थप दुई काेराेना संक्रमित नारायाणी अस्पतालमा भर्ना

वीरगञ्जमा कोरोना भाइरस (कोभिड–१९)  पुष्टि भएका थप दुई जना अस्पताल भर्ना भएका छन्। आइतबार काेराेना संक्रमणकाे पुष्टि भएका वीरगञ्ज–३ छपकैयाका ५१  र  ३ का ५० वर्षीय पुरुष नारायाणी अस्पतालमा भर्ना भएका हुन्। 

उनीहरु मध्य वीरगञ्ज–३ छपकैयाका ५१ का पुरुष वीरगञ्ज महानगरको सरसफाइ शाखामा कार्यरत कर्मचारी हुन्। 

दुई पुरुषमा पीसीआर परीक्षणका क्रममा पोजिटिभ देखिएपछि उनीहरुलाई नारायाणी अस्पताल वीरगञ्जमा ल्याएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए।

यसअघि कोरोना संक्रमणको पुष्टि भएका छपकैयास्थित मस्जिदमा बस्दै आएका तीन भारतीय जमातीसँगको सम्पर्कमा रहेकाउनीहरुमा कोरोना संक्रमणको पुष्टि भएको सहायक प्रजिअ बस्नेतले बताए।  

सहायक प्रजिअ बस्नेतका अनुसार कोरोना संक्रमित भारतीय जमातीसँग सम्पर्कमा रहेका वीरगञ्ज महानगर वडा नम्बर १,२ र ३ का १४६ जना र पर्सा जिल्लाका विभिन्न क्वारेन्टाइनमा राखिएका ४१ गरी १८७ जनाको स्वाब संकलन परीक्षणका लागि काठमाडौं पठाइएको थियो। सो मध्ये आइतबार बिहानसम्म ८२ जनाको रिपोर्ट आएको छ। जसमा दुई जनाका कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको हो।  

अर्का वीरगञ्ज–२ घुसुकपुरका ५५ वर्षीय पुरुषलाई पनि अस्पताल ल्याइएको छ। उनलाई शंकास्पद ठानी सिदार्थ माविको क्वारेन्टाइनमा राखिएको थियो। 

प्रकाशित मिति: : 2020-04-26 13:59:54

प्रतिकृया दिनुहोस्