मजदुरको लगत निकालेर नगरपालिकाले राहत दिने

रासस

लुम्बिनी

कोभिड (१९  को सङ्क्रमण दिनप्रतिदिन बढ्दै गएपछि सिद्धार्थनगर नगरपालिका रुपन्देहीले दैनिक ज्याला मजदूरी गरेर जीविका निर्वाह गर्नेको लगत सङ्कलन शुरु गरेको छ। 

नगरपालिकाको आज बसेको कार्यपालिकाको बैठकले नगरभित्र रहेका मजदूरको वास्तविक तथ्याङ्क सङ्कलन गरेर उनीहरुको परिवारलाई दैनिक रुपमा आवश्यक पर्ने राशनको व्यवस्थापन नगरपालिकाले गर्नेगरी तयारी  थालेको नगर प्रमुख हरिप्रसाद अधिकारीले बताए।

कार्यपालिकाको बैठकले कोभिड १९ को कारण देखिएको विपद्लाई व्यवस्थापन गर्न तत्कालका लागि रु ११ लाख ५१ हजारको विपत् व्यवस्थापन कोष स्थापना गर्ने निर्णयसमेत गरेको छ।  बैठकले उक्त कोष सञ्चालनका लागि नगर प्रमुख अधिकारी संयोजक रहेको नौ सदस्यीय समिति पनि गठन भएको छ।
 
 कोषमा नगरप्रमुखले व्यक्तिगत रुपमा रु २१ हजार, उपप्रमुखले रु १५ हजार र सबै वडाध्यक्षले रु एक हजारका दरले १३ वडाबाट रु १३ हजार सङ्कलन भइसकेको छ। 

बैठकले नगरमा खाद्यान्न, तरकारी, दूध औषधिलगायत अत्यावश्यक वस्तु जनतालाई सहज रुपमा पु¥याउन प्रत्येक वडामा वडाध्यक्ष र सदस्यलाई समन्वय गर्ने जिम्मेवारीसमेत दिएको नगरका सूचना अधिकारी देवप्रसाद ज्ञवालीले बताए।

सीमामा अलपत्र परेका क्वारेन्टाइनमा 

 लकडाउनको कारण बुधबार बिहानदेखि सुनौलीमा अलपत्र परेका २९ नेपालीलाई नेपाल प्रवेश दिइएको छ। 

उनीहरुलाई भारतीय सुरक्षा अधिकारीसंँग समन्वय गरी नेपाल ल्याइएको र  क्वारेन्टाइनमा पठाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहदेव पन्थले बताए।

उद्धार गरिएकामध्ये यद्योदय दूधनाथ थारु बहुमुखी क्याम्पस फर्साटिकरमा ११ जना राखिएको छ। शुद्धोधन गाउँपालिकाले निर्माण गरेको उक्त क्वारेन्टाइनमा उनीहरुलाई १४ दिनसम्म राखिने गाउँपालिकाका प्रवक्ता राजेन्द्र कँडेलले बताए।

 यसैगरी तिलोत्तमा नगरपालिकाको दुर्गादत्त मावि शङ्कर नगरमा बनाइएको क्वारेन्टाइनमा १० जनालाई राखिएको छ। २५ जनाको क्षमता रहेको उक्त क्वारेन्टाइनमा सरकारको मापदण्डानुसार सबै व्यवस्थापन नगरपालिकाले गरेको नगरका प्रवक्ता सुरेन्द्र श्रीले बताए। 

सुनौलीमा अलपत्र परेकामध्ये आठलाई जनता मावि अमुवामा राखिएको छ। उक्त विद्यालयमा सियारी गाउँपालिकाले क्वारेन्टाइन निर्माण गरेको गाउँपालिका अध्यक्ष अयोध्या चौधरीले बताए।

प्रकाशित मिति: : 2020-03-27 09:42:15

प्रतिकृया दिनुहोस्