महावीर पुन भेन्टिलेटर बनाउँदै, कोरोना जाँच्ने बुथ बनाउन इञ्जिनीयर खाेजी

 माधव ढुङ्गेल

काठमाडाैं

रामोन म्यागासेसे पुरस्कार विजेता महावीर पुन अध्यक्ष रहेकाे राष्ट्रिय आविष्कार केन्द्रले कोरोना भाइरसको सङ्क्रमित उपचारका लागि अत्यावश्यक ‘भेन्टिलेटर’ बनाउने तयारी गरेको छ। भेन्टिलेटरको डिजाइन भइसकेको र आवश्यक सामान किन्ने तयारी भएको केन्द्रले जानकारी दिएको छ। 

कीर्तिपुरस्थित केन्द्रमा भेटिएका एक कर्मचारीले दिएको जानकारीअनुसार, आज प्राविधिक मान्छे सामान किन्न गएका छन्। भोलि शुक्रबारदेखि निर्माणको काम सुरु हुनेछ। 

सामाजिक अभियन्ता पुन  कोरोना भाइरसविरुद्ध दिलो ज्यानले लागिपरेका छन्। पोखरामा रहेका उनले टेलिफोन-संवाद गर्दै पुनले भने, ‘एउटा नयाँ काम चाहिँ भेन्टिलेटरको डिजाइन भइरहेको छ। त्यो बनाउने तयारीमा छौँ।’ 

कोरोना उपचारका लागि चिकित्सकलाई सघाउने कार्यमा लागि परेका पुन इन्टरनेटमार्फत् दुनियाँमा प्रयोग भइरहेका कोरोना उपचारका विधि, पद्धति र आवश्यक सामग्रीको खोजीमा छन्। केही नयाँ भेटियो कि ‘फेसबुक’ मार्फत् सार्वजनिक गरिहाल्छन्। उनले आह्वान गरे, 'कोरोना उपचारबारे कसैसँग नयाँ आइडिया भए ल्याउनुस्। हामी पूरै सहयोग गर्छौँ।’ 

पुनले बिएल नेपाली सेवासँगको कुराकानीमा भने, ‘अघि बिहान फेसबुकमा पोष्ट गरेको दक्षिण कोरियामा अभ्यास गरिएको कोरोना परीक्षण ‘बुथ’ बनाउन काम गर्नेे इञ्जिनीयर चाहिएको छ। त्यो गर्नसक्छौँ भनेर अहिलेसम्म कोही पनि इञ्जिनीयर सम्पर्कमा आएका छैनन्।’

महावीर पुनले बिहानै फेसबुकमा फोटो पोस्ट गर्दै लेखेका थिए, ‘लौ त, तलको फोटोमा देखाए जस्तो चिज बनाउने साहस र जाँगर भएको कोही इञ्जिनीयर हुनुहुन्छ ? .... यस्तो चिज बनाउन राष्ट्रिय आविष्कार केन्द्रले पूर्ण सहयोग गर्नेछ। खासगरी जोशिलो र नवजवान इञ्जिनीयरले आँट गर्नुहोस् र दुलो बाट निस्कनुहोस्। दक्षिण कोरियामा यस्तो बुथ बनाएर कोरोनाको बिरामीहरुलाई जाच्ने गरेको रहेछ। खासै गाह्रो देखिएन यस्तो चिज बनाउन। यसो ग¥यो भने पीपीईको पनि काम गर्ने रहेछ। एउटा अस्पतालमा यस्तै एउटा बुथ राख्न सक्यो भने राम्रो हुन्थ्यो।’

पुनले आफू अध्यक्ष रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई नयाँ–नयाँ सोच चाहिएका बताए। ‘हामीलाई कोरोनाको उपचारमा काम गर्ने यस्तै नयाँ–नयाँ आइडिया चाहिएको छ’, उनले भने, ‘अहिलेजस्तो कोरोनाको इमर्जेन्सीमा नयाँ आइडिया निकाल्ने, कुनै चिज बनाएर राहत दिने मान्छे राष्ट्रिय आविष्कार केन्द्रलाई आवश्यक छ। आइडिया ल्याउनुस्, पूरा सहयोग गर्छु।’

डाक्टर र स्वास्थ्यकर्मीले लगाउने पीपीई चाहिँ तीन वटा गार्मेण्टमा सिलाउने काम धमाधम भइरहेको बताउँदै भने, ‘पाँच सय तीस/चालीसवटा तयार भयो। यो सिलाउने काम जारी छ। अहिलेसम्म त्यसका लागि आवश्यक सामग्री (कपडा) पाइएको छ।’

पुनले सर्जिकल अर्थात् मेडिकल मास्क, रबर ग्लोब र आँखाको सुरक्षाका लागि लगाउने चस्मा अथवा भाइजर तुरुन्त चाहियो भनेर बुधबार फेसबुकमा लेखेका थिए।

उनले एन–९५ मास्क पनि आवश्यक रहेको बताउँदै लेखेका थिए, ‘यी चिजहरु पीपीई गाउनसहित बाँड्नका लागि चाहिएको हो। विपतको यो घडीमा यी काम चलाऊ पीपीईहरु पैसा नलिई र कुनै भेदभाव नगरी बाँडिदै छ। यदि कसैले यी सामानहरुको पैसा दिन चाहनु हुन्छ भने राष्ट्रिय आविष्कार केन्द्रको खातामा दान गर्न सक्नु हुनेछ।’

पीपीई अस्पतालहरुलाई पाँचदेखि १० ओटासम्म बाँडिहेको र मंगलबारदेखि काठमाडौं उपत्यकाभन्दा बाहिरका जिल्लाहरूमा पनि पठाउन सुरु गरेको पुनले जानकारी दिए। उनले भनेका छन्, ‘यो पीपीईको वितरण कार्य एएनएमएफ/नेपाल मेडिकल एसोसिएसनको संयुक्त टीमसँग मिलेर गरिंदै छ।’

 

याे  पनि‌‌‌‍‍‍‍‌‌

कोरोना उपचार गर्दा डाक्टरले लगाउने पीपीईकाे जिम्मा लिए महावीर पुनले

महावीर पुनले यसरी पूरा गर्दैछन् कोरोना उपचार गर्ने डाक्टरको पीपीई  (भिडियो)

महावीर पुनले जिम्मा लिएको डाक्टरको पीपीई तयार, आजदेखि डेलिभरी (भिडियाेसहित)

प्रकाशित मिति: : 2020-04-02 15:30:00

प्रतिकृया दिनुहोस्