कुनै बेला घिनाउने मधेशी महिला च्याउ खेतीबाट मनग्य कमाउँदै (भिडियाे)

कुनै बेला घिनाउने मधेशी महिला च्याउ खेतीबाट मनग्य कमाउँदै (भिडियाे)

कुनै बेला च्याउँलाई गोबरको छाता भनेर खान मन नपराउने मधेशी समुदाय अहिले च्याउँ खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन्। थोरै लगानी र कम मिहिनेतमा छोटो समयमै च्याउँ खेती गर्न सकिन्छ। त्यसैले विगत ५ वर्षदेखी प्रगतिशिल महिला कृषक समुहका महिलाहरु सामुहिक रुपमा च्याउँ खेती गर्दै आइरहेका छन्। तराईमा हिउँदको समयमा विशेष रूपले तयार पारिने कन्ये च्याउँलाई बजारसम्म पुर्‍याउन पनि समुहका महिलाहरू सफल भएका छन्। 

वीरगञ्जस्थित मिथिला नगर–१६ मा भइरहेकाे च्याउँ खेतीबाट वर्षमा ५० देखी ७० हजारसम्म कमाई भइरहेको छ। सामुहिक रुपमा थालेको च्याउँ खेतीले अहिले गृहणी महिला पनि आत्मनिर्भर बन्दै गएका छन्। च्याउँ बिक्री गरे वापत आएको रुपैयाँलाई समुहमा आवद्ध महिलाले आवश्यक्ता अनुसार खर्च गरि बाँकी रुपैयाँ सहकारी खोलेर बचत गर्दै आइरहेका छन्। उनीहरूले शुरुदेखि नै प्रतिकेजी १० रुपैयाँ बचत गर्दै आएका थिए। अहिले ५ वर्षको अवधिमा बचत रकम २० लाख पुगिसकेको छ। 

बचत रुपैयाँ घरायशी कामकाजका लागि समुहमा आवद्ध महिलाले बार्षिक १० प्रतिशतको ब्याजदरमा आलोपालो ऋण पनि लिने गरेका छन्। 

उनीहरू घरायशी कामकाज, बालबच्चाको पढाईलगायत श्रीमानको व्यापारमा सहयोग पुर्या‍उन ऋण लिने गरेको बताउँछन् । 

०६९ सालमा वीरगञ्ज मिथिला नगर–१६ की २५ महिला एकजुट भएर प्रगतिशील कृषक महिला समुह गठन गरेका थिए। ५ वटा डल्लोबाट शुरु गरेको च्याउँ खेती अहिले ७० भन्दा बढि डल्लोमा पुगेको छ।

च्याउँ खानमा स्वादिलो र पोषिलो भएकाले केही वर्षयता तराईतिर च्याउँ खान मन पराउनेको सख्या बढेको छ। जसको फलस्वरुप अहिले यो व्यवसायबाट राम्रो आम्दानी  भइरहेको समुहकी संयोजक सरिता यादव बताउँछिन्। उनी भन्छिन्–‘सुरुमा च्याउँ खेती तराईको तापक्रममा चुनौति पूर्ण काम थियो तर हामीले गर्न सक्छौ भन्ने सोचका साथ समुहको गठन गरि च्याउँ खेतीको सुरुवात गर्‍यौ। मधेशी समुदाय च्याउँलाई गोबर छत्ता भन्ने मात्र बुझ्थे जसकारण यहाँका अधिकांश मानिस खान मन पराउँदैन्थे। च्याउँ कसरी पकाउने र यसको पौष्टिक तत्वको बारेमा पनि अनभिज्ञ थिए।’ 

उनका अनुसार ग्रामिण भेगमा अन्य खेतीका लागी पर्याप्त जग्गा भएपनि शहरी भेगमा बसोबास गर्ने व्यक्तिका लागि खेती गर्न सहज छैन तर च्याउँ खेती गर्नका लागी धेरै ठूलो ठाउँ पनि नचाहिने तथा बेच्नलाई सजिलो भएकाले यसप्रति महिलाको आकर्षण बढेको हो।

पोषण पुनर्स्थापनादेखि सामुहिक खेतीतर्फ

समुहकी संयोजक तथा हालकी कोषाध्यक्ष सरिता यादव वीरगञ्जको नारायणी अस्पतालले पोषण पुनर्स्थापना गृहकी प्रमुख हुन्। उनले नै च्याउँको महत्व दर्शाएकी हुन्। अधिकाशं बालबालिका कुपोषणका कारण पुनर्स्थापना गृहमा आउने भएकाले उनले च्याउँ खेती सस्तो र सहज भएकाले यसतर्फ गृहणी महिलालाई सचेत गराउदै आयआर्जनमा सहयोग पुर्‍याउने योजना बनाइन्। 

जसका लागि उनले पोषण पुनर्स्थापना गृहमै कार्यरत कर्मचारीको साथमा च्याउँ खेतीको बारेमा कृषि विज्ञको साथमा तालिम लिइन्। अस्पतालमा आउने कुपोषित बालबालिकाको अभिभावकलाई च्याउँको महत्व बारे जानकारी दिँदै गइन्। 

तर यति जानकारी स्वस्थ्य समाज निर्माण गर्न पर्‍र्याप्त थिएन। किनभने वीरगञ्जमा त्यसबेला सहजै च्याउँ पाउन कठिन थियो। वीरगञ्जको बजारमा केही पसलमा पाइने च्याउँ त्यसबेला काठमाडाैं लगायतका पहाडी जिल्लामा आयात हुने गर्दथ्यो। जसकारण यादवले महानगरकै टोलमा च्याउँ खेती गर्ने सोच बनाइन्। 

उनी नारायणी अस्पतालमा कार्यरत हुनाले कहिल्लै च्याउको स्वाद नचाखे पनि टोलका महिलाले उनको प्रस्ताव नकार्न सकेनन् । यसरी च्याउँ खेतीका लागि पर्सा जिल्लामा पहिलो पटक च्याउँ खेतीको सुरुवात भयो। 

यादवले  अहिले आएर जिल्लाका ३–४ ठाउँमा च्याउँ खेती भइरहेको सुन्दा आफूलाई खुशी लागेको बताइन्। ‘सुरुमा महिलाहरू आफ्नै घरमा खाएर सकाउने च्याउँ अहिले वीरगंज बजारको माग पुरा गर्न धौ–धौ परेको छ । प्रत्येक वर्ष हिउँदको महिना उत्पादन गर्ने कन्ये च्याउँ अब बाह्रै मासे गर्ने सोच बनाएर आउँदो चैत महिनादेखी दुधेँलो च्याउँको खेती गर्ने तयारीमा छौं,’ यादवले भनिन्। 

सामुहिक च्याउँ खेतीबाट गृहणी महिलामा आएको परिवर्तन

वीरगञ्ज मिथिला नगर–१९ की रेखा मिश्रा विगत २ वर्षदेखी प्रगतिशील कृषक महिला समुहमा आवद्ध छिन्। भारतीमुलकी मिश्रा बुहारी भएर नेपाल भित्रिएपछि उनलाई यहाँको भाषालगायत अन्य कामकाजमा निकै कठिनाई हुने गरेको थियो। तर, समुहमा आवद्ध भएर काम गर्ने मौका पाउँदा अहिले आफ्नो जीवनमा निकै बदलाव आएको उनी सुनाउँछिन्। घरबाट कहिल्यै ननिस्के पनि अहिले च्याउँ खेतीका कारण वडा कार्यालय, महानगरपालिकालगायत विभिन्न कार्यालयसम्म पुग्ने गरेकी छिन्।

समुहमा रहेर च्याउँ खेती गर्नुका साथै यसको बजारीकरणमा पनि सहयोग पुर्या‍उँदैछिन् । समुहमा जम्मा गरेको बचतको पैसालाई उनले समय समयमा आफ्नो २ सन्तानको पढाई खर्चलगायत अन्य काममा श्रीमानलाई सघाउँदै आएको बताउँछिन्। उनी भन्छिन्–‘अहिले च्याउँको माग पहिलेको तुलनामा बढ्दै गएको देखेर काम गर्ने जागर झन् बढेको छ । श्रीमान र परिवारको साथ पनि राम्रै पाएको छु,’ उनले भनिन्। 

सोही समुहकी मुन्नी मिश्रा पनि सुरुवाती दिनमा समुहमा आवद्ध रहेर काम गरेको सुनाउँछिन् । सामुहिक बचतबाट सुरुवात भएको समुह केही फरक गर्ने मनशाय बनाएर कृषि कै तालिम लिएको सुनाउँछिन् । उनी भन्छिन् – ‘च्याउँ खेती मधेशको समुदायमा नौलौ थियो । तत्कालिन कृषि विकास कार्यालयका प्रमुखसमक्ष च्याउँ खेती गर्ने प्रस्ताव राख्दा उहाँ चकित भएर तराईमा कहाँ च्याउँ खेती हुन्छ भनेर जवाफ दिनुभयो। तर हामी गरेर देखाउन सक्छौ भन्ने सोचका साथ अगाडि बढ्यौ र आज हामी सफल भयाैं ।’ 

समुहकी हालकी अध्यक्ष गिता वर्मा समुहबाट आएको बचतको पैसाले समस्या परेको बेला सहयोग पुगेको बताउँछिन्। बिना धितो आफ्नै बचत कम व्याजदरमा लिन पाउँदा महिलालाई अरुको अगाडी झुक्नु परेको छैन। समुहमा आवद्ध एक महिलाले १ लाखसम्म ऋण लिन सक्ने व्यवस्था गरिएकाे छ। जसकारण वर्मा आफूले पनि छोराको ईलेक्ट्रोनिक्सको व्यापारको लागि कर्जा लिएको बताइन्। 

समुहमा मुस्लिम समुदायबाट आवद्ध सायरा खातुन हरेक समुदायका महिलासँग काम गर्न पाउँदा सद्भाव बढेको बताउँछिन्। हरेक वर्ग तथा जातजातिका महिला समुहमा आवद्ध भई उत्पादन तथा बजारीकरण गर्दा एकअर्कामा आपसी प्रेम तथा आत्मीयता बढेको उनी सुनाउँछिन् । उनले भनिन्, ‘धनी र गरिब तथा छुवाछुत जस्ता कुनै प्रकारको भेदभाव छैन। जसकारण मिथिला नगरमा बसोबास गर्ने महिलालाई कुनै समस्या पर्दा आफूहरु एकजुट हुने गर्छौ।’ 

अहिले बारा, पर्सा, रौतहटलगायत तराईका विभिन्न जिल्लामा च्याउँ खेती भएको पाइन्छ।  यो खेती कम लगानीमा सहज र बन्द कोठाभित्र हुने भएकाले अहिले बिशेष गरी महिला कृषक यसतर्फ आकर्षित भएका छन्। स्थानीय तथा प्रदेश सरकार कृषिका विभिन्न निकायमार्फत यि महिलालाई तालिम तथा अनुदान उपलब्ध गराए महिलाहरु कृषि उद्यमीको रुपमा अगाडि बढ्ने समुहकी महिलाको बुझाई छ।  

प्रकाशित मिति: Mar 06, 2020 17:42:22

प्रतिक्रिया दिनुहोस

लकडाउनका सकारात्मक पक्ष
  • अन्नपूर्ण पोष्ट
सबै