लकडाउनले अलपत्र पर्यटकको उद्धार आज रातिदेखि बन्द !

बिएल संवाददाता

काठमाडाै‌ं

लकडाउनका कारण हवाइ उडानमा लागेको प्रतिवन्धसँगै नेपालका विभिन्न स्थानमा फसेका विदेशी पर्यटकको उद्दारको काम आज राति १२ बजेदेखि बन्द हुने भएको छ।

नेपाल पर्यटन बोर्डका अनुसार राति १२ बजेपछि जुन पर्यटक जहाँ छन्, लकडाउन नखुलेसम्म त्यहीँ बस्नुपर्ने भएको छ। उनीहरु आवत–जावत खुकुलो भएपछि मात्र बाहिर निस्कन पाउने छन्।

बोर्डका सीइओ डा. धनन्जय रेग्मीका अनुसार शुक्रबारसमेत देशका विभिन्न स्थानबाट पर्यटकहरु काठमाडौं आइरहेका छन्। शुक्रबार नै पोखराबाट दुईवटा बसमा पर्यटकहरु काठमाडौं आइरहेका छन्। ‘आज पर्यटकको उद्धार गर्ने समय तोकिएको अन्तिम दिन हो,’ रेग्मीले भने, ‘हामीले नेपालस्थित दूतावासबाट अनुरोध भई आएका र ईच्छुक सबै पर्यटकलाई आज काठमाडौं ल्याइसक्छौं।’

यसअघि पर्यटन मन्त्रालयले २१ चैत राति १२ बजेसम्म नेपालभर रहेका पर्यटकलाई आ–आफनो मुलुक फर्काउन समय तोक्ने निर्णय गरेको थियो। 

आजदेखि काठमाडौं बाहिरबाट थप उद्धारको काम बन्द भए पनि काठमाडौंमा रहेका विदेशी नागरिकलाई भने ती मुलुकहरुले फिर्ता लैजाने काम भने जारी रहने उनले जानकारी दिए।

यसबीचमा कतिपय पर्यटक स्वदेश फर्कन चाहेका छन् भने कतिपय आफ्नो देशमा कोरोनाको संक्रमण बढी भएको र नेपालमै सुरक्षित भइने ठानेर भिसा अवधि नसकिउन्जेल यतै बस्ने निर्णयमा पुगेका छन्।

सीइओ रेग्मीका अनुसार पोखरामा करीब १ सय जना विदेशी पर्यटक अझै बाँकी छन्। केही पर्यटक लुक्लामा समेत बसेका छन्। 

शुक्रबार लुक्ला र फाप्लुबाट २८ जना पर्यटकको उद्धार गरेर काठमाडौं ल्याइएको सीइओ डा. रेग्मीले बताए । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार लकडाउन शुरु भएयता देशका विभिन्न स्थानबाट १७०८ जना पर्यटकको उद्दार भएको छ।

प्रकाशित मिति: : 2020-04-03 13:25:17

प्रतिकृया दिनुहोस्