जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डे लेख्छन्- चीनले बनायो कोरोनाविरुद्धको खोप, अर्बौंको संख्यामा वितरण गर्ने तयारी

चीन, अमेरिका, सिंगापुर, इजरायल, नेदरल्याण्ड, क्यानाडा, जापानलगायतका देशहरुले खोपको सफलता पाउँदै

जनस्वास्थ्यविज्ञ रविन्द्र पाण्डेले विश्वव्यापी महामारीका रुपमा फैलिएको नोबेल कोरोना भाइरस संक्रमणविरुद्धको खोप परीक्षण अन्तिम चरणमा पुगेका तथ्य सार्वजनिक गरेका छन् । 

कोरोनाविरुद्ध नियमित रुपमा सामाजिक सञ्जालमा सन्देश लेख्दै आएका उनले शनिवार चीनले एक सयभन्दा बढी व्यक्तिमा कोरोना संक्रमणविरुद्ध खोप लगाएको र त्यसको परिणाम हेरेर तुरुन्तै अर्बौंको संख्यामा खोप वितरण गर्ने अभियानकाे थालनी गर्ने जनाएकोे उल्लेख गरेका छन् । 

डा. पाण्डेले सामाजिक सञ्जालमा चीन, अमेरिका, सिंगापुर, इजरायल, नेदरल्याण्ड, क्यानाडा, जापानलगायतका देशले खोपको सफलता पाउँदै गरेको विवरण सार्वजनिक गरेका छन् ।

उनले संसारभरि प्रयास भइरहेका कोरोनाविरुद्धको औषधिबारे विस्तृत विवरण दिएका छन् । उनले फेसबुक पेजमा लेखेको सन्देशको पूर्ण पाठः-

 

कोरोना संक्रमितमध्ये ९७ - ९८ % सुरक्षित हुन्छन् : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्यविज्ञ

- चीनले हिंजो सय जनाभन्दा बढी व्यक्तिहरुमा कोरोना संक्रमणविरुद्धको खोप लगाएको छ । उनीहरुको परिणाम हेरेर तुरुन्तै अरबौंको संख्यामा खोप वितरण गर्ने जनाएको छ ।

- अमेरिका पनि यो खोप परीक्षणको अन्तिम चरणमा पुगेको छ ।

- सिंगापुर, इजरायल, नेदरल्याण्ड, क्यानाडा, जापान लगायतका देशहरुले खोपको सफलता पाउदै छन् ।

- कोरोना संक्रमण निको गर्ने एन्टी भाइरल औषधि विभिन्न देशका प्रयोगशालामा परीक्षण भइरहेका छन् ।

- यसबाहेक जापानी इन्फ्लुएन्जा, सार्स, मर्स, स्वाइन फ्लु आदिको महामारीमा सफल सिद्ध भएका औषधिहरुले कोरोना संक्रमणमा उत्साहप्रद रुपमा काम गरिरहेका छन् । यी औषधिबाट लाखौँ व्यक्तिले जीवन पाइरहेका छन् ।

- मलेरिया, बाथ, नाम्ले किरामा प्रयोग हुने औषधिको युरोप, अमेरिका, इरान आदि देशमा ब्यापक प्रयोग गरिएको छ । यी औषधिको सफलता सोचेभन्दा राम्रो आएको छ ।

- सेकेण्डरी इन्फेक्सन रोक्नको लागि ब्रोड स्पेक्ट्रम एन्टिबायोटिकले प्रभावकारी काम गरिरहेका छन् ।

- बेलायती राजकुमार चार्ल्स ७१ वर्षलाई कोरोना संक्रमण भएपछि आयुर्वेदिक रिसोर्टमा उपचार गरेपछि निको भइसकेको छ । यसको अर्थ उमेर बढी हुँदैमा निको नहुने होइन | साथै आयुर्वेद, होमियोप्याथी उपचार पनि कोरोना संक्रमणमा निकै उपयोगी छ ।

- बीबीसीका अनुसार भारतको केरलामा कोरोना संक्रमण भएका ९३ वर्षीय पुरुष र उनको ८८ वर्षकी श्रीमती, जसले दीर्घ रोगको औषधि खाइरहेका थिए, निको भएर घर फर्किएका छन् ।

- भारतले कोरोना संक्रमण २ घन्टामा पत्ता लगाउने किटको आविष्कार गरेर व्यापक जाँच गर्दैछ । त्यो किट सस्तो एवम् भरपर्दो मानिएको छ | यो किट पुनाको माइल्यावमा उत्पादन गरेर बजारमा उपलब्ध गराएको हो ।

- नेपालमा विभिन्न अस्पतालमा आइसीयु, भेन्टिलेटर, आइसोलेसन वार्ड तथा परीक्षणको दायरा निरन्तर वृद्धि भइरहेको छ । साथै जनचेतना, इम्युनिटी पावर, घरमै बस्ने परिपाटी आदिले गर्दा अत्यन्तै न्यून संख्यामा संक्रमण पुष्टि भएको छ । कारणवश रोग फैलिएमा चीन, भारत लगायतका देशहरु सहयोग गर्न तम्तयार भएका छन् ।

- कोरोना संक्रमणबाट बालबालिका तथा युवावर्ग सुरक्षित भएको हुँदा बच्चाको लागि आमाबुवाहरुले डर मान्नुपर्दैन ।

-हामी नेपालीले बिसिजीको खोप लगाएका छौं , समयसमयमा जुकाको औषधि, हात्तीपाइले रोगको औषधि खाएका छौं । तसर्थ जोखिम न्यून छ ।

- नेपालमा १००० जना व्यक्ति संक्रमित भएपनि मृतकको संख्या २० जना मात्र हुनेछ । त्यो मृत्यु पनि अन्य बिभिन्न रोगको कारण मृत्यु उन्मुख व्यक्तिको मात्र हुनेछ | स्वस्थ वा औषधि खाएर स्वस्थ व्यक्तिले डर मान्नुपर्दैन ।

- नेपाल बाहिर रहनुभएका नेपालीले झन् डर मान्नुपर्दैन | विकसित देशमा उपचारको गुणस्तर निकै उच्च छ । मृत्यु दर अत्यन्तै न्यून छ ।

- आजसम्म भएका अनुसन्धानले देखाएको छ, कोरोना संक्रमण ३ हप्तापछि द्रुत गतिमा ओर्लिने छ ।

- इटली लगायतका देशको जुन भयावह देखाइएको छ, त्यहाँ त्यो स्तरको भयावह छैन । जसरी नेपालमा भूकम्प आउँदा विदेशतिर नेपाल सकियो भन्ने खालको हल्ला चलेको थियो, अहिलेको हल्ला पनि त्यस्तै प्रकृतिको हो । मृत्यु धेरैको भएको छ तर कस्तो जनसंख्याको मृत्यु भएको छ भन्ने बुझ्नु जरुरी छ ।

- त्यसैले हल्लाको पछि लागेर आत्तिने नगरौं । आत्तिएर निको हुने होइन । सतर्कताले रोकथाम गर्छ । तसर्थ सतर्क बनौं । अप्ठ्यारो स्थितिमा संयम, धैर्य, शान्त, आशावादी तथा सजग बन्नु नै सबैभन्दा ठूलो उपचार हो ।

प्रकाशित मिति: : 2020-04-06 06:48:22

प्रतिकृया दिनुहोस्