कमलपोखरी संरक्षणको पहल हुँदै

पोखरा महानगरपालिका–१३ मा अवस्थित कमलपोखरी यतिबेला कमलका बोटले ढाकेको छ । फुल्दै गरेका कमलफूलले तालको नामजस्तै पहिचान दिलाएको छ । तालैतालको शहरका रुपमा रहेको पोखरामा नौ तालमध्येको एक हो कमलपोखरी । पर्याप्त संरक्षण र प्रचारप्रसारको अभावमा यो सुन्दर ताल गुमनाम जस्तै छ ।

करीब ३२ रोपनी क्षेत्रफको यसलाई ३५/३६ वर्षअघि बुडुवा तालका रुपमा चिनिन्थ्यो । ढकमक्क फुल्ने कमल, विभिन्न जातका माछा, पानी हाँस, रङ्गीविरङ्गी  चराहरु तालको विशेषता हुन् । संरक्षण र सम्भार नहुँदा भने धेरै कुरा यहाँबाट हराइसकेको छ । 

रामसारमा सूचीकृत यसको बीचमा नागको मूर्ति छ । यहाँ नागपञ्चमीका दिन मेला लाग्छ । तालमा रहेको कमललाई नागपञ्चमीमा पूजा गरेर कमलको फूलपात घरमा लगेर राखेमा राम्रो फल हुने जनविश्वास छ ।  तालको  वरिपरि विश्वकर्मा समुदायको बाहुल्यता रहेकाले ताल संरक्षणको पहल पनि यसै समुदायबाट भएको देखिन्छ । तालको किनारमा राधाकृष्ण, गणेश, नाग र बाबा विश्कर्माको मन्दिर र सँगै दुईवटा पाटी छन् । 

कमलपोखरी संरक्षण समितिका अध्यक्ष चित्रबहादुर विश्वकर्माले तालको अस्तित्व रक्षाका लागि विश्वकर्मा समुदायको ठूलो योगदान रहेको बताए। ‘परापूर्वकालदेखि रहिआएको ताल दिनप्रति खुुम्चँदै जाँदा विश्वकर्मा समुदायले नै अगुवाइ गरेर ताल संरक्षण लागिपरेका छन् अहिले पनि निरन्तर यसको संरक्षणमा जुटेका छन्’, विश्वकर्माले भने, ‘२०४८ सालमा आमा समूहमार्फत संरक्षण पहल भएको र २०६४ सालबाट ताल संरक्षण समिति गठन गरेर वरिपरि तारजाली लगाएर आधिकारिक सीमाङ्कनको विषयमा पहल गरिरहेका छौँ।’ 

उनले भने , ‘२०४२ को नापीले ३२ रोपनी भन्यो, पछि २०६४ सालमा राष्ट्रिय ताल संरक्षण समितिले जङ्गललाई समेटेर एक सय ८२ रोपनी भन्यो । तालको जग्गाबारे अन्योल रहेको विषयमा महानगरलाई जानकारी गराइरहेका छौं।’ आधिकारिक जग्गा पत्ता लगाएर सीमाङ्कनपछि पूर्वाधार विकासमा जोड दिनुपर्ने उनले बताए।

उक्त वडाका वडाध्यक्ष दर्शन लामाले ताल संरक्षण र पूर्वाधार विकासका लागि ४० लाखको टेन्डर आह्वान भइसकेको र काम अघि बढेको बताए। ‘निर्वाचित जनप्रतिनिधि आएपछि यसको संरक्षण र विकासका लागि पहल भएको छ, बन्दाबन्दीले अहिले काम हुन सकेका छैन, सुन्दर पार्क बनाउने गुरुयोजनामा समेटिएको छ’, लामाले भने। उनले तालको प्रवेशद्वार आकर्षक बनाउने, तालसम्मको बाटोलाई व्यवस्थित गर्ने र सबैलाई  समावेश गरेर सबैको अपनत्व हुने गरी अघि बढ्ने प्रयास भएको जानकारी दिए। रासस

प्रकाशित मिति: : 2020-05-19 17:47:50

प्रतिकृया दिनुहोस्