महावीर पुनलाई देशभरिका अस्पतालमा कोरोना उपचार बुथ बनाउन भ्याई-नभ्याई, नयाँ भेन्टिलेटर बन्दै, बिग्रेका मर्मत हुँदै

रामोन म्यागासेसे पुरस्कार विजेता सामाजिक अभियन्ता महावीर पुनले देशभरिका अस्पतालमा कोरोना भाइरस संक्रमितको उपचार गर्दा डाक्टर सुरक्षित बस्ने ‘बुथ’ बनाउन थालेका छन् । काठमाडौंको वीर अस्पताल, पाटन अस्पताल र पोखराको गण्डकी अस्पतालमा तीन वटा त्यस्ता नमूना बुथ बनिसकेका छन् ।

सिसाले घेरिएका बुथभित्र डाक्टर बस्ने, हात छिराउन बनाइएका प्वालबाट डाक्टरका पञ्जा लगाएका हात निकालेर बाहिर रहेको बिरामीको परीक्षण गर्ने प्रवन्ध गरिएको छ । यस्तो बुथबाट उपचार गर्दा डाक्टरका लागि पीपीई आवश्यक पर्दैन । 

‘बनिसकेका बुथहरू परीक्षण पछि सञ्चालनमा आउने छन्’, पोखरा बसेर कोरोना भाइरस संक्रमणको उपचारमा सघाइरहेका पुनले बिएल नेपाली सेवासँग टेलिफोनमा भने, ‘हाम्रो युवा इञ्जिनीयरहरूको १५–१६ वटा टोली अहिले देशभरिका अस्पतालमा कोरोना उपचार बुथ बनाउन क्रियाशील छ । एउटा टोलीमा ३–४ जना छन् ।’

अहिले देशभरिका अस्पतालमा कोरोना उपचार बुथहरू बनिरहेका छन् । पुनले दिएको जानकारीअनुसार, काठमाडौं र पोखराका अतिरिक्त उर्लाबारी, इटहरी, धरान, बिराटनगर, जनकपुर, वीरगञ्ज, हेटौँडा, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी, कञ्चनपुर लगायतका अस्पतालमा यस्ता बुथ बनाइरहेको उनले बताए । ‘निर्माणको संयोजन म आफैँले गरिरहेको छु’, उनले भने । 

यस्ता बुथलाई धेरै अस्पतालहरुले मन पराएको उनले बताए । ‘बुथ बनाउन चाहिने सम्पूर्ण सामान किन्न लाग्ने पैसा राष्ट्रिय आविष्कार केन्द्रले दिने वचन दिएको छु’, उनले भने । उनले बुथ बनाउन नै भनेर ‘अमेरिकन–नेपाल मेडिकल फाउन्डेसन’ का अध्यक्ष ड़ा. सन्तोष सापकोटाले राष्ट्रिय आविष्कार केन्द्रलाई पाँच लाख रुपैयाँ दिएको पनि जानकारी दिँदै उनलाई धन्यवाद दिए ।  

पुनले चार दिनअघि सामाजिक सञ्जाल– फेसबुकमा दक्षिण कोरियामा कोरोना भाइरसको उपचारमा अभ्यास गरिएको त्यस्ता बुथ फोटोसहित राखेका थिए । त्यस्तै बुथ बनाउने सक्ने युवा इञ्जिनीयर राष्ट्रिय आविष्कार केन्द्रलाई चाहिएको उल्लेख गरेका थिए । 

नयाँ भेन्टिलेटर बनाउँदै, पुराना मर्मत 

पुनले कीर्तिपुरस्थित आविष्कार केन्द्रमा नयाँ भेन्टिलेर बनाइराखिएको र अस्पतालमा बिग्रिएर प्रयोगबिहीन पुराना भेन्टिलेटर मर्मत पनि गरिराखेको पुनले जानकारी दिए । ‘नयाँ भेन्टिलेर बनाउँदै पनि छ, पुराना मर्मत पनि गर्दैछ’, उनले भने, ‘एउटा बनाउन कति लाग्छ भन्ने त थाहा छैन, आज चार दिन भो बनाउन थालेको ।’

पुन केही आवश्यक भयो वा सम्पन्न कार्यको जानकारी दिनुप¥यो कि फेसबुकमा लेखिहाल्छन् । उनले आइतबार पनि लेखे, ‘भेन्टिलेटर मर्मत गर्नको लागी सहयोग गर्ने थप कोही हुनु हुन्छ? हुनुहुन्छ भने सम्बन्धित अस्पतालमै गएर काम गर्नुहोला ।’

पुनले शिक्षण अस्पताल, महाराजगञ्ज (काठमाडौं) को आईसीयुमा बिग्रेका ६ वटा, गणेशमान सिंह मेमोरियल अस्पताल, महालक्ष्मीस्थान (ललितपुर) मा बिग्रेका चार वटा र ट्रमा सेन्टर काठमाडौँमा बिग्रेका १० वटा भेन्टिलेटरहरु रहेको पनि फेसबुकमा पोस्ट गरेका छन्। 

पुनले अर्को पनि पोस्ट गरेका छन्, ‘लौ लौ, हिजो मैले पोष्ट गरेको जस्तो डाक्टरहरुले कोरोनाको बिरामीको नमुना लिन मिल्ने बुथ बनाउन आँट गर्ने कोहि हुनु हुन्छ?? सो बुथ बनाउनको लागि चाहिने सामानहरुको पैसा राष्ट्रिय आविष्कार केन्द्रले दिन्छ।’

याे पनि

 

कोरोना उपचार गर्दा डाक्टरले लगाउने पीपीईकाे जिम्मा लिए महावीर पुनले

महावीर पुनले यसरी पूरा गर्दैछन् कोरोना उपचार गर्ने डाक्टरको पीपीई  (भिडियो)

महावीर पुनले जिम्मा लिएको डाक्टरको पीपीई तयार, आजदेखि डेलिभरी (भिडियाेसहित)

महावीर पुन भेन्टिलेटर बनाउँदै, कोरोना जाँच्ने बुथ बनाउन इञ्जिनीयर खाेजी

 

 

प्रकाशित मिति: : 2020-04-05 17:57:54

प्रतिकृया दिनुहोस्