बाँकी ३६४ दिन असमानता हटाउने गरी काम गर्नुपर्छ: वाेनिता शर्मा (भिडियाे)

वोनिता शर्मा, २७। बीबीसीले सार्वजनिक गरेको संसारका १०० प्रेरणादायी एवम् प्रभावशाली महिलाको सूची (सन् २०१९) मा परेकी नेपाली युवती हुन्।

उनी ‘द सोसल चेञ्ज मेकर्स एण्ड इनोभेटर्स’ (‘सोचाई’) की संस्थापक एवम् प्रमुख कार्यकारी हुन्। उनले नेतृत्व गरेको संस्था– ‘‘सोचाई’’ ले महिला र बालबालिकाको पोषण र स्वास्थ्य सुधारको क्षेत्रमा काम गर्छ। महिला सशक्तीकरणका लागि काम गर्छ।

आठ महिनाअघि उनले एक सय देशका एक हजार दुई सय प्रतिस्पर्धीलाई उछिनेर ‘लिड २०३० च्यालेन्ज’ पुरस्कार जितेकी थिइन्, जसको राशी ५० हजार अमेरिकी डलर थियो। यस प्रतियोगितामा विश्वभरिका युवाद्वारा दिगो विकास लक्ष्यको प्रगतिका लागि गरिरहेका कार्यहरुको खोजी गरिएको थियो।  

वोनिताले नेतृत्व गरेको संस्था– ‘सोचाई’ले प्रवर्द्धन गरेको पोषण मालाले युनिसेफको एसिया प्यासिफिक युथ इन्नोभेसन च्यालेन्ज–२०१६ पुरस्कार पाएको थियो । 

वोनिताले  जनस्वास्थ्यमा स्नातक र पोषणमा स्नातकोत्तर गरेकी छिन्। उनी आफ्नी आमा लक्ष्मी न्यौपानेको प्रेरणाले सामाजिक क्षेत्रमा क्रियाशील भएको सगौरव बताउँछिन्।

हिजोआज उनले दायाँ हातमा दुइटा मालाका ‘ब्रेसलेट’ लगाएकी हुन्छिन्। दुवै फरक–फरक रंगका छन्। ‘एउटा पोषणसँग सम्बन्धित छ, जसले शिशुको सुनौला हजार दिनको अवधिलाई जनाउँछ। अर्को ‘ब्रेसलेट’ ले चाहिँ महिलाको रजस्वलाको अवधिलाई सम्झाउन सघाउँछ’, उनले आफ्नो हातका फरक–फरक ब्रेसलेटको व्याख्या गरिन्। 

‘सोचाई’ समूहका अभियन्ताले महिलालाई एउटा र किशोरीलाई अर्को (ब्रेसलेट) दिन्छन्। अनि त्यसैअनुसार महिला र किशोरीले आफूलाई आवश्यक दिनअनुसारको पोषण सम्झन्छन्।  महिलालाई शिशुका लागि सुनौला हजार दिनमा कुपोषणबाट जोगाउने उपाय सिकाउँछन्। किशोरीलाई चाहिँ आफ्नो माहिनावारीबारे चेतना जगाउँछन्। 

आठ वर्षअघिदेखि सामाजिक क्षेत्रमा क्रियाशील छिन्– वोनिता। पोषणका माध्यमबाट महिला सशक्तीकरणको कार्यमा क्रियाशील शर्मासँग नारी दिवशका सन्दर्भमा बिएल नेपाली सेवाका लागि ईश्वरी राईले गरेको संवाद।

यो वर्षको नारी दिवस सोसल चेन्जमेकर्स एण्ड इनोभेटर्स (‘सोचाई’) ले कसरी मनाउने योजना बनाएको छ ? 
‘सोचाई’ ले महिला, बालबालिका र किशोरीका लागि काम गर्छ। त्यसैले नारी दिवस हाम्रो लागि विशेष हो। यसका लागि विशेष योजना बनाएका छौँ। हामीजस्तै युवा जमातलाई भेला पारी पोषण तथा सरसफाइबारे छलफल गर्ने योजना छ।

अघिल्ला वर्षहरूमा कसरी मनाउनुहुन्थ्यो ? 
हामी महिला अधिकारका क्षेत्रमा काम गर्छौं। यो दिनले पहिलेदेखि नै हाम्रालागि विशेष महत्व राख्थ्यो। नारी दिवशमा ‘सोचाई’ले ‘परिवर्तनका लागि साहसी बनौँ’ भन्ने सन्देशका साथ सोसल मिडियामार्फत् फोटो भिडियो क्यापेनिङ गरेका थियौँ। 
त्यसबाहेक विभिन्न कलेज तथा महिला समूहमा गएर किशोरीहरुलाई पोषण, स्वास्थ्य र सरसफाइबारे विभिन्न कार्यशाला तथा कार्यक्रमहरुमार्फत् जानकारी गराएका थियौँ। 

हरेक वर्ष ८ मार्चमा नारी दिवश मनाइँदै आएको छ– वर्षौंदेखि। पहिले र अहिले मनाइने नारी दिवसमा केही भिन्नता देख्नुहुन्छ?

नारी दिवशबारे मेरो व्यक्तिगत अनुभव पनि छ। जब म स्कूल पढ्थेँ, त्यसबेला नारी दिवस मेरालागि बिदा हुने दिन मात्रै थियो। अहिले यही क्षेत्रमा काम गर्दै आएँ। महिलाका मुद्दाहरु बुझ्दै आएँ। त्यसपछि मात्र मेरालागि यसले ठूलो अर्थ राख्छ– यो दिन महिलाले विशेष गरी मनाउनुपर्छ। महिलाले सामाजिक–आर्थिक रूपान्तरणमा खेलेको भूमिकालाई बाहिर ल्याउने ठूलो मौका हो। हुन त नारी दिवस एक दिन मात्र मनाउने होइन, ३६५ दिन अर्थात् वर्षभरि मनाउनुपर्ने हो। तर, कतिपय अवस्थामा हामीले समाजमा महिलाका महत्व र महिलाका मुद्दालाई अगाडि ल्याउन पाएका हुदैनौँ। त्यही भएर पहिलेको तुलनामा अहिले मनाउने नारी दिवसले मेरालागि निकै महत्व राख्छ। 

श्रमिक महिलाको पोषणसँग जोडेर नारी दिवश मनाउँदा यसको उपादेयता अझै बढ्ला नि, हैन?
मैले पढेको विषय हो– पोषण। पोषण ‘जेन्डर’ को मुद्दा पनि हो। किनभन, एउटी महिलाको जीवन काल हेर्‍यौँ भने उनले विभिन्न चरण पार गरेकी हुन्छिन्। जस्तै, बच्चा, किशोर, किशोरी अवस्थामा हुने महिनावारी, गर्भवती त्यसपछि सुत्केरी अवस्था र ‘मेनु पज’ अर्थात् महिनावारी सुक्ने अवस्था। महिला विभिन्न अवस्थामार्फत् गुज्ररिन्छिन् भने महिलाको विषयमा पोषणले एकदमै महत्वपूर्ण भूमिका राख्छ। समाज वा आफ्नै घरपरिवारमा हेर्दा पनि थाहा हुन्छ– महिलाको खाना खाने पालो सबैभन्दा पछि आउँछ। यो यथार्थ हो। जसलाई सबैभन्दा पोषणको जरुरी हुन्छ, उनले श्रीमान, ससुरा वा बच्चाबच्चीलाई खुवाइसकेपछि मात्रै खान्छिन्। महिलालाई शारीरिक–मानसिक विकासका लागि हरदम पोषण आवश्यक हुन्छ तर त्योे पाउनबाट महिला बञ्चित भइरहनुभएको छ। महिला र पोषणलाई जोडेर हेर्दा नारी दिवसदेखि एउटा प्रतिबद्धता आउनुपर्‍यो– अन्तिममा खाना खाने महिलाको पालो अगाडि ल्याउनुपर्‍यो। महिलाको पोषणलाई ध्यान दिनुपर्‍यो। 

त्यसो भए त नारीका विभिन्न परिस्थितिमा आवश्यक पोषणबारे पनि चेतना जगाउनुपर्ला नि !
नारीले धेरै ठाउँमा आफ्नो पोषणमा लापरवाही गरिरहेका हुन्छन्। त्यसैले महिलाका लागि कस्तो किसिमकोे पोषणयुक्त आहार खानुपर्छ भनेर दैनिक याद गर्नुपर्छ। यो नै सन्तुलित आहार हो। महिला विभिन्न अवस्थाबाट गुज्रिन्छन्। शरीरमा बेलाअनुसार पोषणले विशेष महत्व राख्छ। महिनावारी हुने समयमा रक्तअल्पता भएका किशोरी एवम् महिलालाई आइरनयुक्त खानेकुराको महत्व हुन्छ– जस्तै सागसब्जी, कलेजो, मासुहरु (अर्गान मिट), जसमा यो प्रशस्त मात्रामा पाइन्छ।

विशेषगरी किशोरीहरू बढ्दो उमेरका हुनाले उनीहरूलाई आइरन र प्रोटिनयुक्त खानेकुरा प्रशस्त मात्रामा दिनुपर्छ। शरीरले आइरन लिनका लागि भिटामिन सीको आवश्यकता पर्छ। त्यसैले जहिले पनि साग खादाँ खेरी गोलभेडाको अचार या कागतीको टुक्रा राख्न बिर्सनुहुँदैन। सुत्केरी महिलाले आफूसँग हुर्किरहेको बच्चालाई दुध खुवाउनुपर्छ। त्यसैले दुध आउन क्याल्सियमयुक्त  खानेकुराहरु– जस्तै तिल, चाकु, ज्वानो, माछामासु, गेडागुडी र झोल खानेकुरा प्रशस्त खानुपर्छ। सागसब्जी र फलफूलमा पनि विशेष ध्यान दिनुपर्छ। यसले सुत्केरी भैसकेपछि छिट्टै तङ्ग्रिन मद्दत गर्छ। कतिपय महिला आफ्नो तौल नबढाउनका लागि खानेकुरा नखाने गर्छन् तर त्यस्तो गर्नु हुँदैन। नियमित रुपमा सन्तुलित आहार खायौँ र बजारिया खानाको सट्टा घरमै राम्रोसँग पोषिलो र सफा हिसाबले खाने होे भने महिलाको स्वास्थ्य अझै राम्रो हुन्छ।

युवापुस्ताले कसरी मनाउँदा अहिलेको भन्दा राम्रो होला?
अहिले महिलाले प्राप्त गरेका सफलता मनाउन कतिले नारी दिवशमा र्‍याली गर्नुहुन्छ। महिलालाई नै बोलाएर लक्षित कार्य गर्नुहुन्छ। अनलाइन–अफलाइन मिडियामार्फत् पैरवी गर्नुहुन्छ। कतिपयले महिलालाई तालिम दिनुहुन्छ। र, कतिले चाहिँ समाजमा एउटा ‘रोल मोर्डल’ को रुपमा स्थापित कथाहरु बाहिर ल्याएर अरुलाई प्रेरित गर्नुहुन्छ। नारी दिवस विभिन्न तरिकाबाट जसरी मनाए पनि यसको उद्देश्य महिलालाई ‘सेलिब्रेट’ गर्ने नै हो। नारी दिवस आफ्नै तरिकाले पनि मनाउन सकिन्छ। जस्तै, घरमा महिलालाई विभिन्न काममा सघाउन सकिन्छ। अफिसमा महिलालाई महिनावारीको अवस्था वा बच्चा भइसकेको अवस्थामा उहाँहरुलाई सुविधा हुने हिसाबले दिने विदाहरुको कुरा हुन सक्छ। महिला र पुरुषबीच हुने विभेद हटाएर नारी दिवश मनाउन सकिन्छ।

नारी दिवस मनाउनै चाहिँ किन पर्‍यो ? सबैले सधैँभरि आ–आफ्नो ठाउँबाट विभेद हटाउने काम गर्ने हो भने त यो तामझाम आवश्यक नै पर्दैन भन्ने लाग्दैन? 
म पनि नारी हुँ। मेरालागि नारी दिवसले विशेष महत्व राख्छ। र, यो मनाउनु पनि पर्छ। हाम्रो विडम्बना ! वर्षको ३६४ दिन लैगिङ्ग हिंसाको शिकार हुनुपर्ने अवस्था छ। महिलालाई दोस्रो दर्जा दिइएको छ। यो सबै हेर्दा नारीले अरु दिनमा पाउनुपर्ने स्थान पाएको देखिँदैन। नारी दिवस मनाउनु त पर्छ तर एकदिन मात्र होइन। बाकीँ ३६४ दिन पनि नारी दिवशको दिनजस्तै असमानता अन्त्य गर्ने गरी आफूलाई क्रियाशील राख्नुपर्छ।

प्रकाशित मिति: : 2020-03-09 01:36:00

प्रतिकृया दिनुहोस्