जाऊँ है घुम्न पहिलो पर्यटन गाउँ सिरुबारी

ग्रामीण पर्यटनका पिता क्याप्टेन रुद्रमान गुरुङको परिकल्पना एवं अगुवाईमा सामुदायिक होमस्टे सुविधासहित स्थापित पहिलो पर्यटन गाउँ । 


नेपालको पहिलो पर्यटन गाउँ स्याङ्जाको सिरुबारी हो । नेपालमा होमस्टे सुविधासहित सिरुबारीबाट पचासको दशकदेखि ग्रामीण पर्यटनको अभ्यास थालिएको हो । भारतीय सेनाका रिटार्यड क्याप्टेन रुद्रमान गुरुङको परिकल्पना एवं अगुवाईमा सिरुबारीलाई पर्यटन गाउँ बनाइएको ।

समयसँगै सिरुबारी ग्रामीण पर्यटनको पाठशालाका रुपमा स्थापित भैसकेको छ । 

आँधिखोला गाउँपालिका–१, स्याङ्जामा अबस्थित सिरुबारी (१,६१० मिटर) सुन्दर वस्ती हो । गुरुङ जीवनशैली, संस्कृति र आत्मीयताका कारण सिरुबारीले संसारभर ख्याती कमाएको छ । गाउँमा गुम्बा, संग्रहालय, जंगल, क्याप्टेन रुद्रमान गुरुङको जन्मघर लगायत सम्पदा छन् । 

गाउँ मास्तिरको डहरे डाँडाबाट गुर्जा, चुरेन, धौलागिरी, अन्नपूर्ण, माछापुच्छे«, लमजुङदेखि मनास्लु हिमालसम्मको लामो सृङखला देखिन्छ ।

डाँडामा डहरा ऋषिले तपस्या गरेको गुफा र मन्दिर छन् ।  

क्याप्टेन रुद्रमानको सपना अनुसार विसं २०५४ मा सिरुबारीलाई पहिलो पर्यटन गाउँ घोषणा गरिएको थियो । अचेल गाउँका १७ घरमा होमस्टे सुविधा छ । होमस्टेको एक राते प्याकेजको १२ सय रुपैयाँ तिर्नु पर्छ । 

गाउँको विकासमा पर्यटन व्यवस्थापन समिति,  बुद्ध आमा समूह, बाबा समूह, नव युवा क्लब लगायत गाउँले सक्रिय छन् । गाउँको सरसफाईले सबैलाई मोहित तुल्याउँछ । आफ्नो गाउँलाई कसरी सफासुग्घर राख्न सकिन्छ भन्ने सिक्न समेत सिरुबारी उपयुक्त छ । 

त्यति मात्र होइन, अतिथि सत्कारको सिरुबारी प्याकेज आफैंमा आकर्षक छ । पाहुनालाई गाउँको प्रवेशद्वारबाट पञ्चै बाजा र मालाले स्वागत गर्दै गुम्बामा लगिन्छ । त्यहाँ बुद्ध दर्शनसँगै लामाको आशिबार्द लिएपछि खाजा खुवाइन्छ । घुमफिरको योजना बनाइन्छ । त्यसपछि पाहुनलाई घरघरमा बाँडेर राखिन्छ । साँझ फेरी त्यहिँ सांस्कृतिक कार्यक्रम देखाइन्छ । 

कम्तिमा दुई रात बस्ने गरी यात्रा योजना बनाउनु बेस हुन्छ । सिरुबारीमा पारीवारीक वातावरण पाइन्छ । मिठो खाना र आत्मीय व्यवहार पाइन्छ ।

पर्यटकलाई होटलमा होइन, गाउँलेको घरघरमा बाँडेर राख्दा सबैलाई फाइदा हुन्छ भन्ने क्याप्टेन रुद्रमानको योजना अनुसार सामुदायिक होमस्टेको अबधारणा विकास भएको हो । 

उनले गाउँमा विसं २०४८ सालदेखि पूर्वाधार विकासको अगुवाई गरेर विसं २०५४ असोजमा सिरुबारीलाई पहिलो पर्यटन गाउँ घोषणा गराए । आज सिरुबारीबाट सिक्दै देशभरी होमस्टे खुलेका छन् । 

क्याप्टेनसाप्ले एउटा अनकण्टार गाउँमा पर्यटनको फूल फूलाए । संसारभर सिरुबारीलाई चिनाए । उनले नेपालमा होमस्टेको अबधारणा भित्र्याएको एक दशकपछि मात्र नेपाल सरकारले पर्यटन ऐन ०६५ मा होमस्टेलाई सम्बोधन ग¥यो । अनि उसले विसं २०६७ सालमा होमस्टेको कार्यविधि ल्यायो । 

एउटा तितो सत्य हाम्रो सरकारले क्याप्टेन रुद्रमानको योगदानको कहिल्यै सम्झेन । सरकारले नसम्झे पनि ग्रामीण पर्यटनको इतिहासमा उनको नाम सुनौला अक्षरले लेखिइसकेको छ, कहिल्यै नमेटिने गरी । 

गाउँमा क्याप्टेन रुद्रमानको सालिक छ । ८६ वर्षको उमेरमा १५ फागुन २०७२ मा उनको निधन भएको थियो । तर, उनले देखाएको बाटोमा नेपालका सयौं गाउँहरू हिँडिरहेछन् । आफ्नो सुकर्मले उनी अमर बनेका छन् । 

यसरी पुग्नेः

काठमाडौं–पोखरा २०० किमि, बसमा ६ घन्टा । काठमाडौं–पोखरा हवाई यात्रा २५ मिनेट । पोखरा–कार्कीनेटा–सिरुबारी ६४ किमि । पोखराको पृथ्वीचोकबाट सिरुबारी जाने बस छुट्छन् ।  

सम्पर्क ः

जुम गुरुङ–९८४६१५९३८८
पूर्णबहादुर गुरुङ–९८४६१२२९४६
नरबहादुर गुरुङ–९८४६१७६९९१


 

प्रकाशित मिति: : 2020-02-26 04:32:00

प्रतिकृया दिनुहोस्