जुम्लामा ३२४ जनाको सामूहिक रुपमा ‘स्वाब’ संकलन 

जुम्लामा ३ सय २४ जनाको सामुहिक रुपमा स्वाब’ संकलन गरिएको छ। घुम्ती शिविरमार्फत कोरोना परीक्षणका लागि चैत ११ गते यता भारतलगायत तेस्रो मुलुकबाट जुम्ला भित्रिएकाहरुकाे ‘स्वाब’ संकलन गरिएको हो।

मंगलबार जुम्ला विमानस्थल, सिंजा कनकासुन्दरी र हिमा गाउँपालिमाबाट संकलन गरिएको ‘स्वाब’ काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिइन्। 

‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर र काठमाडौंबाट आएका डाक्टरहरुले तीनै ठाउँमा पुगी ‘स्वाब’ संकलन गर्नुभएको हो,’ उनले भनिन्, ‘सुरुमा २ सय ५३ जनाको ‘स्वाब’ संकलन गर्ने योजना थियो तर पछि एक सय जना बढीको संकलन गरी पठाइएका छौं।’

चन्दननाथ नगरपालिका, तिला तातोपानी, पातारासी र गुठिचौर गाउँपालिकाको गरी जुम्ला विमानस्थलबाट १ सय ५० जना, हिमाबाट १ सय २४ जना तथा कनकासुन्दरीबाट ५० जनाको गरी ३ सय २४ जनाको ‘स्वाब’ संकलन गरिएको उनले जानकारी दिइन्।

भारत तथा तेस्रो मुलुकबाट आउनेहरुका कारण कर्णालीमा कोरोना संक्रमणकोे जोखिम बढेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाइरेक्टर मंगल रावलले बताए। ‘सरकारसँग समन्वय गरी जुम्ला भित्रिएका ३ सय २४ जनाकै ‘स्वाब’ संकलन गर्ने व्यवस्था गरेका हौं,’ उनले भने, ‘संघीय सरकारको कोरोना संकट व्यवस्थापन अप्रेसनको हेलिकोप्टरमा घुम्ती मेडिकल टोलीसँग हामीले सहयोगीको भूमिका खेल्यौं।’

यसरी सामुहिक रुपमा ‘स्वाब’ संकलन गरि पठाइएका सबै जनाको रिर्पोटमा एक हप्ताभित्र आउने बताइएको छ।

प्रकाशित मिति: : 2020-04-07 17:58:01

प्रतिकृया दिनुहोस्