एम्बुलेन्स चालकलाई नि:शुल्क पीपिई बाँड्दै महावीर पुन, नपुग रकम सापट मागे

काठमाडौं उपत्यकाका एम्बुलेन्स चालकहरूलाई राष्ट्रिय आविष्कार केन्द्रले निशुल्क पीपीई उपलब्ध गराउने भएको छ।

एम्बुलेन्स चालकहरूले पिपिई अभावमा बिरामी बोक्न नमानेपछि केन्द्रका अध्यक्ष महावीर पुनले आफूहरूले उत्पादन गरेको पीपीई निःशुल्क उपलब्ध गराउने जानकारी गराएका हुन्।

‘काठमाडौंमा हुनुभएका एम्बुलेन्स चालकहरूले लाइसेन्ससहित एम्बुलेन्स नै लिएर आविष्कार केन्द्र त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा आउनुहोला,’ पुनले भनेका छन्, ‘सोमबारदेखि पीपिई उपलब्ध गराउँछौं। पिपिई लगाएर जानुहोस्, बिरामी बोक्नुहोस्।

पुनले अहिले काठमाडौं उपत्यका भित्रका एम्बुलेन्स चालकलाई मात्र पीपिई उपलब्ध गराउने जानकारी गराएका हुन्।

यसैबीच पुनले लकडाउन अवधिका लागि सात लाख रुपैयाँ ऋण सापटी आविष्कार केन्द्रका लागि चाहिएको बताएका छन्।

पिपिईलगायत अन्य सामग्री बनाउनका लागि आर्थिक अभाव भएको  भन्दै उनले उक्त रकम सापटी दिन जो कोहीलाई आग्रह गरेका हुन्।

‘इच्छा हुनेले र खोजिदिन सक्नेले नगद सापट दिन सक्नुहुन्छ भने हामीलाई खबर गर्नु होला,’ उनले भनेका छन्, ‘यो चन्दा मागेको होइन, सापटी हो।’

अहिलेसम्म पिपिई बनाउने खर्च आविष्कार केन्द्रबाट हुँदै आएको जानकारी गराउँदै उनले केन्द्रलाई १५ लाख चार हजार रुपैयाँ सहयोग प्राप्त भएको र पाँच लाख ५० हजार सापटी लिइएको जानकारी दिए।

केन्द्रसँग केही पैसा भए पनि चेकमा हस्ताक्षर गर्ने एक जना काठमाडौं बाहिर भएकोले केही सीप नलागेर सामान किन्न र बनाउन हाललाई सात लाख नगद सापट खोजेको जानकारी गराए।

यो सूचनापछि उनले चार लाख सापटी र ३ लाख दान पाएकोसमेत जानकारी गराएका छन्।

‘कोरोनाको लागि पीपीईर अन्य बस्तु बनाउन सापटी खोजेको नगद रु.७ लाख मध्ये रु.४ लाख सापटी र रू.३ लाख दान प्राप्त भयो’, उनले भने।

 यो पनि हेर्नुहोस् 

महावीर पुनलाई देशभरिका अस्पतालमा कोरोना उपचार बुथ बनाउन भ्याई-नभ्याई, नयाँ भेन्टिलेटर बन्दै, बिग्रेका मर्मत हुँदै

कोरोना उपचार गर्दा डाक्टरले लगाउने पीपीईकाे जिम्मा लिए महावीर पुनले

महावीर पुनले यसरी पूरा गर्दैछन् कोरोना उपचार गर्ने डाक्टरको पीपीई  (भिडियो)

महावीर पुनले जिम्मा लिएको डाक्टरको पीपीई तयार, आजदेखि डेलिभरी (भिडियाेसहित)

महावीर पुन भेन्टिलेटर बनाउँदै, कोरोना जाँच्ने बुथ बनाउन इञ्जिनीयर खाेजी

प्रकाशित मिति: : 2020-04-07 10:46:54

प्रतिकृया दिनुहोस्