पोर्चुगलकाे जंगल चाहर्ने नेपाली ठिटाे भन्छन्–‘म यहाँको यार्सागुम्बा टिप्छु’ (भिडियाे)

नेपालबाट रोजगारीका लागि विश्वको विभिन्न देश जाने कुरा सबैलाई सर्वविदितै छ। विदेशिने रहर कमैलाई हुन्छ तर नेपालीहरुका लागि याे बाध्यता बनिसकेकाे छ। कोही विदेश आएर सोचेभन्दा बढी प्रगति गर्छन् त कोही निरास भएर फर्केका पनि छन्। 

विगत केही वर्षदेखी युरोपको पोर्चुगल नेपालीहरुका लागि रोजाईकाे देश भएको छ। यहाँ कमाईंभन्दा पनि युराेपमा बसाेबास गर्न सहज हुने कार्ड बन्ने र कार्ड बनेको ५ र ६ वर्षमा पासपोर्ट पाइने तथा अन्य युरोपेली मुलुकमा स्थायी बसाेबासका लागि सहज हुने हुँदा नेपाली मात्र हाेइन, हामी जस्ता कम विकशित मुलुकका नागरिक पनि पाेर्चुगल आउन रुचाउँछन्।

नुवाकाेटका गिरेन्द्र तामाङ सुखद भविष्यकाे यही सपना देखेर दुई वर्षअघि पाेर्चुगल आएका थिए। उनी यहाँ आउँदा उनकाे उमेर २६ वर्ष थियाे। पाेर्चुगल आएकाे २–४ महिना त उनलाई हम्मेहम्मे नै पर्‍याे जीवन धान्न। 

तर, विदेश आइसकेपछि ठग्न पनि मिलेन, चोर्न पनि भएन। त्यसैले उनी जस्तो सुकै काम गर्ने निधाेमा पुगे। कामकाे खाेजीकै क्रममा उनी खेती गर्ने एउटा सामान्य फर्मकाे सम्पर्कमा पुगे। उनले एकपछि अर्काे गर्दै थुप्रै कृषि फर्म चहारे। दु:ख पनि सामान्य मानिसभन्दा धेरै पाए। कामकै सिलसिलामा एकदिन उनलाई कम्पनीले राजधानी लिजवनदेखि २ घण्टाकाे दूरीमा पर्ने ‘सान्ता डे माताे’ काे ज‌ंगलमा पिना टिप्न पठायाे।

उनलाई सुरुमा कम्पनीकाे साहुले सल्लाे जस्तै रुख देखाएर त्यसकाे सिरेटाे टिप्नुपर्छ भन्दा आश्चर्य लागेकाे थियाे। गाउँघरमा यस्ता सिरेटाे त्यतिकै झरेर नस्ट भइरहेकाे देखेका उनी यहाँ भने त्यही सिरेटाे टिपेकाे पैसा दिन्छु भन्दा अचम्ममा परेका थिए। त्यही पनि पापी पेटकाे सवाल थियाे। उनी तुरुन्त राजी भए। 

कम्पनीका मालिकले ज‌ंगलबाट सिरेटाे संकलन गरेबापत उनलाई ‘सान्ता डे माताे’ मा डेरा कै व्यवस्था गरिदिएका थिए। अहिले उनी ‘सान्ता डि माटाे’ काे वरिपरिकाे जंगलमा दिनहुँ चहार्‍ने गर्छन्। र, नेपालकाे सल्लाे जस्तै देखिने रुखका फल (सिरेटाे) झार्ने र टिप्ने काम गर्छन्। उनीसँगै यति बेला याे काममा अन्य ८ जना नेपाली कामदार पनि सक्रिय छन्।

गिरेन्द्र भन्छन्, ‘मलाई सुरुमा अनाैठाे लागेकाे थियाे। तर अहिले रमाइलाे लागिरहेकाे छ।’ याे काम गरेबापत अनुभवी कामदारले दैनिक ८० देखि १०० युराेसम्म तलब पाउने गरेका छन्। उनीहरुकाे काम रुखमा चढेर सिरेटाे झार्ने काम हुनेगर्छ। यस्तै भर्खरै काममा लागेकाहरुकाे हकमा ४० देखि ६० युराेसम्म कमाईं हुन्छ। याे भूईंमा सिरेटाे टिपेबापतकाे तलब हाे। रुख चढ्नेले भने ६०–८० युराेसम्म तलब पाउँछन्। 

तलब भने १५–१५ दिनमा पाउने गरेकाे गिरेन्द्रले बिएल नेपाली सेवालाई जानकारी दिँए। ‘हामीलाई काेठा भाडा दिनेदेखि जंगल छाेड्ने र डेरासम्म पुर्‍याउने काम काम गर्ने कम्पनीले नै गर्ने गरेकाे छ,’ उनले भने–‘बसेकाे ठाउँबाट एक सातामा सामान किन्न साहुले नै बजारसम्म गाडीमा लिएर जान्छन्।’

गिरेन्द्रकाे याे कुरा सुनेपछि सबैलाई काैतुहलता लाग्नु स्वभाविकै हाे– नेपालकाे गाउँगाउँमा र डाँडापाखामा त्यतिकै खेर गइरहेकाे जाबाे सिरेटाे जस्ताे कुरा आफ्नाे देशमा टिप्न पाेर्चुगलकाे कृषिसम्बन्धि काम गर्ने कम्पनिले किन यति धेरै सुविधा र खर्च गरिरहेकाे छ?

गिरेन्द्र भन्छन्, ‘हाम्राे सल्लाेकाे सिरेटाे जस्तै देखिने याे फल नेपालकाे यार्सागुम्बा जस्तै महंगाे छ। हामीले त नबुझ्ने नेपाली दाजुभाईलाई पाेर्चुगलकाे यार्सा टिप्ने काम गर्छाै भन्छाैं।’ उनी यसलाई पाेषणयुक्त मह‌ंगाे फल भन्न रुचाउँछन्। उनकाे कुरा सुनेपछि थप काैतुहलता जाग्नु स्वभाविक हाे। गाउँघरमा सल्लाेकाे फललाई भेडाे भनेर खेल्ने नेपालहरुका लागि याे अनाैठाे विषय पनि हुन सक्छ। 

पाेर्चुगलमा यसलाई खाने गर्छन्। नेपालकाे ठ्याक्कै सल्लो जस्तै देखिने यो रुख पोर्चुगलकाे प्राय: सबै जंगलमा पाईन्छ। याे रुखलाई पोर्चुगिज भाषामा ‘पिनहेइराे मान्साे’ भन्दा रहेछन्। याे रुख कासकाईस क्षेत्र सेसीम्रा लगायत धेरै ठाउँमा पाइन्छ। स्थानीय एजेन्टले सरकारबाट फल टिप्ने ठेक्का लिन्छन्। ठेक्का सम्झाैता डिसेम्बरबाट सुरु भएर मार्चको अन्तिमसम्म सकिन्छ। अप्रिल १५ सम्म पनि छिटफुट टिप्ने काम चलिरहेकाे हुन्छ।

यो रुखमा फल्ने फलको नाम हाे, ‘पिन्हा’। जसलाई रुखबाट झारेपछि फुटाएर यसको बिया निकाल्ने काम गरिन्छ। यो अत्यन्त पौस्टिक हुन्छ। यसको थोक मुल्य नै ८० ग्राम को १५ युरो पर्दछ। बजार मुल्य त्याे भन्दा धेरै छ। यसलाई  पोर्चुगिज भाषामा ‘पिन्हाओ’ भनिन्छ। पाेर्चुगलमा यसकाे अत्याधिक माग छ। 

गिरेन्द्रकाे समूह याे फल टिप्न यस क्षेत्रकाे सबै जंगल पुग्ने गर्छन्। ‘कहिले काहीँ भ्यानमा मात्र २ घण्टाकाे सफर तय गरिरहेका हुन्छाैं। हाम्राे काम सेमीग्रा, कासकाईस र सान्ता डे माताेकाे वरिपरिकाे जंगलबाट फल टिप्नु हाे,’ उनले बताए। 

हेर्दा जति सजिलाे देखिए पनि याे काम साेचे जस्ताे सजिलाे छैन। तर, नेपालीकाे काम देखेर पाेर्चुगिज मालिक भने दंग छन्। उनी भन्छन्, ‘नेपाली मोईतो वो तुदु नेपाली तर्वालोदोर सिङ्को स्त्रेला रे अर्थात नेपाली धेरै राम्रो छन्। मेरो नेपाली कामदार फाइभ स्टार छन्।’ 

वास्तवमा विदेशमा काम गर्नेको लागि चुनाैति र अवसर दुबै छ। अफ्ठेरा चुनौतिका पहाडको यात्रा पुरा गर्न मिहिनेत र लगनशीलता चाहिन्छ नै। यही मिहिनेत अहिले गिरेन्द्र र उनकाे समूह गरिरहेकाे छ। अल्छी नगर्ने हो भने देश या विदेश कत्तै रुँनु पर्दैन।

प्रकाशित मिति: Apr 12, 2020 18:44:58

प्रतिक्रिया दिनुहोस