सुनसान छ अन्तर्राष्ट्रिय विमानस्थल {फोटो/भिडियो}

बाह्य तथा आन्तरिक उडान ठप्प भएपछि त्रिभुवन अन्तर्राट्रिय विमानस्थल सुनसान भएको छ। 

सरकारले गरेको लकडाउनको बेलामा केही चार्टर्ड जहाजबाहेक अन्य उडान नहुँदा खचाखच हुने विमानस्थल शून्य भएको हो। चैत १० गतेबाट सम्पूर्ण बाह्य उडान बन्द भएपछि विमानस्थल खाली भएको हो।

अत्यावश्यक परिस्थितिमा सरकारको विशेष स्वीकृति लिएर उडान भर्न सकिनेछ।

दैनिक ६५ भन्दा बढी अन्तर्राष्ट्रिय र ३ सयभन्दा बढी आन्तरिक उडान हुँदै आएको थियो। दैनिक १२ हजारभन्दा बढी यात्रुको चहलपहल हुने विमानस्थलमा सुनसान देखिएको हो।

नेपाल सरकार अध्यागमन विभागले मार्च २२ तारिकदेखि अप्रिल ३ सम्मका लागि विभागको काम बन्द गरिसकेको छ। विभागले सूचना जारी गर्दै मार्च २१ सम्म भिसा अवधि भएका पर्यटकको हकमा शर्तअनुसार काम गर्ने उल्लेख गरेको छ। भिसा थप्ने सन्दर्भमा २१ मार्चसम्म भिसा अवधि भएको हुनुपर्ने, भिसा थपका लागि विभाग सुचारु भएको ७ दिनमा निवेदन दिनुपर्ने र २१ मार्चअघि नै भिसा अवधि सकिएर पनि भिसा थप गर्न नआएको हकमा अध्यागमन कानुन अनुसार दण्ड जरिवाना गरिने भनिएको छ। कानुनअनुसार भिसा सकिएको अवधि १५ दिनभन्दा कम भए ३ अमेरिकी डलर र १५० दिनभन्दा बढी भिसा नथपिएको भए ५ अमेरिकी डलर जरिवाना तोकिएको छ।

प्रकाशित मिति: : 2020-04-05 18:34:04

प्रतिकृया दिनुहोस्