लकडाउन समस्याको समाधान हाेइन, काेराेना परीक्षणको दायरा बढाऊ: कांग्रेस

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाली कांग्रेसले सरकारलाई अत्यावश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गरेर कोरोना भाइरस परीक्षणलाई तीब्रता दिन आग्रह गरेका छ। 

कांग्रेसका संस्थापन इतर एक दर्जन केन्द्रीय सदस्यले बिहीबारे संयुक्त अपीलमार्फत् कोरोनाबाट मुलुक र नागरिकलाई सुरक्षित राख्न लकडाउन आवश्यक भएपनि यसले मात्रै समस्याको समाधान नदिने भन्दै परीक्षणको दायरा बढाउन माग गरेको हो।

‘अहिलेसम्म भइरहेको परीक्षणको गति अत्यन्त सुस्त छ। यस्तो गतिमा गरिने परिक्षणले भाइरस संक्रमित व्यक्तिको तीब्र गतिमा पहिचान हुन सक्दैन,’ अपीलमा भनिएको छ, ‘तसर्थ सरकारले परीक्षणको दायरा र गति बढाउनु पर्दछ।’

कोरोनासँगको संघर्षमा अग्रमोर्चामा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको तलब कटौती गरिनु अनुचित नभएको उनीहरुको दाबी छ।

‘सरकारको निर्णयले यस अभियानमा लागेका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई निरुत्साहित तुल्याएको छ,’ अपीलमा उल्लेख छ। साथै स्वास्थ्यकर्मीको आर्थिक सुरक्षा र प्रोत्साहन स्वरुप बिमा र उचित भत्ताको व्यवस्था गर्न कांग्रेस नेताको माग छ। 

सरकारले आर्थिक अनुशासन कायम गर्न र खर्च जोगाउन सांसद विकास कोषको रकम राहतमा खर्च गर्न उनीहरुले सुझाव दिएका छन्। 

‘सांसद विकास कोषको रकम कोरोना भाइरस नियन्त्रण कोषमा राखिनुपर्दछ। साथै पूर्वपदाधिकारीले पाउने सुविधा र सुरक्षासमेत कटौती गर्दै जनताको हितमा लगाउनुपर्दछ,’ अपीलमा भनिएको छ।

प्रकाशित मिति: : 2020-04-09 17:46:54

प्रतिकृया दिनुहोस्