युवीकाे खुलासा– ब्राडकाे बलमा ६ छक्का हानेपछि उनकाे बुवा भेटन आएका थिए

एजेन्सी

नयाँ दिल्ली

सन् २००७ को टि–२० विश्व कपमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने भारतीय ब्याट्सम्यान युवराज सिंहले यो कीर्तिमानको विषयमा नयाँ खुलासा गरेका छन्। युवीले इंग्ल्याण्डका युवा बलर स्टुअर्ट ब्राडको एक ओभरमा ६ छक्का प्रहार गरेका थिए। 

उनले यो कीर्तिमान बनाएपछि ब्राडका बुवा आफूलाई भेट्न आएको र छोरोको करिअर समाप्त भएकाे भन्दै दुःख व्यक्त गरेकाे बताए। तर, ब्राडका बुवाले अनुमान गरे जस्तै छोराको करिअर भने समाप्त भएन। ब्राड अहिले पनि इंग्लिस टिमका नियमित सदस्य हुन्। 

सन् २००७ को टि–२० श्रृंखला युवराजको बिस्फोटक ब्याटिङका कारण भारतले जितेको थियो। यति बेला इंग्ल्याण्डको टिम निकै बलियो मानिन्थ्यो। ब्राडले ओभरको सुरुवात गर्नुअघि इंग्लिस टिमका अर्का सदस्य एन्ड्रयु फ्लिन्टफ युवीको नजिक आएर केही भन्दै थिए। त्यसपछि युवराजले झाेक्किएर जवाफ दिएको प्रस्ट देखिन्थ्यो। 

यसपछि जे भयो, त्यो सारा विश्वलाई याद छ। युवीले फ्लिन्टफको रिस ब्राडसँग निकाले। युवीले बीबीसीको पोडकास्टमा भनेका छन्, ‘फ्रेडी (फ्लिन्टफलाई बोलाइने नाम) त फ्रेडी हुन्। उनको विषयमा के भन्नु। केही उनले भने। मैले जवाफ दिए।’

भारतले यो खेल पाँच विकेटले जितेको थियो। युवीका अनुसार यो खेलभन्दा केही अगाडि इंग्ल्यान्डका दिमित्री मेस्करहेनेसले उनको एक ओभरमा पाँच छक्का लगाएका थिए। ‘६ छक्का हानेपछि मैले पहिले फ्लिन्टफलाई हेरे र त्यसपछि दिमित्रीलाई। दिमित्री हाँसिरहेका थिए।’

खेल सम्पन्न भएको दोस्रो दिन ब्राडको बुवा क्रिस आफू भएको ठाउँमा आएको युवीले बताए। उनले क्रिससँग भएकाे कुराकानीकाे विषयमा जानकारी दिँदै भने, ‘ क्रिस मेराे अगाडी आए र भने तिमीले मेरो छोराको करिअर लगभग समाप्त पार्यौ। उसको लागि टिसर्टमा एउटा साइन त गरिदेऊ।’ ब्राडका बुवा आईसीसीका म्याच रेफ्री पनि हुन्।

युवीले आफूले भारतीय टिमको जर्सी ब्राडलाई उपहार दिएको बताउँदै भने, ‘मैले त्यसमा लेखेको थिए–मेरो बलमा पनि पाँच वटा छक्का लागेको थियो। म महसुस गर्नसक्छु यो अवस्थालाई लिएर। तिमी इंग्ल्यान्ड टिमको भविष्य हौं। शुभकामना।’

आज ब्राडलाई विश्वको राम्रो तीब्र बलरको पंक्तिमा देख्दा आफूलाई राम्रो महसुस हुने युवीले बताए। 
 

प्रकाशित मिति: : 2020-04-26 19:11:47

प्रतिकृया दिनुहोस्