गन्धर्वलाई रोगभन्दा भोकको चिन्ता (भिडियाे)

अछुत कोपिला

काेहलपुर

प्रदेश नम्बर ५ को बाँके जिल्लामा करिब सात सयको संख्यामा लोपउन्मुख गन्धर्व समुदाय बसोबास गर्छन्। जिल्लाका आठ स्थानीय मध्ये सबैभन्दा बढी कोहलपुर नगरपालिकामा भूमिहिन र सुकुम्बासीका रुपमा गन्धर्व समुदाय बसोबास गर्दै आएको छ।  

कोहलपुरमा मात्रै १ सय ५० घरधुरी  खोला तथा जंगल क्षेत्रमा बसोबास गरिरहेका छन्। सारंगी रेट्ने र ज्याला मजदुरी गरेर जीवनयापन गर्दै आएका उनीहरु कोरोना भाइरसबाट बच्न आह्वान गरिएको लकडाउनको प्रत्यक्ष मारमा परेका छन्। उनीहरुको दैनिक समेत ठप्प भएको छ।  

अर्काको ज्याला मजदुरी गर्ने, बजारमा समान लोड–अनलोड गर्ने तथा सारंगी रेटेर जहान परिवार पाल्दै आएका गन्धर्व समुदायमा कोरोना त्राससँगै लकडाउन हुँदा बिहान  साँझ के खाने भन्ने चिन्ता छ। लकडाउन बढ्दा उनीहरुको दैनिकी झन् कष्टकर बन्दै गएको छ। 

दैनिक मजदुरी गरेर आठ जनाको परिवार पाल्दै आएकी कोहलपुर–११ गन्धर्व बस्तिकी माया परियारले कोरोना भाइरस लागे–नलागे पनि आफूहरुलाई भोकको चिन्ताले सताउन थालेको  बताइन्। 

‘हामी काम गरेर खाने मान्छे, छोराछोरीलाई के खुवाउने समस्या भयो।  केही दिन आफन्तबाट पैँचो मागेको चामलले चलाएकी थिए। त्याे पनि सकियो। को सँग माग्ने?,’ उनले भनिन्, ‘हामी अब के गरेर खाने? काम गरेर छाक टारिन्थ्यो। त्यो पनि बन्द भयो। छोराछोरी कसरी पाल्ने आफू कसरी बन्च्ने?’ 

उनले  कोरोना रोगले भन्दा पनि भोकले मरिन्छ कि जस्तो लाग्दै गएकोमा दु:खेसो पोखिन्। 

लकडाउनसँगै बजार बन्द हुँदा गन्धर्व समुदायले काम नपाएपछि छाक टार्न समस्या भएको दलबहादुर गन्धर्वको भनाई छ। गन्धर्व समाजका अध्यक्ष समेत रहेका उनले ज्यालादारी श्रम नै आयआर्जनको मुख्य स्रोत भएकाले लकडाउन पछि निकै कष्टकर जीवन भोग्नु परेको बताए।  

‘नुन, तेल, चामल  खाने कुराको नाममा केही छैन। स्थानीय सरकारले अहिलेसम्म कूनै चासो दिएको छैन,’ उनले भने, ‘अरु ठाउँमा त राहत बाँडेको सुनिन्छ। खै हाम्रोमा त के गरिरहेको छ, स्थानीय सरकार? उधारो कसैले पत्याउदैन। काम नहुँदा पत्याउनु पनि कसले? भोकमरीले पर्ला जस्तो भइसक्यो।’

माया र दलबहादुर मात्रै होइन, अटो रिक्सा चलाउने  युवा रुपचन्द्र गन्धर्वको पीडा पनि उस्तै छ। दैनिक ३ जनाको परिवार अटो रिक्सा चलाएर  पाल्दै आएका उनी अहिले बिहान खाए बेलुका के खाने भन्ने चिन्तामा छन्। विश्वव्यापी फैलिएको कोरोना भाइरसबाट बच्न मुलुकभरि लकडाउन गरिदा त्यसको प्रत्यक्ष मार ज्याला मजदुरी गरेर जीविका चलाउने परिवारमा परेको  सुकुम्बासी बस्तीका अगुवा लालबहादुर राना बताउँछन्। उनी भन्छन्, ‘म प्रेसरको रोगी छु। औषधि खाइरहेको छु। यति बेलै के खाने भइसक्यो। यो अझै लम्बियो हामी रोगले भन्दा पनि भोकले मर्छौं कि भन्ने डर लाग्न थाल्यो।’  

स्थानीय सरकारले राहत बाँड्न नसकेकाे उनले बताए। रानाका अनुसार सुकुम्बासी गन्धर्व बस्तीमा अहिलेसम्म कसैले  मास्क, साबुन वा खानेकुरा केही पनि बाडेका छैनन्।  कोरोना भाइरसको उच्च जोखिममा यहाँका गन्धर्व र सुकुम्बासी रहेको उनको भनाई छ। 

आर्थिक रुपमा विपन्न  गन्धर्व समुदायलाई कोहलपुर नगरपालिकाले राहत वितरण गर्ने तयारी गरेको नगर प्रमुख  लुटबहादुर रावतले बताए। ‘नगरपालिकामा रहेका विपन्नको तथ्यांक संकलन गरिरहेका छौं,’ उनले भने ‘एक दुई दिनभित्र नै गन्धर्व  समुदायमा राहत पुर्‍याउछौं।’
 

प्रकाशित मिति: : 2020-04-03 06:58:00

प्रतिकृया दिनुहोस्