उपत्यकामा दुई हजार घर धुरीमा कौसी खेती (भिडियो)

सन् २०११ को जनगणनाअनुसार उपत्यकामा सवा छ लाख घरधुरी छन् । जसमा काठमाडौंमा ४ लाख ३५ हजार ५४४, ललितपुरमा एक लाख ९ हजार ५०५ र भक्तपुरमा ६८ हजार ५५७ छन् । तर यो संख्या ८ वर्षपछि बढेर झण्डै ८ लाख कै हाराहारीमा पुगेको छ । अहिलेलाई खाली जग्गाको परिकल्पना छाडौं । ८ लाख घरको २५ प्रतिशत कौशीलाई अनुमानित एक आना जग्गा खाली ठान्ने हो भने ८ लाख आना नै खाली जग्गा हुन आउँछ । अर्थात ५० हजार रोपनी । एक रोपनी जग्गामा उब्जनी गरेको तरकारीले कम्तीमा दश परिवारलाई राम्रोसंग खान पुग्छ । 

हामी उपत्यकाबासीले महंगो मात्रै होइन, बिषैविष भएको तरकारी खाइरहेका छौं । त्यसमा समय खर्च र स्वास्थ्य पनि दिनदिनै खराव पारिरहेका छौं । यसको विकल्प तपाईसंग छ तर त्यसलाई प्रयोग गर्ने तर्फ तपाईको ध्यान गएको छैन् ? वा, समय अभावले ध्यान गएपनि केही गर्न सक्नु भएको छैन् ? 

तपाई कौसी खेती गर्न इच्छुक हुनुहुन्छ तर समय वा जागर छैन् भनेपनि केही छैन् । विकल्पहरु थुप्रै छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतमा रहेको कृषि ज्ञान केन्द्र, ललितपुरले उपत्यकाबासीले स्वस्थकर, अर्गानिक तरकारी खान पाउन भनेर अनुदानमा कौसी खेती सामाग्री वितरण गर्दैछ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामाले काठमाडौं बानेश्वरबाट यसको सुरुवात गरेका छन् । सुरु भएको झण्डै डेढ महिनामा उनले अवलोकन पनि गरेका छन् । मन्त्री लामाले भने । हरेक घरको छतअनुसार आकर्षक कौशी खेती गर्ने हो भने उपत्यकाबासीले तरकारी त बजारबाट किन्न पर्दैन पर्दैनसंगै वायु प्रदुषणबाट भोग्नु परेको पीडाबाट समेत मुक्ति पाउन सकिन्छ ।

केन्द्रका प्रमुख निर्मल गदाल भन्छन्, ‘हामीले अर्गानिक भनेर खाएका तरकारी कतै सर्टिफिकेशन भएका हुदैनन् । तर आफ्नै कौशीमा तरकारी उब्जाउन सक्ने जागर हुने हो भने त्यो शत प्रतिशत अर्गानिक र स्वस्थकर हुनेछ ।’ उपत्यकाबासीको मुख्य समस्या भनेको समय नहुनु । 

गदालका अनुसार धेरै घरधनीलाई आधुनिक कौशी खेती वा माटो रहित कौशी खेतीको ज्ञान छैन् वा भएपनि धेरै कमलाई मात्रै थाहा छ । माटोमा तरकारी रोप्दा घरलाई भार थपिने वा छत फोहोर हुने जस्ता परम्परागत सोँच हटाउन गदाल उपत्यकाबासीलाई अनुरोध गर्नुहुन्छ । 
पछिल्लो समयमा व्यवस्थित, आधुनिक र माटोरहित खेतीबाट मनग्य उत्पादन लिन सकिन्छ ।
 ‘बास्तवमै धुलो, धुवाका कारण कारण उपत्यकाबासी उकुसमुकुस छन् । कंक्रिटको शहरमा हरियाली छैन् । कौशी खेतीले वातावरणमा समेत सुधार गर्छ । वनसपतिले अक्सिजनको काम समेत गर्लाले मानववस्तीलाई कौशी वा शहरी खेतीले निक्कै राम्रो गर्छ ।’

उनको अनुसार सय वटा पोकामा २० थरिका तरकारी तथा फलफूल रोप्ने हो भने त्यसले ५ जनाको परिवारलाई एक मौसमलाई पुग्ने तरकारी उत्पादन दिन्छ । सरदर एक परिवारले मासिक ५ हजारको तरकारी खपत बचाउदा पनि निक्कै सहयोग पुग्ने गदाल बतानुहुन्छ । मानौ ५ सय परिवारले आफ्नो छतमा तरकारी उब्जनी गर्ने हो भने मासिक ५ हजारको दरले जोड्दा मासिक २५ लाख रुपैँया हुन आउँछ । यसो गर्न सक्यो भने उपत्यकामा तरकारीको चाप घट्नुको साथै उपत्यकाबासीको पैसा बाह्य जिल्ला वा विदेशमा पठाउनु पर्दैन ।

कृषि ज्ञान केन्द्रले यस वर्ष २ हजारलाई अनुदानमा कौशी खेती वितरण गर्दैछ । ५० पोकाको व्यवस्थित कौशीलाई सरदर २० हजार पर्न आउँछ । २ हजार परिवारलाई झण्डै चार करोड बरावरको कौशी खेती वितरण गर्दा उपत्यकाबासीले झण्डै एक वर्षमा १२ करोडको तरकारी उब्जनी गर्न सक्छन् । अर्थात आयत रोकिदा यो रकम पनि यही रहन्छ । जसले आयतको भार घट्छ । 

आव २०७६÷७७ को वार्षिक कार्यक्रम सार्वजनिककीकरण तथा पष्ठपोषण संकलन गोष्टीमा कृषि ज्ञान केन्द्र (ललितपुर, भक्तपुर र काठमाडौं) का प्रमुख निर्मल गदाल सहित दिनेश जमरकट्टेल र सिर्जना न्यौपानले गत अशोज ५ गते गरेको एउटा प्रस्तुतीको तथ्याङलाई हेर्दा यी तीन जिल्लामा १८ हजार १४५ हेक्टर जग्गा घडेरी वा बाँझो छ । उपत्यकाबासीलाई अझै ५ लाख मेट्रिक टन खाद्यन्न अभाव नै छ । 

जनसंख्या हेर्दा काठमाडौंमा १७ लाख ४४ हजार, २४०, ललितपुरमा ४ लाख ६८ हजार १३२ तथा भक्तपुरमा ३ लाख छ हजार ६५१ गरी कुल ३१ लाख ६३ हजार २१३ रहेको छ । बाहिरी जिल्लाबाट आएकाहरु त झन् कति कति ? यही तथ्याङ्कलाई हेर्ने हो भने एउटा परिवारले मासिक ५ हजारको तरकारी खपत गर्छन भने मासिक एक अर्ब ६० करोडको तरकारी आयत गर्नुपर्छ । घर भाडामा बस्नेको कुरै छाडौं अहिलेलाई । 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दैनिक झण्डै ५÷६ टन अर्थात साढे ५ लाख केजी तरकारी र ५० हजार केजी फलफूल भित्रन्छ । उपत्यकाबासीले यो जागर गर्ने हो भने आयत प्रतिष्थापन गर्न सहजै सक्ने ठानेर निर्मल गदालले उपत्यकामा कौशी खेतीलाई प्रभावकारी रुपमा लैजान खोज्दैछन् ।

उपत्यकाबासीले आफ्नो घरको कौशीमा मात्रै तरकारी तथा फलफूल बाली लगाउने हो भने ७५ प्रतिशत तरकारीजन्य वस्तु आयत गर्नु नपर्ने हुन्छ । उपत्यका अर्थात काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका २१ वटा स्थानिय तहहरुमध्ये रिङरोड भित्र मात्रै मानव सागर ओइरिएका छन् ।

हुन त ललितपुर र भक्तपुरको मूख्य शहरी क्षेत्रमा पनि नभएका होइनन्, तर यी जिल्लाका वाहिरी भाग अझै पनि कृष योग्य जमिनहरु प्रसस्त छन् । जहाँका किसानले आफ्नो लागि आफै उत्पादन गरिरहेका छन् । झण्डै–झण्डै खान पुग्दो छ । काठमाडौं जिल्लाको उत्तर–पूर्वी भागका बासीले पनि आफ्नोलागि उत्पादन गर्दै आएका छन् ।


कौसी खेती गर्दा अपनाउनुपर्ने मुख्य दश कुराहरु के–के हुन ? 
१  बगैँचा कहाँ निर्माण गर्ने 
छत बगैँचा कुनै पनि प्रकारको भवन, व्यावसायिक वा आवासीय छतमा सिर्जना गर्न सकिन्छ । तपाईंलाई त्यहाँ  चाहिने भनेको छत मात्र हो ।

२  छत बगैँचाको तयारी गर्ने
छत बगैँचाका लागि पहिले वाटर प्रुफ छत आवश्यक पर्छ । यसलाई पानी प्रतिरोधी र रिसावरहित बनाउनुहोस् ताकि भवनले कुनै पनि क्षतिको सामना गर्नु नपरोस्। वाटर प्रुफिङ एक साधारण प्रक्रिया हो र बजारमा विभिन्न वाटर प्रुफ उत्पादनहरु उपलब्ध छन् । तपाईंको आवश्यकता अनुसार एउटा राम्रो उत्पादन छनोट गर्नुहोस् ।

३ बागवानी अब सुरु हुन्छ
साना कदमले ठूलो परिवर्तनका लागि नेतृत्व गर्छन् । सिम्पल स्टेपबाट सुरु गर्नुहोस् र त्यसपछि तपाईंको विचार ठूलो हुन दिनुहोस् । छत बगैँचाका लागि लागि गमला उत्तम हुन्छ । बजारबाट गमला ल्याउनुहोस् वा आफ्नो घरमा भएको कुनै प्रकारको प्रयोगमा नभएको भाँडो खोज्नुहोस् र पुन प्रयोगमा ल्याउनुहोस् । अब ढुङ्गाले गमलाको तल भएको प्वाललाई ढाक्नुहोस् जसले गर्दा माटो बाहिर ननिस्कियोस् तर अनावश्यक पानी बाहिर निस्कियोस् । ठिक मात्रामा माटो, बालुवा र मल मिलाउनुहोस् र गमलामा भर्नुहोस् । माटोमा हल्का पानी हालेर बीउ वा बिरुवा रोप्नुहोस्।

४ विविधता ल्याउनुहोस
यो तपाईंको बगैंचा हो, तपाईंको रचनात्मकता देखाउनुहोस् र केवल बिरुवामा मात्र होइन प्रयोगमा ल्याइने कन्टेनर ९भाँडो० मा पनि भिन्नता ल्याउनुहोस् । पुनः नवीकरण कन्टेनरहरू प्रयोग गरेर यसलाई सही वातावरणमा अनुकूल बनाउनुहोस् । नरिवलका गोला, कोकका बोतल, भान्साको भाँडा, बाँसका टोकरी, प्लास्टिकका बट्टा, फुटेका बाल्टी आदि जस्ता सामानहरु फाल्नुभन्दा अगाडि एकपल्ट सोच्नुहोस्।

५ बिरुवाहरूको छनोट गर्नुहोस
सर्वप्रथम तपाईं जुन कुरासँग परिचित हुनुहुन्छ त्यसबाट सुरुआत गर्नुहोस् । यदि तपाईं तरकारीहरु फलाउन चाहनुहुन्छ भने त्यस्तो तरकारीको छनोट गर्नुहोस् जुन छिटो बढ्छ र धेरै प्रयास गर्न आवश्यक छैन । जस्तै धनियाँ, मेथी, चना, खुर्सानी, पालक, आदि । एकपटक तपाईंले आत्मविश्वास प्राप्त गर्नुभयो भने तपाईं पनि केहि पनि फलाउन सक्नुहुन्छ । तपाईलाई मनपर्ने फलफूल र तरकारीसमेत फलाउन सक्नुहुन्छ। लगभग सबै तरकारी छतमा फलाउन सकिन्छ । यदि तपाईंको छतमा घामको तेज प्रकाश छ भने बाँस र प्लास्टिकले छतलाई ढाक्नुहोस् ।

६ छत बगैँचाबाट ठूलो आशा
यदि तपाईं आफ्नो छत बगैँचाको उचित हेरविचार गर्न तयार हुनुहुन्छ भने, प्रकृतिले तपाईकै पक्षमा इनाम स्वरुप राम्रो वातावरण फर्काउँछ । छतको एक वर्ग्मिटरले एक वर्षमा २५–३० किलोसम्म तरकारी उत्पादन गर्न सकिन्छ । तपाईं एउटा सिजनमा छ वटा विभिन्न प्रकारका तरकारीहरू पनि फलाउन सक्नुहुन्छ । छत खेतीबाट प्राप्त ताजा उत्पादनको स्वाद लिनुहोस्।

७ एउटा छतलाई बगैंचामा परिवर्तन गर्न समय आवश्यक छ
तपाईं आफ्नो कति समय बगैँचामा दिन सक्नुहुन्छ यस कुराले तपाईको छत खेतीको अवस्था निर्धारण हुन्छ । बगैँचा निर्माण गर्न लगभग एक हप्ताको समय लाग्न सक्छ । तपाईं एक महिनामा उपभोग सुरु गर्न सक्नुहुन्छ ।

८ बगैँचाको रेखदेख
बगैंचा स्थापित भएपछि एक घन्टाको समय रेखदेखका लागि प्रशस्त हुन्छ । बगैंचामा काम गर्दा त्यहाँको स्वच्छ वातावरणले हामीलाई एक किसिमको उपचारको अनुभूति गराउँछ । यसको लाभ उठाउनुहोस् ।

९ राम्रो कुरा लागतमा आउँछ
यदि तपाईं सबै सामान किनेर खानुहुन्छ भने तपाईंलाई निकै महँगो पर्न जान्छ । तर छत बगैँचामा तपाईंले एकपटक खर्च गरेपछि ठुलो खर्च आवश्यक पर्दैन । तपाईं अर्को चरणमा आफ्नो बगैंचा विस्तार गर्न पुन प्रयोग गर्न सकिने कन्टेनरहरू प्रयोग गरेर लागत घटाउन सक्नुहुनेछ ।

१० छत बगैँचाको लाभ
छत बगैँचाको सबैभन्दा ठूलो फाइदा यो हो कि जब तपाईंलाई प्रकृतिको आनन्द लिन मन हुन्छ तब छत बगैँचामा जान सक्नुहुन्छ । यसले तपाईंको घरलाई ६–८ डिग्री तापक्रम घटाउन मद्दत गर्छ । त्यसैले एयर कन्डिसनिङ लागतमा ठूलो बचत हुन्छ । यसले भवनद्वारा गर्मीको अवशोषण पनि कम गर्छ र गर्मी र ठण्डादेखि इन्सुलेसनको रूपमा काम गर्छ । तपाईं आफ्नो घरमा ताजा स्वच्छ हावा प्राप्त गर्न सक्नुहुन्छ र तपाईंको छतमा बढेको स्वस्थ र संगठित रूपमा हरियो र ताजा तरकारीको मजा लिन सक्नुहुन्छ ।

प्रकाशित मिति: Mar 13, 2020 15:13:47

प्रतिक्रिया दिनुहोस

लकडाउनका सकारात्मक पक्ष
  • अन्नपूर्ण पोष्ट
सबै