कोरोनाको त्रासले नेपालमा पर्यटक घटे पनि मुस्ताङ आशावादी

चीनबाट सुरू भएको कोरोना भाइरसको प्रभाव प्रत्यक्ष रूपमा नेपालको पर्यटन क्षेत्रमा देखिएको छ।

नेपाल घुम्न आउने अधिकांश पर्यटकको पहिलो रोजाई रहेको अन्नपूर्ण पदमार्ग हिजो आज सुनसानजस्तै बनेको छ। यस्तै नेपालका अन्य भुभागसमेत विदेशी पर्यटकहरू शून्य प्राय छन्।

यस्तै पर्यटकको प्रमुख आकर्षणको केन्द्र रहेको मुस्ताङमा विदेशी पर्यटकको चहलपहल केही घटेको छ।

मुस्ताङको लोमान्थाङ दरबार, मुक्तिनाथ, कागबेनी, जोससोम, मार्फा, ठिनी, दामोदर कुण्ड, उपल्लो मुस्ताङलगायतका स्थानमा घुम्न आउने विदेशी पर्यटकको संख्या न्यून छ। यद्यपी नेपाली आन्तरिक पर्यटकहरू बाक्लै मात्रामा देखिएका छन्।

उपल्लो मुस्ताङ भ्रमणका लागि पर्यटकले विशेष अनुमति लिएर जानुपर्ने हुन्छ।   ७ दिनको ट्रेकका लागि पर्यटककले ५०० डलर खर्च गर्ने गरेका छन्। बढी बसेमा त्यस वापत दैनिक ५० डलरका दरले सरकारलाई तिर्नुपर्ने हुन्छ।

यसअघि सन् २०१९ मा ३८८० जना पर्यटककले अनुमति लिएर उपल्लो मुस्ताङ घुमेका थिए। मुस्ताङमा ५७ हजार ५ सय ६५ जना विदेशीले भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय जोमसोम-लोमान्थाङका कार्यालय प्रमुख तुलसी दाहालले जानकारी दिएका छन्।

'गत वर्ष हजारौंका संख्यामा मुस्ताङ आएका पर्यटक यस वर्ष नेपाल सरकारको भिजिट नेपाल २०२० कार्यक्रम भएकाले बढ्ने आशा थियो, तर चीनबाट विश्वब्यापी रूपमा फैलिएको कोरोना भाइरसको त्रासले पर्यटकमा कमि आउने संकेत देखिएको छ', दाहालले भने।

अघिल्लो वर्षमा नेपालीको तुलनामा विदेशी बढि हुने लोमान्थाङका होटलहरूमा यतिबेला केही नेपाली पर्यटकहरू मात्र छन्। उपल्लो मुस्ताङ होटल व्यवसायी संघका कोषाध्यक्षसमेत रहेका होटल व्यवसायी रामबहादुर गुरूङले यतिखेर विदेशी पर्यटकहरू कमै मात्रामा रहे पनि नेपाली पर्यटकले होटल भरिएको जानकारी दिए।

'विदेशीले पनि गरेको बुकिङ रद्द गरेका छैनन्। अझै हामी केही आशावादी नै छौ, विशेष गरी पर्यटकहरु तेन्जी मेलामा आउने हुनाले मेलासम्ममा उनीहरू आउने आशा छ,' उनले भने।

मुस्ताङको तेन्जी मेला विदेशी पर्यटकको रोजाइमा पर्छ। मेलामा लामाहरूले विभिन्न सांस्कृतिक कार्यक्रम देखाउने गर्छन्।

आशा र शान्तिको कामना गर्दै उपल्लो मुस्ताङवासीले मनाउने ऐतिहाँसिक तेन्जी अर्थात् तिजी पर्व लोमान्थाङमा हुने ठूलो मेला हो।

१५ औ शताब्दीदेखि उपल्लो मुस्ताङका विष्ट, लोवा, गुरूङ लगाएतका जातिले एकैठाउँमा मनाउने गरेको पर्वले एँतिहासिक, सांस्कृतिक महत्व बोकेको छ।

उद्योग वाणिज्य संघको अगुवाईमा भ्रमण वर्ष सफल पार्न गरेका विभिन्न तयारी तिब्र पारिरहेका छन्।  पर्यटकका लागि भनेर जोमसोममा प्रवेशद्वार लगायतका केही भौतिक संरचनासमेत पुनर्निर्माण तथा पर्यटकलाई आवश्यक सूचना दिनका लागि जिल्लाभरिका सन्देशमुलक फोटो भिडियो तथा जानकारी संकलन गरेर वेवसाइट निर्माण गर्न बजेट निकासा भइसकेको थियो। तर, कोरोनाको त्रासले सरकारले नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसार तत्काल रोक्ने निर्णयसँगै सबै रोकिँदा समग्र मुस्ताङबासी चिन्तित रहेको उद्योग वाणिज्य संघ मुस्ताङको अध्यक्ष खगेन्द्र तुलाचनले जानकारी दिए।

यसैबीच भ्रमण वर्ष सफल बनाउनलाई आफूले पाँचै स्थानीयतहलाई पर्यटकीय स्थानलाई लक्षित गरी ठाउँ ठाउँमा होर्डिङ बोर्ड राख्न निर्देशन गरेको संघीय सांसद प्रेम प्रसाद तुलाचनले जानकारी दिए।

उनले विश्वव्यापी रूपमा फैलिएको कोरोनाले विदेशी पर्यटक आवागनमा केही समस्या आए पनि मुस्ताङमा आन्तरिक पर्यटक आइरहेकाले यसमा ठूलै असर नपर्ने दाबी गरे।

'विदेशीको संख्यामा केही कमि पक्कै भएको हो। तर, स्वदेशी पर्यटकहरू बढिरहेका छन्,' उनले भने,' हामीले आत्तिइहाल्नुपर्ने अवस्था छैन।'

यस्तै हवाइमार्गबाट मुस्ताङ आउने पर्यटकमा भने कमि भएको जोमसोम विमानस्थलले जनाएको छ। 'पछिल्लो समय मुस्ताङमा हवाई पर्यटकको संस्यामा कमि आएको छ। केही भारतीय पर्यटकहरू मुक्तिनाथ दर्शनका लागि आए पनि अघिल्लो वर्षको तुलनामा कमि भएको जोमसोम विमानस्थलका कार्यालय प्रमुख दिपक विकले जानकारी दिए।

जोमसोममा तारा एयर र समिट एयरले दैनिक उडान भर्दै आएका छन्।

यसैबीच गण्डकी प्रदेश भ्रमण वर्षले विदेशी पर्यटकभन्दा स्वदेशीलाई मुस्ताङ घुम्न प्रोत्साहन गरेको भ्रमण वर्ष सदस्य निरज थकालीले जानकारी दिए।

'संसारभर फैलिएको कोरोना भाइरसको त्रासले गण्डकी प्रदेशका अधिकांश स्थानमा विदेशी पर्यटकहरू केही कमि भए पनि आन्तरिक पर्यटकहरू स्वस्फूर्त रूपमा घुमिरहेका छन्। गण्डकी प्रदेशकै आकर्षण रहेको मुस्ताङमा विदेशी पर्यटक कमि भए पनि हामी आन्तरिक पर्यटकलाई घुम्न प्रोत्साहन गरिरहेका छौ,' उनले भने।

यसैबीच जिल्ला प्रसाशन कार्यालय मुस्ताङले कोरोना भाइसर रोकथामका लागि  ठाउँ ठाउँमा प्रचार प्रसार सामाग्री वितरणमा तिब्रता दिएकाले ढुक्क भएर मुस्ताङ घुम्न आग्रह गरेको निमित्त प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले जानकारी दिए।

 

प्रकाशित मिति: : 2020-03-05 05:10:00

प्रतिकृया दिनुहोस्