कर्णाली प्रदेशमा कोरोना भाइरसको प्रतिकार्यलाई थप तीव्रता दिइने

कर्णाली प्रदेशमा कोरोना भाइरसको प्रतिकार्यलाई थप तीव्रता दिइने

कर्णाली प्रदेशमा कोरोना भाइरसको रोकथाम तथा प्रतिकार्यको कामलाई थप तीव्रता दिइने भएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा विषयगत मन्त्री र सचिवहरुको संयुक्त बैठक बसी हालसम्म भएका कामको समीक्षा गर्नुको साथै आगामी दिनमा प्रतिकार्यको कामलाई तीव्र र प्रभावकारी बनाउने निर्णय गरेको छ।

बैठकमा मुख्यमन्त्री शाहीले विश्वव्यापी रुपमा देखिएको कोरोना संकटको सामाधान सरकारको तात्कालीन प्राथमिकतामा रहेको बताउँदै रोकथाम तथा प्रतिकार्यको कामलाई उच्च प्राथमिकताका साथ अगाडि बढाउन निर्देशन दिए।

विपद व्यवस्थापन कार्यकारी समिति, अनुगमण समिति, आपूर्ति समिति तथा जिल्ला र स्थानीय तहका समितिहरुलाई थप सक्रिय बनाउन र कोरोना रोकथाम तथा प्रतिकार्यलाई थप प्रभावकारी बनाउन पनि निर्देशन गरे।

बैठकले स्वास्थ्यकर्मीहरुका लागि आवश्यक उपकरण, औजार, सुरक्षा सामग्री र औषधि लगायतका सामग्री तत्काल आपूर्तिका लागि संघीय सरकार, निजी आपूर्तिकर्ताहरु, वाह्य आपूर्तिकर्ताहरुलाई अनुरोध गर्नुको साथै सम्भावित सबै उपायहरु अवलम्वन गर्ने निर्णय गरेको छ।

यस्तै बैठकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट जुम्ला, कालिकोट, मुगु, र हुम्ला जिल्ला, चौरजहारी सामुदायिक अस्पत्तालवाट रुकुम पश्चिम, जाजरकोट, डोल्पा र पुर्वी सुर्खेत जिल्लाको कार्यक्षेत्र तोकी जनशक्ति परिचालन गरि गर्न निर्देशन गर्ने निर्णय गरेको छ।

बैठकले प्रतिकार्य योजनाको लागि आवश्यक आर्थिक व्यवस्थापन तथा परिचालनका लागि आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालालाई जिम्मेवारी दिने, प्रदेश राजधानी र जिल्ला र स्थानीय तहमा रहेका क्वारेन्टाईनको समन्वय सहजीकरण गर्न भुमि व्यवस्था तथा कृषि सहकारीमन्त्री विमला केसीलाई जिम्मेवारी प्रदान गर्ने, प्रदेश अस्पत्ताल र जिल्ला अस्पत्तालहरुमा संकास्पद विरामीहरुलाई आईसोलेशनमा राख्ने, उपचार गर्ने र जनशक्ति परिचालन गर्ने कार्यको समन्वयको लागि सामाजिक विकास मन्त्री दल रावललाई जिम्मेवारी दिने निर्णय गरेको छ।

यसैगरी दश वटै जिल्लामा आपुर्ति व्यवस्थालाई प्रभावकारी वनाउन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं वुढाको नेतृत्वमा रहेको समितिलाई थप सक्रिय बनाउने पनि बैठकले निर्णय गरेको छ।

प्रतिकार्य तथा पूर्वतयारीका कार्यहरुमा खटने समिति तथा युनिटहरुको नियमित वैठक, प्रतिवेदन कार्यका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको नेतृत्वमा हेल्प डेस्क सञ्चालनमा ल्याउने र प्रतिवेदन, समन्वय तथा सञ्चारको कामलाई विद्युतीय तथा सामाजिक सञ्जालको माध्यमबाट गर्ने निर्णय पनि बैठकले गरेको सूचना अधिकारी केशव उपाध्यायले जानकारी दिए।

प्रकाशित मिति: Mar 26, 2020 16:18:29

प्रतिक्रिया दिनुहोस

सबै