दिवेशलाई ग्राण्ड फिनालेमा पुर्‍याउन जमेर भोट गर्दैछन् अमेरिकामा नेपालीहरू

प्रदीप भट्टराई

कान्सास सिटी- अमेरिका

अमेरिकन आइडलको उत्कृष्ट ७ मा पुगेका नेपाली युवा प्रतिभा दिवेश पोखरेललाई अमेरिकामा रहेका नेपालीले जमेर भोटिङ गरिरहेका छन्।

उनी उत्कृष्ट ७ मा पुगेलगत्तै खोलिएको अनलाइन भोटिङका लागि सामाजिक सञ्जालमा एक किसिमको स्वतस्फूर्त अभियान नै चलाइएको छ। कसरी मतदान गर्ने तरिकासहितका जानकारी नेपाली समुदायका अगुवा तथा सामाजिक सञ्जालमा गतिलो पहुँच भएकाहरूले पोष्ट गरेका छन्।

अबको केही घण्टा अर्थात् अमेरिकी पूर्वी समयअनुसार मंगलबार विहान ९ बजेसम्म मात्र मतदान गर्न पाइने भएकाले नेपालीहरू उनलाई मतदान गर्न हतारिरहेका छन। 

दिवेशलाई अमेरिकन आइडल बनाउन अमेरिकामा ठूलो संख्यामा रहेका नेपालीभाषी भुट्निज नेपाली पनि उत्साहका साथ जुटेका छन्। झण्डै डेढ लाख संख्यामा रहेका उनीहरू आफ्नो मूलथलो नेपालका युवा प्रतिभालाई मतदान गर्न पाउँदा खुशी छन्। दिवेश उत्कृष्ट २० मा पुगेपछि सुरू भएको भोटिङ राउण्डको सुरूदेखि नै उनीहरू दिवेशलाई जिताउने अभियानमा लागेका छन्। 

आर्थरले जति पनि गीत गाएका छन्, उनको आफ्नो मातृभाषा नभए पनि साँच्चै नै राम्ररी गाएका छन्। उनले संगीतको कुनै देश हुँदैन भन्ने पुष्टी गरे।
- प्राध्यापक डा. कर्ली नेल्सन

नेपालीहरू आफ्ना प्रतिभाहरूलाई साथ दिन लागिपर्ने स्वभावका लागि सुपरिचित छन् । यसअघि प्रशान्त तामाङलाई इण्डियन आइडल बनाउन उनीहरूको अभियान सफल भएको थियो । खासगरी भोटिङ राउण्डमा नेपालीहरू उत्साहका साथ सहभागी हुने गरेका छन्। 

अमेरिका भित्रबाट मात्र भोटिङ गर्न पाइने भए पनि विश्वभरका नेपालीले मतदान गरिरहेका छन्। यसका लागि उनीहरूले प्रविधिलाई मालिक हैन, नोकर बनाउन सकिन्छ भन्ने संकथनको राम्ररी उपयोग गरेका छन्। 

उत्कृष्ट ७ को चरणमा पुग्दा आमालाई राखेर मदर्स डे मनाउँदै आमाको सम्मानमा सांगीतिक प्रस्तुति दिएका दिवेशले सधैंझै बेजोड सांगीतिक प्रस्तुति दिएका थिए। उनको प्रस्तुतिबाट अमेरिकी आइडलका निर्णायकहरू प्रभावित भएका थिए।उनले आमाप्रति देखाएको उच्च सम्मानबाट नेपालीको मन छोएको थियो। त्यसले पनि उनलाई मतदान गर्नुपर्छ भन्ने भावना जगायो।

यसरी गर्न सकिन्छ दिवेश पोखरेललाई भोट - 
१. अमेरिकामा रहेका टेलिफोन नम्बरबाट १६ टाइप गरी २१५२३ मा १० पटक टेक्स्ड मेसेज गर्ने 
२. अमेरिकन आइडलको एप्स डाउन लोड गरी  आर्थर गनलाई १० पटक भोट गर्ने
३. https://idolvote.abc.com/ मा गई इमेलमार्फत् दर्ता गरी  आर्थर गनलाई १० पटक भोट गर्ने

अमेरिकी पूर्वी समयअनुसार सोमबार विहान ९ बजेसम्म भोट गर्न सकिन्छ।

कान्सासको विचितामै रहेका नेपाली विद्यार्थी सुनी शर्मा भन्छिन्, हामी एउटै ठाउँमा बसेका भए पनि व्यक्तिगत रूपमा मैले उनलाई चिनेको/भेटेको छैन। तर, एक नेपालीको यो सफलताबाट गौरव लागेको छ। हामी नेपाली त उनलाई मतदान गरिरहेकै छौं, विचिता र सिंगो कान्सास पनि उनलाई मतदान गरिरहेको छ।'

कान्सास सिटीमा रहेका एक नेपाली भाषी भुट्निज नेपाली लाल अधिकारी भन्छन्, ' मैले उनले गाएको त धेरै बुझिँन । तर, एक नेपाली छोरो अमेरिकन आइडलको टप सेभेनमा पुग्दा मनदैखि खुशी लागेर आयो।'  उनले सपरिवार दिवेशलाई भोटिङ गरेको बताउँदै उनको सफलताको कामना पनि गरे।

मैले उनले गाएको त धेरै बुझिँन । तर, एक नेपाली छोरो अमेरिकन आइडलको टप सेभेनमा पुग्दा मनदैखि खुशी लागेर आयो।' 
- लाल अधिकारी

दिवेशको प्रस्तुतिबाट नेपाली र नेपालीभाषीको त मन जितेकै छ, उनले गैरनेपाली भाषी अमेरिकीको पनि उत्तिकै मन जितेका छन्। कान्सास सिटीमा रहेकी प्राध्यापक डा. कर्ली नेल्सन भन्छिन्, 'आर्थरले जति पनि गीत गाएका छन्, उनको आफ्नो मातृभाषा नभए पनि साँच्चै नै राम्ररी गाएका छन्। उनले संगीतको कुनै देश हुँदैन भन्ने पुष्टी गरे।' संगीतकी प्राध्यापक उले भनिन्, ' मैले पनि आर्थरलाई मतदान गरें। मेरी नातिनी पनि उनको गायनबाट प्रभावित भएर मतदान गरिन्।'

नेपालीहरूले जमेर मतदान गरेको र उनले पनि उत्कृष्ट प्रस्तुति दिएकाले दिवेश ग्राण्ड फिनालेमा पुग्ने उच्च सम्भावना रहेको देखिएको छ। अर्को साता आइतबार ग्राण्ड फिनालेको परिणाम आउँने छ। राम्रो मत पाए भने उनी अमेरिकन आइडलको ग्राण्ड फिनालेमा पुग्ने पहिलो नेपाली हुनेछन्। यसले अमेरिकन आइडलको इतिहासमा नेपाल र नेपालीको पक्षमा अर्को एक सुनौला पाना थपिनेछ।

प्रकाशित मिति: : 2020-05-11 10:10:12

प्रतिकृया दिनुहोस्