महावीर पुनले जिम्मा लिएको डाक्टरको पीपीई तयार, आजदेखि डेलिभरी (भिडियाेसहित)

चप्पल कारखानाका सञ्जय अधिकारी, ५१। दुई दशकदेखि रेमण्डको ‘सर्टिङ–सुटिङ’ को काम गर्दै आएका व्यवसायी हुन्। सरकारले ‘लकडाउन’ को घोषणा गरेपछि यति बेला उनी सुट हैन, महावीर पुनको आग्रहमा कोरोना भाइरस संक्रमित बिरामीको उपचार गर्दा डाक्टरले लगाउने ‘ड्रेस’ पीपीई (‘पर्सन प्रोटेक्टिभ इक्युप्मेण्ट’) बनाउने काममा व्यस्त छन्। 

जति सक्दो चाँडो १ सय पीस पीपीई तयार पारेर बुझाउने जिम्मेवारी छ, उनको काँधमा। तीन जना कटिङ मास्टर र दुई जना सिलाउने कालिगढको साथमा उनी जुटेका छन्। ‘लकडाउनको घोषणापछि पनि दैनिक १२–१४ घन्टा काम गरिरहेको छु’, सञ्जयले सुनाए, ‘आजै केही थान डेलिभरी दिन्छौँ।’

कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा संलग्न डाक्टरसहित चिकित्सा टोलीले लगाउने ‘कभरअल’ हो यो। शीरदेखि खुट्टाको गोलिगाँठोभन्दा माथिको सबै अङ्ग ढाक्छ– यो ‘वन पीस’ कपडाले। नाक–मुख ढाक्न मास्कको बेग्लै व्यवस्था हुन्छ। अधिकारीले भने, ‘यसको नाम कभरअल हो। यो वाटर प्रूफ पनि छ, विन्ड प्रूफ पनि छ।’ 

धुम्बाराही, चप्पलकारखानास्थित सञ्जयको कारखानामा १८–२० जना कालिगढले काम गर्थे। कोरोनाको संत्राशसँगै भारतीय कालिगढ आफ्नै देश हिँडे। नेपाली कालिगढले पनि काठमाडौं छाडे। घरतिर लागे। अहिले तीन जना मात्र भिडेका छन्– पीपीई बनाउन। कटिङ मास्टर धादिङका अशोक दर्नाल कपडा पट्याएर काट्नमा व्यस्त छन्। दाङका परियारद्वय कृष्ण र आशिष सिलाएको सिलाएकै छन्। 

एक–दुई वटा पीपीई बनाएर डाक्टरलाई देखाएर मेडिकल काउन्सिलबाट बिहीबारै स्वीकृत गरायो–राष्ट्रिय आविष्कार केन्द्रले। स्वीकृति पाएको करिब एक घन्टापछि बिहीवार अपरान्ह उनको कारखाना पुग्दा तीन जना युवा पीपीई बनाउन व्यस्त थिए।

एक जना काट्दै थिए, दुई जना सिलाउँदै थिए। ‘डिजाइन उहाँहरूले (आविष्कार केन्द्र) पठाउनुभएको थियो। मैले बनाएर पठाएपछि उहाँहरूले डाक्टरलाई देखाउनुभयो। डाक्टरबाट यो डिजाइन एप्रुभ भएपछि बनाउन सुरु गरेका छौँ’, सञ्जयले भने। 

आफैँ कालिगढ ल्याउँछन्–पुर्‍याउँन् सञ्जय

कोरोना भाइरसबाट बच्न निकै कडा सुरक्षा अपनाइएको थियो कारखानामा। भित्र छिर्नै लाग्दा डिटल–पानीबाट बनाइएको ‘स्यानेटाइजर’ हातमा लगाउन सञ्जयका सुपुत्रले आग्रह गरे। आफैं लगाउन लाग्दा ती नवयुवाले रोक्दै बोतल नछुन आग्रह गरे, ‘नछुनुस्, म हाल्दिन्छु।’ कोरोना भाइरसलाई निकै कडाइ गरिएको थियो त्यहाँ। 

परियार बन्धुहरू बागबजार बस्छन्। कृष्णले भने, ‘परिवार बागबजार बस्छन्। बिहानै सर (सञ्जय) ले गाडीमा लिएर आउनुहुन्छ। काम सकेपछि सरले नै आफ्ना गाडीमा पुर्‍याइदिनुहुन्छ।’

त्यसो त परियारत्रयलाई पनि परिवारले कहाँ काममा जान दिन सजिलै मान्थ्यो र ! कृष्णले भने, ‘हामीलाई पनि परिवारले आउन दिइरहेका थिएनन्। सरले भन्नुभो– सुरक्षित नै हुन्छ। आफू पनि सुरक्षित हुनुपर्‍यो, बिरामी उपचार गर्ने डाक्टरलाई पनि जोगाउनुपर्‍यो।’ 

कृष्ण थप्छन्, ‘देशै शून्य छ। संसारै बन्द छ !’ 

कृष्ण साेध्छन्, ‘सर, यो लकडाउन त अझै थप्छ होला हगी, सरकारले !’ 

सञ्जयको घरमा ‘रेडियो राजधानी’ को टावर ठडिएको छ। घरसँगै जोडिएको टहरामा लस्करै सिलाई मेसिन राखिएका छन्। त्यहीँ तयार हुन्छ– नेपालका मन्त्री, नेता र सांसद्देखि ठूलाबडा व्यापारीले लगाउने अन्तर्राष्ट्रिय ब्राण्ड ‘रेमण्ड’ का सुट। 

विस्तारै बोल्ने हँसिला कालिगढ कृष्ण भन्छन्, ‘हामी सुट सिलाउने कालिगढ हौँ। देशका नेता, मन्त्रीले लगाउने सुट यहीँ सिलाउने हो।’

देशका ठूलाबडाले लगाउने सुट सिलाउने नेपथ्यका यिनै शिल्पी अहिले त्योभन्दा धेरै महत्वपूर्ण पोशाक बनाउन अहोरात्र खटेका छन्। सिंगो देश लकडाउनमा ढोका बन्द गरेर हात बाँधेर बसेका बेला व्यवसायी सञ्जय र उनका सिद्धहस्त तीन शिल्पीहरू कोरोना भाइसरसँग लड्न डाक्टरलाई तयार पार्ने कार्यमा जुटेका छन्। 

कोरोना भाइरससँगको लडाइँको अग्रिम मोर्चामा उत्रिने डाक्टरले लगाउने पोशाक बनाउने जिम्मा लिएका सञ्जयले सुनाए, ‘दिनभरिमा एकजना कालिगढले एउटा कोट सिलाइसक्छ। यो कभरअल चाहिँ एक जनाले १० देखि १२ वटा सिलाउँछ।’ 

अहिले सञ्जयको कारखानामा एक सय थान जति पीपीई सिलाउने कपडा पठाएको छ– राष्ट्रिय आविष्कार केन्द्रले। यसका प्रमुख महावीर पुन पोखरा पुगेर अड्केका छन्। पोखरै बसेर उनी सञ्जयसँग पनि नियमित सम्पर्कमा छन्। उनले भने, ‘महावीर पुनले अघि पनि फोन गर्नुभएको थियो, तपाईंहरू आउँदै हुनुहुन्छ भनेर।’

महावीर पुन लामो दूरीका सवारीसाधन बन्द हुनुभन्दा अघिल्लो दिन रातारात पोखरा पुगेका थिए। उनका अनुसार, डाक्टरको पोशाक बनाउने जिम्मा आफूलाई आउला भन्ने कुनै अनुमान थिएन। त्रिवि शिक्षण अस्पताल (महाराजगञ्ज), वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान) र प्युठानतिरका डाक्टरले आग्रह गरेपछि मंगलबार मात्र महावीरले यो जिम्मेवारी स्वीकारेका थिए।

साथीबाट सञ्जय कहाँ सम्पर्क

महावीर पुन एक जना यस्ता अनौपचारिक स्वाभावका सामाजिक अभियन्ता हुन्, जो जहाँ भए पनि जिम्मेजारी स्वीकारिदिन्छन्। पोखरा भए पनि उनले काठमाडौंको यत्ति महत्वपूर्ण काम स्वीकारे। अनि आफ्नो राष्ट्रिय आविष्कार केन्द्रका साथीहरूको सहयोग लिए। 

आविष्कार केन्द्रकै हरिश सिल्वाल भन्ने एक जना चार्टर एकाउण्टेण्ट साथीले फोन गरे र सञ्जयलाई पीपीई सिलाइदिन आग्रह गरे। ‘हरिशजीलाई मैले मैले यस्तो काम गर्छु भन्ने थाहा थियो’, सञ्जयले सुनाए, ‘मैले ठीकै छ त भनेर। राष्ट्रिय आविष्कार केन्द्रबाट डाक्टरहरुलाई कभरअल वितरण गर्न लागेको छु। तपाईंले सहयोग गर्नुपर्‍यो भन्नुभो। उहाँले यस्तो सामाजिक काम गर्नुपर्‍यो भन्नुभो।’ 

कपडा राष्ट्रिय आविष्कार केन्द्रले नै दिएको हो। सेतोमा केही घिउ रंगको पीपीई सिलाउने धमाधम छ। ‘यो कपडा उहाँहरूले नै दिनुभएको हो। कपडासहित ‘र मटेरियल’ राष्ट्रिय आविष्कार केन्द्रले दिने, मैले सिलाइदिने मात्र हो।’

एउटा ‘कभरअल’ तयार पार्दा यसको लागत कति पर्ला ? ‘कपडासहित त १५ सयजति पर्ला’, सञ्जयले भने, ‘कपडाबाहेक सिलाइ मात्रै पाँच–छ सय रुपैयाँ जति लाग्छ।’ 

बल्लतल्ल २५–२६ सय मिटर कपडा पाएको छ राष्ट्रिय आविष्कार केन्द्रले। यो कपडा बजारमा पाउन मुस्किल छ। ‘सेम कलर पाइँदैन। उहाँहरूले यो कुन ठाउँबाट ल्याउनुभो, मलाई थाहा छैन’, सञ्जयले भने, ‘कपडा पाउन गाह्रो छ। काम गर्ने कालिगढ पनि गाउँ गइरहेको छ। अहिले एक जना मास्टर र दुई जना मात्र कालिगढले काम गरिराखेका छन्। तीन जना काम गरिराख्नुभएको छ। एकजनाले दिनको १०–१२ पिस बनाउनुहुन्छ। हामी राष्ट्रिय आविष्कार केन्द्रलाई सय पिस बनाइदिँदैछौँ।’

सेवाभावले काम

सञ्जयको रेमण्ड सर्टिङ एण्ड सुटिङको ‘शो रुम’ लकडाउन घोषणासँगै बन्द थियो। आफ्नो पानी फ्याक्ट्रीमा व्यस्त थिए, त्यो रोक्न मिल्दैनथ्यो। उनले भने, ‘उहाँहरूले डाक्टरका लागि यो सिलाइदिनुपर्‍यो भनेपछि सेवाको काम भयो। मैले मेरा कालिगढहरूलाई बस्न नदिएर भए पनि काम गराइराखेको छु। सबैले सेवाको हिसाबले काम गरिराखेका छौं।’ 

अहिले करिब एक सय पिसको अर्डर छ– सञ्जयसँग। त्यसबाहेक अरु करिब तीन सय थान जति पनि सिलाउने कपडा छ आविष्कार केन्द्रसँग। महावीर पुनले भने, ‘चप्पल कारखाना र पेप्सीकोलाको अर्को कारखानामा पनि पीपीई सिलाउने काम भइरहेको छ।’  

कोरोना भाइरसको उपचारमा संलग्न चिकित्सक टोलीका लागि गाउन बनाउँदै गरेका सञ्जय यो कामबाट उत्साहित छन्। उनी यो अभियानमा योगदान गर्न पाएकोमा खुशी पनि देखिन्छन्। तर, अहिले उनलाई कालिगढको कमी भइराखेको छ। यो सकेपछि पनि थप योगदान गर्ने सोचबारे प्रश्न गर्दा उनले भने, ‘गर्छौ। हामी नियमित गर्छौ‌ं। कालिगढ पायौँं भने हामी अरु पनि उत्पादन गरेर दिन्छौँ।’ 

आफूहरूसँग नियमित काम गर्ने १८–२० जना कालिगढ भए पनि संत्राशसँगै काठमाडौं छाडेको बताए। ‘यस्तो बेलामा सबैले आ–आफ्नो ठाउँबाट सक्छौं भने सहयोग गरौँ। डाक्टरहरूले दुःख गरिराख्नुभएको छ। हामीले भन्दा पनि डाक्टरहरूले सेवा गरिरहनुभएको छ। डाक्टरहरूलाई जोगाउने हाम्रो पनि काम हो। हामीले डाक्टरहरूलाई सहयोग गर्नुपर्‍यो। ज्यानको जोखिम मोलेर काम गरिरहनुभएका डाक्टरलाई बचाउनुपर्‍यो’, सञ्जयले भने, ‘जसले जहाँ सक्छौँ, त्यहाँ सहयोग गरौँ। सकिन्न भने पनि कमसेकम घरभित्र बसिदिऊँ।’

कोरोना उपचार गर्दा डाक्टरले लगाउने पीपीईकाे जिम्मा लिए महावीर पुनले

महावीर पुनले यसरी पूरा गर्दैछन् कोरोना उपचार गर्ने डाक्टरको पीपीई  (भिडियो)

प्रकाशित मिति: Mar 27, 2020 08:44:24

प्रतिक्रिया दिनुहोस

सबै