सिमकोट क्वारेन्टाइनका लागि सामग्री सहयोग

रासस

सिमकोट

कोभिड –१९ को त्रास हुम्लामा  बढेपछि आज आधार विकास हुम्लाले  रु २५  लाख मूल्यका औषधि र उपकरण सहयोग गरेको छ। 

सदरमुकाम सिमकोटको तल्लो बजार रानीवन नजिक रहेको क्वारेन्टाइनका लागि लामो समयदेखि स्वास्थ्य, शिक्षा, र बालबालिकाका क्षेत्रमा काम गर्दै आएको आधार विकास हुम्लाले  उपकरण सहयोग गरेको छ।
 
 सहयोग गरिएका सामग्रीमा  अक्सिजन कन्सेन्ट्रेटर, नेबुलाइजेशन मेशिन, एम्बु ब्याग(रिन्युवलसहित), युएसजी मेशिन, अटो क्लेभ्स र मिनी इसिजी मनिटर एक एक थान, मल्टीफंक्सनल मनिटर दुई थान तथा सर्जिकल इक्विपमेण्ट ५० थान रहेकोे रानीवन क्वारेन्टाइनका सूचना अधिकारी प्रजित बोहराले बताए।
 
जिल्ला अस्पताल हुम्लाका डा नवीन रोकायाले ती उपकरण सहयोगपछि भइपरी आउने समस्याबाट उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई सहज हुने भएको बताए। 

हुम्लामा जिल्ला बाहिरबाट आएका बासिन्दालाई क्वारेन्टाइनमा राखिए पनि अहिलेसम्म कोही कसैमा कोरोना संक्रमणको लक्षण नदेखिएको जानकारी उनले दिए।
 
कुहिएको चामल वितरण नगर्न निर्देशन 

हुम्ला जिल्लाको दक्षिण क्षेत्र अदानचुली गाउँपालिकामा रहेको नेपाल खाद्य संस्थान श्रीनगर डिपोको आज अनुगमन गरिएको छ। गाउँपालिकाका अध्यक्ष दल फडेरासहित वडाध्यक्षको टोलीले श्रीनगर डिपोमा भएका तीन वटै गोदामको अनुगमन गरेको हो।

 गाउँपालिकाका बासिन्दाले डिपोमा भएको चामल अत्याधिक अमिलो र कुहिएको भएको गुनासो गरेपछि टोलीले अनुगमनमा गरेपछि  तत्काल फिर्ता गर्न जिल्ला प्रशासन कार्यालयमा कुरा गरिने अनुगमनपछि पालिका अध्यक्ष फडेराले बताए।

  डिपोमा भएको करिब १५० क्वीन्टल चामलमध्ये ३५ बोरा चामल बिग्रिएको देखिएकाले पुरानो अस्पतालमा भएको गोदाममा छुट्याएर राखिएको डिपो प्रमुख रामकृष्णनन्दन सिंहले जानकारी दिए।

गोदाममा भएको चामलमध्ये कुन अमिलो र कुन खानलायकको छ भनेर छुट्याउने काम भइरहेको छ। ती चामलमध्ये केही राम्रो र केही अमिलो भएकाले अबको केही दिनमा सबै छुट्याइसक्ने उनले बताए।

  सडकसँगै जोडिएको घरमा भएको एक सय क्वीन्टल चामल भने अरुवा मोटा चामल भएकाले बजारमा रहेको गोदामको चामल सोना मन्सुली सकिएपछि वितरण गरिने संस्थानले जनाएको छ।

  अनुगमनका क्रममा गाउँपालिकाका अध्यक्ष फडेराले कुहिएको अमिलो चामल कोही पनि नागरिकलाई नलिन आग्रह  गर्दै डिपो प्रमुखलाई यस्तो चामल बिक्रवितरण नगर्न निर्देशनसमेत दिए। 

प्रकाशित मिति: : 2020-04-07 18:40:55

प्रतिकृया दिनुहोस्