वीरगञ्जमा मृत्यु भएकी युवतीको पीसीआर टेष्ट नेगेटिभ

वीरगञ्जस्थित नारायणी अस्पतालमा मृत्यु भएकी युवतीको पीसीआर टेष्टको नतिजा नेगेटिभ आएको छ। लगातार ३ पटक गरिएको आरडिटी टेष्टको रिपोर्ट पोजिटिभ देखिएकी वीरगञ्ज महानगरपालिका वडा नम्बर १० अशोकवाटिकाकी २३ वर्षिया युवतीको आइतबार बिहान मृत्यु भएकाे थियाे।

शनिबार तराई हस्पिटलमा कोरोना संक्रमणको आशंकामा युवतीको आरडिटी टेष्ट गर्दा रिपोर्ट पोजिटिभ आएपछि अर्काे पटक पनि रिपोर्ट पोजिटिभ आएकाे थियाे।

लगातार रिपोर्ट पोजिटिभ आएपछि शनिबार राति नारायणी अस्पतालबाट गएका स्वास्थ्यकर्मीको टोलीले पनि युवतीको आरडिटी टेष्ट गरेको थियो।

तेश्रो पटकको टेष्ट रिपोर्ट पनि पोजिटिभ नै आएपछि युवतीलाई आइतबार बिहान १ बजेतिर तराइ हस्पिटलबाट नारायणी अस्पताल ल्याउने क्रममा मृत्यु भएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए। 

उनी ब्लड क्यान्सरले ग्रसीत रहेकाे र चितवन भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार हुँदै आएको पनि खुलेकाे छ। केश शंकास्पद देखिएपछि स्वाबको नमूना संकलन गरी पीसीआर परीक्षणका लागि हेटौँडाको प्रयोगशालामा आइतबार बिहान पठाइएकाे थियाे। यस्तै उनको मृत्यु भएपछि परिवारका सबै सदस्यहरुलाई होम क्वारेन्टाइनमा राखिएको थियो।

प्रकाशित मिति: : 2020-04-26 17:52:22

प्रतिकृया दिनुहोस्