लकडाउनकाे रिर्पोटिङ गर्न गएका पत्रकारमाथि प्रहरीले गर्‍याे लाठीचार्ज

वीरगञ्जमा प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिई निर्घात कुटपिट गर्दै दुरव्यवहार गरेको छ। पत्रकार जाकिर हुसैनलाई रानीघाटबाट कुटपिट गरी दुरव्यवहार गर्दै पक्राउ गरेका हुन्।

कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न सरकारले लागू गरेको लकडाउनको बारे रिर्पोटिङ गर्न साँझ हुसैन रानीघाट पुग्दा उनीमाथि प्रहरीले आक्रमण गरेका थिए।

दिनभरी लकडाउनले गर्दा रानीघाट लगायतको एरिया सुनसान बनेको थियो। साँझ भएपछि अतिआवश्यक खाद्यान्न वस्तु किनमेल गर्न स्थानिय घर घरबाट निस्केर रानीघाट चोकमा पुगेका थिए। चोकमा भिडभाड भयो भन्दै स्थानिय प्रहरी चौकीका प्रहरीले सम्झाउनु को साटो अन्धाधुन लाठीचार्ज गर्न थाले।

उक्त बिषयकाे रिर्पोटिङ गर्न पुगेका हुसैनलाई प्रहरी चौकीका प्रहरीहरु लक्षित गरी अन्धाधुन लाठी प्रहार गरेका थिए। आफू पत्रकार भएको परिचय पत्र देखाउँदा समेत केहि सुनवाई नगरी उल्टै कुटपिट गरी दुब्यवहार गर्दै पक्राउ गरेको पिडित पत्रकार हुसैनले बिएल नेपाली सेवासँग बताए।

उनले भने, ‘प्रहरीलाई नकुटन आग्रह गर्दा पनि तीन चार जनाको समूहमा रहेका उनीहरु लछारपछार गर्दै जबरजस्ती प्रहरीको गाडीमा हालेर वडा प्रहरी कार्यालय श्रीपुरमा लगेका थिए।’ कार्यालयका प्रहरी निरिक्षक दिपक साहले घटनामा संलग्न प्रहरीलाई कारवाही गर्ने वाचा गर्दै विना सर्त हुसैनलाई छाडेका हुन्।

यता पत्रकार महासंघका जिल्ला अध्यक्ष श्याम बन्जाराल बन्जाराले प्रहरी निरिक्षक साहले दोषी प्रहरीहरुलाई कारवाही गर्ने प्रतिबद्धता जनाएपछि पत्रकार हुसैनलाई विना सर्त रिहा गरेर ल्याएका बताए।

‘पत्रकारमाथि दुव्र्यवहार हुनु ठाडो प्रेस स्वतन्त्रता माथिको प्रहार हो र यो कुनैपनि हालतमा महासंघलाई सहन हुदैन,’ उनले भने,‘ प्रहरीले आफनो रवैयामा सुधार नल्याए उनीहरु विरुद्ध कडा रुपमा प्रस्तुत हुनेछौं।’

हुसैन न्यूज २४ टिभीका पत्रकार हुन्। उनी नारायणी अस्पतालबाट कुटपिटको घाउँ चेकबजाँच गराई दोषी प्रहरीलाई कारवाही गर्न निवेदन दिने तयारी गरेका छन्।

प्रकाशित मिति: : 2020-03-26 21:46:33

प्रतिकृया दिनुहोस्