तंग्रदै चीन, आशावादी विश्व

कोरोना भाइरसको त्रासदीले विश्व त्राहिमाम भएको बेला सबैलाई आशा जगाउने एउटा समाचार बाहिरिएको छ। त्यो समाचार हो, कोरोना भाइरसको पहिलो लक्षण देखिएको चीनको हुवेई प्रान्तस्थित उहान विस्तारै तग्रिदै गएको। कोरोनाका कारण अन्य देशहरूले आफ्नो नाका बन्द गरिरहेको बेला यो शहरले अन्य प्रान्तलाई जोड्ने नाका खोलेको छ। 

चिनियाँ जनता अहिले कोरोना भाइरसविरूद्ध करिब तीन महिना लामो युद्ध जितेको सुखानुभूत गरिरहेका छन्। कोरोना भाइरसको संक्रमण घट्दै गएर लगभग शुन्यको अवस्थातर्फ गइरहेको अनुभूतिका बीच चिनियाँ जनताहरू पुरानो ‘लाइफ स्टाइल’ तर्फ फर्किन थालेका छन्। 

हुवेई प्रान्तको अर्को शहर छियानिङमा बिहीबार स्थानीयहरू मास्क लगाएर बाटोमा निस्किएको र आइसक्रिम खादैँ एकअर्कासँग गफिरहेको भेटिएका थिए। मानिसहरू दैनिक उपभोग्य वस्तु फलफुल र तरकारी किनिरहेका देखिन्थे। जहाँ कपाल काट्ने सैलुन र मोटरबाइक मर्मत गर्ने ग्यारेज पनि खुलेका थिए। 

हुवेई प्रान्तको राजधानी उहान शहर कोरोना भाइरसको पहिलो ‘इपिसेन्टर’ मानिन्छ। जहाँ बुधबारदेखि नै १ सय १७ सार्वजनिक यातायात दौडिन सुरु गरेका छन्।

बिहीबारसम्म देखिएको ६७ वटा संक्रमणको घटना आयातित भएको राष्ट्रिय स्वास्थ्य आयोगले बताएको छ। यसअघिको ४७ वटा घटना पनि बाहिरबाट आउनेहरूले लिएर आएको बताइएको छ। बिहीबारसम्म ८१ हजार २ सय ८७ संक्रमणको घटनामध्ये ३ हजार २ सय ८७ को मात्र ज्यान गएको छ। यसमा ७४ हजार ५१ स्वास्थ्य लाभ गरेर घर फर्किसकेका छन्। 

छियानिङ शहरमा केही महिलाहरू पसलको बाहिर बसेर आफ्नो साना नानीहरूसँग मास्क लगाएर खेलिरहेका भेटिएका थिए। ‘लक–डाउन खुला गर्दा केही राम्रो पनि भएको छ, केही खराब पनि,’ चेन नाम बताउने एक महिलाले भनिन्, ‘धेरै मानिसहरू बाहिर निस्किँदा यसले जोखिम पनि बढाउने छ। हुवेईको अवस्था निकै डरलाग्दो थियो। म करिब दुई महिना घरमै गुम्सिएर बसेँ। त्यो नै सुरक्षित थियो।’

पछिल्लो समय उहानमा खतराको अवस्था पाँच प्रतिशतमा झरेको औषधी विज्ञ क्यु हाइबीले बताए। पछिल्लो समय विदेशमा पढ्न बसेका चिनियाँहरूले संक्रमण भित्र्याइरहेको उपविदेश मन्त्री ल्यु झाहुईले बताए। ‘हामीले बुझेका छौं, विदेशमा पढिरहेका केही विधार्थी घर फर्किन आतुर छन्। तर अहिलेको अवस्थामा आतुर गरेर घर फर्किदा संक्रमण फैलिने सम्भावना पनि उत्तिकै छ,’ उनले भने।

अहिले चीनले संक्रमणलाई रोक्न विदेशबाट आएको आफ्ना नागरिकलाई कडा अनुशाषनका बीच क्वारेन्टाइनमा राख्ने र आवश्यक सबै अनुसन्धानको प्रक्रिया पुरा गरेपछि मात्र छोड्ने गरेको छ। चीनमा दैनिक संक्रमणको अवस्था घट्दो स्थितिमा छ।  
 

प्रकाशित मिति: : 2020-03-27 18:15:00

प्रतिकृया दिनुहोस्