बिहान उठेदेखि रातिसम्म बंगुरका पाठा स्याहार्ने तारा.... (भिडियो)

बिहान उठेदेखि राति नसुतेसम्म मोरङ पथरीकी तारा राई बंगुरको स्याहार सुसारमा व्यस्त हुन्छिन्।

सरकारले कोरोना भाइरस रोकथाम नियन्त्रणका लागि जारी गरेको लकडाउनमा पनि उनलाई कुनै फुर्सद छैन। बरू उल्टै समस्या थपिएको छ।

पथरी घर भए पनि जोरपाटी दक्षिणढोकामा बस्दै आएकी राईले आरूबारीको भोटे बस्ती नजिक १ रोपनी जग्गा भाडामा लिएर व्यवसायीक बंगुरपालन सुरू गरेकी छन्।

विगत सात वर्षदेखि बंगुर पालन गर्दै आएकी राईले लकडाउन भएपछि धेरै समस्या भोगेकी छन्। बंगुरका लागि आवश्यक चारो पाउन छोडेको छ। पहिले पहिले सित्तैमा पाउने चारो पनि हिजो आज पैसा तिरेर किन्नु परेको उनको गुनासो छ।

उनको कोठाबाट फार्ममा आउन नै आधा घण्टा भन्दा बढी समय लाग्छ। त्यही माथि कहिलेकाही प्रहरीले अवरोध गर्ने गरेका छन्।

‘के गर्नु फार्म नगइ हुन्न। तर प्रहरीले लकडाउनमा किन हिँडेको भनेर धेरै पटक रोकेको छ,’ उनले भनिन्,‘एक पटक त सडकमै ३ घण्टासम्म उभिएकी छु।'

लकडाउन भएपछि बंगुरको संख्या घटाएकी उनको फार्ममा अहिले २३ वटा बंगुर छन्।

यति भएका बंगुरलाई पनि पर्याप्त चारो नपाइएको गुनासो उनको छ। ‘सित्तैमा दिने चारोको लागि पनि पैसा तिर्नु परेको छ। एक ड्रमको १०० रूपैयाँ सम्म पैसा तिर्नुपर्छ,' उनले भनिन्।

केही चारो नपाएपछि हिजो आज कुहिएको तरकारीसमेत किन्ने गरेको उनले बताइन्। ‘दाना किन्न सकिँदै गएको छ। फेरि बंगुरलाई भोकै राख्ने कुरा पनि भएन,' उनले भनिन्,‘त्यसैले कुहिएको तरकारी पनि पैसा तिरेर किन्ने गरेकी छु। यसका लागि पनि झगडै पर्छ।’

आफूलाई झोक्कि किसिमको महिला बताउँने उनले कयौं पटक पैसा माग्ने प्रहरीलाई समेत थर्काएको बताइन्।

‘गल्ती नगरेपछि के को डर?,’ उनले भनिन्,‘चारो लिएर हिँडेको बेला पनि प्रहरीले पैसा मागेर हैरान पार्छन् म त थर्काइदिन्छु।’

बंगुरको बच्चालाई सानैदेखि मान्छेको बच्चालाई जस्तै स्यहार गर्नुपर्ने उनले बताइन्। ‘बंगुरको बच्चा भएर के गर्नु, मान्छेको बच्चालाई झै स्याहार गर्नुपर्छ। ४ वटा त सुई २-२ महिनाको अन्तरमा लागाउनुपर्छ। लगाएन भने त मारिहाल्छ नि,' उनले भनिन्।

सानो बंगरलाई ठूलो बनाएर बेच्न कम्तिमा ९ महिनासम्म पाल्नुपर्ने उनले बताइन्। ९ महिनापछि ७०/७५ किलो भएपछि बिक्रीका लागि तयार हुने उनले बताइन्।

उनले एउटा बंगुर ३० हजारसम्ममा बिक्री गर्ने गरेकी छन्। एउटा बंगुरलाई बेच्ने बेलासम्ममा कम्तिमा २० हजार खर्च हुने उनले बताइन्।

'चारो र भिटामिन दिनै पर्‍यो। खर्च त भइहाल्छ। फेरि बेला बेलामा भिटामिन पनि दिनुपर्छ’, उनले भनिन्।

‘अरू मान्छेहरू लकडाउनको समय घरमा सबैसँग बसेर मिठा मिठा खानेकुरा खाएर परिवारसँग समय बिताउँछन् आफूलाई यही सुँगुरका पाठा हुर्काउँदै ठिक्क छ,’ उनले भनिन्, 'बंगुरलाई चारो खोज्दा र चारो दिँदा नै समय गएको पत्तो हुँदैन्। फुर्सद कसरी हुन्छ र?'

यद्यपी उनले भाइरस रोकथामका लागि सरकारले भने अनुसार बेला बेलामा साबुनपानीले हात धुने गरेकी छन्। मुखमा मास्क प्राय छुट्दैन। बेला बेला स्यानीटाइजरको प्रयोग पनि गर्छिन्।

प्रकाशित मिति: : 2020-05-06 13:02:01

प्रतिकृया दिनुहोस्