कोेरोना संक्रमणको शंका लागे के गर्ने ? यस्ता छन् सरकारका सल्लाह

कोरोना भाइरस संक्रमण भएको शंका लागेमा अहिलेका लागि जुनसुकै अस्पताल गए पनि हुन्छ। उक्त अस्पतालले विरामीलाई आइसोलेशनमा राख्छ, परीक्षण गर्छ र रोग लागेको प्रमाणित भए निःशुल्क उपचार गर्छ।

देखापढी

काठमाडाै‌ं

कोभिड–१९ को विरामी काठमाडौंमा भेटिएपछि सरकारले देशैभर लकडाउन गरेको छ। अत्यावश्यक प्रयोजनमा बाहेक घरभित्रै बस्न सरकारले सबैलाई अनुरोध गरेको छ । सरकारको निर्देशन नमानी बाहिर निस्कनेलाई पक्राउ पनि गरिरहेछ।

यस्तो अवस्थामा कसैलाई कोरोना भाइरस संक्रमणको शंका लागेमा कसरी उपचार प्रक्रिया शुरु गर्ने भन्ने अन्यौल धेरैमा छ।

कोरोना संक्रमण शंका लाग्दैमा आत्तिइहाल्नुपर्ने अवस्था भने छैन।

नेपालमा अहिलेसम्म कोरोना भाइरसको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौमा मात्रै गरिन्छ। देशभर जहाँसुकै जोसुकैलाई कोराना भाइरस संक्रमण भए, नभएको परीक्षणको लागि खकारको नमूना जनस्वास्थ्य प्रयोगशाला टेकुमा नै लैजानु पर्छ।

विश्व स्वास्थ्य संगठनले टेकुको प्रयोगशाला गुणस्तरीय रहेको तर त्यसको क्षमता तत्काल बढाउनुपर्ने सुझाव दिएको छ। प्रयोगशालाको क्षमता बढाउनको लागि काम भइरहेको स्वास्थ्य मन्त्रालयले बताएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–सचिव एवं प्रवक्ता सागर दाहाल भन्छन्, “अहिले कसैलाई कोरोना भाइरस संक्रमणको शंका लागेमा जुनसुकै अस्पतालमा गए पनि हुन्छ। शंकास्पद लक्षण भएको विरामीलाई उक्त अस्पतालले आइसोलेशनमा राख्छ र खकारको नमूना लिइन्छ। खकार परीक्षणको लागि जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइन्छ। उक्त नमूना परीक्षण पोजेटिभ देखिएमा उक्त विरामीलाई शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुमा लगिन्छ।”

त्यसरी कुनै पनि अस्पतालमा पुगेर आइसोलेशनमा बसेका विरामीको खकारको नमूना ल्याउनको लागि जनस्वास्थ्य प्रयोगशालाले कुरिअर कम्पनीलाई जिम्मा दिएको छ। त्यसकारण, खकारको नमूना विरामी वा उसका आफन्तले लैजानु पर्दैन। अस्पतालले खकारको नमूना लिएर प्रयोगशालालाई जानकारी गराउँछ र प्रयोगशालाले खकारको नमूना लिनको लागि कुरिअर कम्पनीका प्रतिनिधिलाई सम्बन्धीत अस्पतालमा पठाउँछ।

त्यसरी लगिएको खकारको नमूनामा कोरोना भाइरस देखिए त्यस्ता बिरामीलाई टेकुमै लगेर उपचार गर्ने व्यवस्था सरकारले गरेको दाहालले जानकारी दिए।

प्रकाशित मिति: : 2020-03-25 03:50:06

प्रतिकृया दिनुहोस्