत्यादि। दलीय व्यवस्थामा निर्दलीय चरित्र बोकेर एक व्यक्ति शिवमायाका लागि रंगीन भएको थियो नेपाली पत्रकारिता र सामाजिक सञ्जाल। एक किसिमले भन्ने हो भने नेपाली पत्रकारिताको शिवमायाकारिता नै भएको थियो भन्दा पनि हुन्छ।

शिवमायाकारिताको विलोममा यो श्रृङ्खलासम्म आइपुग्दा शिवमाया उनले गाली गरेकै पितृसत्ताको कृपाले नेपालको कानुन न्याय तथा संसदीय मामिला मन्त्री भैसकेकी छिन्।त्यसअघि उपसभामुखबाट राजीनामा दिएर पनि नैतिकताकी मोडल बनाइएकी उनी उपसभामुखको सरकारी निबासमै अड्डी लिएर बसिरहेकी थिइन्। समाजको पहरेदारका रूपमा रहेको शिवमायाकारिताले त्यसलाइ न देख्यो, न सुन्यो। वास्तवमा त्यो एक किसिमको अनैतिक कार्य मात्र हैन, भ्रष्टाचार पनि थियो। 

अहिले त उनी मन्त्री नै भैसकिन्, त्यसैले बास उनको नैतिक भैसक्यो, अनैतिक हुने कुरै भएन। 

व्यक्तिगत रूपमा यो पङ्तिकारको शिवमायाप्रति कुनै आग्रह/पूर्वाग्रह छैन। शिवमाया मेरो लेखनको विषय यसकारण मात्र बनेकी हुन् कि उनी नेपालको महिला सशक्तिकरणकी एक जल्दोबल्दो प्रवृति हुन्। यो पंक्तिकारको एउटै मात्र समस्या,ऊ यस किसिमको महिला सशक्तिकरणको हिमायत गर्न सक्दैन।

एकछिन शिवमायाको राजनीतिक ग्राफ हेरौं। उनले तत्कालिन माले/एमालेको विद्यार्थी संगठन अखिलको राजनीति गरिन्। उम्दा भएर हैन, महिला, जनजातिकै कोटाबाट उपाध्यक्षसम्म भइन्। रामनाथ ढकाल अध्यक्ष हुँदाकी उपाध्यक्ष हुन् उनी। योगेश भट्टराई अध्यक्ष भएपछि उनले अखिलको राजनीति सकिन् । 

त्यसपछि मोरङ फर्किएकी उनी एनजीओ चलाएर बसिन्, एमालेकै एक नेता उर्लाबारीका मेयर घनेन्द्र जिमीसँग विवाह गरेर उतै सेटल भइन् । तर, उनको निधन भयो। त्यसपछि एकल महिला भएकी उनले पीएचडी सकाइन्। मोरङ उर्लाबारीमा विवाह गरेर पुगेपछि उनको विद्या भण्डारीसँग गतिलै उठबस रह्यो। उर्लाबारी मदन भण्डारीको थातथलो रहेको र शिवमायाका श्रीमान् घनेन्द्र जिमी त्यहाँका लोकप्रिय नेता भएका कारण पनि यो सम्बन्ध थप गाढा बनेको थियो । 

घनेन्द्रको निधनपछि शिवमायाको अभिभावक र भर्याङ् दुबै बनिन् विद्या भण्डारी। उनकै लाइनमा पार्टी राजनीतिमा फर्किइन् र ओली-विद्या समूहबाट एमालेको केन्द्रीय सदस्य भइन्।गत निर्वाचनमा उनी आदिवासी जनजाति/महिला क्लस्टरबाट एमाले सांसद बनिन्। एमाले र माओवादीबीच सभामुख र उपसभामुख भागबण्डा लाग्दा उनको भागमा उपसभामुख पर्यो। एमाले र माओवादीबीच एकता भयो, एउटै पार्टीबाट सभामुख र उपसभामुख हुन नपाउने संवैधानिक व्यवस्था भए पनि त्यसबारेमा उनले चुँसम्म बोलिनन्, संविधानलाई कागजको खोस्टो बनाउने एक पात्रका रूपमा लिसो टाँसिएजस्तै कुर्सीमा टाँसिरहिन्। 

जब सभामुखलाई अभियोग लाग्यो। उनले महराले लेखेको राजीनामा स्विकार गरिनन्, आफ्नै शर्तमा लेख्न लगाएर स्वीकृत गराइन्। सभामुख नभएको बेला संविधानमा केही उल्लेख नभएको फाइदा लिदै संसदको अध्यक्षता गरिन्। सभामुखका लागि हलो अड्काएर संसदलाई नै बन्धक बनाइन्। अन्तिममा पितृसत्तालाई सत्तोसराप गर्दै राजीनामा दिइन्। उनको रोष आफू सभामुख बन्न नपाएकोमा थियो। यस क्रममा उनले आफू पार्टी पद्धतिकै कारण तिनै नेताको वैशाखीमा त्यहाँ पुगेको पनि बिर्सिइन्। 

जानेर/नजानेर गरिएका यस्तो सोसल इन्जिनियरिङले मेरिटोक्रेसीको त हत्या गर्छ नै, केही व्यक्तिलाई उप्रीमाथि थुप्री हुँदै जाँदा समावेसिकरणका नाममा ऐजेरूहरू जन्मन थाल्छन्। त्यस्तो ऐेजेरूहरूले आफ्नो भुइँ बिर्सेर संस्था र पद्धति हैन, आफूलाई केन्द्रमा राखेर म जहाँ उभिन्छु त्यहीदेखि लाइन सुरू हुनुपर्छ भन्न थाल्छन्। 

अब प्रश्न उठ्छ- महिला सशक्तिकरण भनेको के हो?  के एकजना महिलालाई लिंगिय समावेसिकरणका नाममा कोट अनकोटको रिजर्भेसनमा राख्दै राष्ट्रपति/सभामुखसम्म पुर्याउने भर्याङ हो यो वा धेरैभन्दा धेरै महिलालाई अवसर दिएर उनीहरूलाई सशक्त बनाउने कुरा हो यो? नेपालमा यो वा त्यो नाममा महिला राष्ट्रपति भैसके, सभामुख भैसके, उपसभामुख भैसके, मन्त्री त कति भए कति? के यसो गरिसक्दा पनि आम महिला सशक्त भए त? एकजना महिलालाई कति पटकसम्म कोटा दिदा चाँहि महिला सशक्तिकरण हुने हो ? 

शिवमायाका हकमा पनि यही लाग्छ र लाग्नु पनि पर्छ। पीएचडी गरिसकेकी एक सक्षम महिलालाई सधैंभरि एकल, जनाजति महिलाकै कोटामा बोकिरहने हो भने त्यो पीएचडीको गरीमा हुन्छ कि हुदैन? 

नेपाली पत्रकारितामा सिण्डिकेट चलाइरहेका केही सदावहार सम्पादकले पत्रकारिताका नाममा शिवमायाकारिता नै गरे/गर्न लगाए । तर दुर्भाग्य, उनीहरूले महिला सशक्तिकरणकी प्रतिमूर्ति र पितृसत्तासँग लड्ने रामवाण ठानेकी शिवमाया अन्तत: पितृसत्ताको प्रसादको रूपमा एक थान मन्त्री थापेर सत्ताको ऐेजेरू बनिन्। के यसैका लागि थियो उनीहरूको शिवमायाकारिता ? उनीहरूले जुन संकथन बनाएर शिवमायालाई बोकेका थिए, उनीहरूको काँध गल्ने काम मात्र भयो। किनकि, उनीहरूको सोसल इञ्जिनियरिङको भुइ नै गिलो थियो।

जानेर/नजानेर गरिएका यस्तो सोसल इन्जिनियरिङले मेरिटोक्रेसीको त हत्या गर्छ नै, केही व्यक्तिलाई उप्रीमाथि थुप्री हुँदै जाँदा समावेसिकरणका नाममा ऐजेरूहरू जन्मन थाल्छन्। त्यस्तो ऐेजेरूहरूले आफ्नो भुइँ बिर्सेर संस्था र पद्धति हैन, आफूलाई केन्द्रमा राखेर म जहाँ उभिन्छु त्यहीदेखि लाइन सुरू हुनुपर्छ भन्न थाल्छन्। 

शिवमायाले पनि शिवमायाकारिताको बलमा पहिला त्यही भनिन् । पछि, आफ्नो स्वार्थका लागि पितृसत्ताको प्रसादका रूपमा मन्त्री पद आच्मन गरिन्। यसरी त न पत्रकारिता हुने हो न महिला सशक्तिकरण; यसरी हुने भनेको बढीमा शिवमायाकारिता मात्र हो । 

प्रकाशित मिति: Feb 22, 2020 08:06:45

प्रतिक्रिया दिनुहोस

सबै